Comments Add Comment

विना तयारी खाद्य कम्पनी र साल्ट ट्रेडिङको खाद्यान्न बिक्रीमा छुट घोषणा

फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । सरकारले शनिबार बजेटमार्फत निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुटको घोषणा गर्‍यो । निषेधाज्ञा अवधिभर यी दुई कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नून, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको बजेट घोषणामा भनिएको थियो ।

शनिबारको बजेट घोषणा लगत्तै आइतबार बिहानैदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा उपभोक्ताले फोन गरेर छुटसहितको खाद्यान्नको अर्डर गरिररहेका छन् । तर कम्पनीले भने अहिलेसम्म छुटबारे कुनै औपचारिक जानकारी नआएको जनाएको छ । बजेटमा सरप्राइज छुटको घोषणा भएपछि औपचारिक निर्णय र निर्देशन भने कार्यलयलाई प्राप्त नभएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।

‘कार्यालयमा छुटसहितको खाद्यान्नका लागि उपभोक्ताको फोन आउन थालेको छ तर हामी अन्यौलमा छौं, कहिलेदेखि कसरी कार्यान्वनयन गर्ने ?’ प्रवक्ता न्यौपानेले भनिन् । बजेट निर्माणको चरणमा खाद्यवस्तुमा छुटबारेमा कुनै पूर्व छलफल तथा जानकारी कम्पनीसँग नभएको पनि उनले बताइन् । ‘हामीले पनि बजेट भाषण र सञ्चारमाध्यमबाटै छुटबारे थाहा पायौं तर कसरी छुट दिने भन्नेबारे कुनै निर्देशन, परिपत्र छैन,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।

बजेटअनुसार तत्काल छुट सुरु हुनुपर्ने देखिए पनि पूर्वतयारी र समन्वय नहुँदा तत्काल उपभोक्तालाई छुट दिन सकिने अवस्था नरहेको कम्पनीले जनाएको छ ।

खाद्यको जस्तै पीडा साल्ट ट्रेडिङको पनि छ । उपभोक्ताले बजेट सुनेर छुट माग्दै अर्डर गर्न फोन गर्ने क्रम ह्वात्तै बढेको कर्पोरेसनकी कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले बताइन् । छुट दिने भनेर बजेटले घोषणा गरे पनि त्यसबारे कुनै लिखित र औपचारिक परिपत्र भने कार्यालयलाई नभएको श्रेष्ठले बताइन् ।

‘बजेटले केही खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट दिने भनेको छ, अहिले निषेधाज्ञा पनि जारी नै छ । तर छुट दिनेबारे कुनै औपचारिक परिपत्र वा जानकारी हामीलाई छैन । तपाईंले बजेटमा जति सुन्नु भयो हामीले पनि त्यति नै सुन्यौं, कहिलेबाट छुट दिने भन्ने पत्तो छैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भनिन् । उपभोक्ताले तत्काल बजेटले घोषणा गरेको छुट कहिलेबाट पाउँछन् भन्ने जिज्ञासामा उनले त्यो अहिल्यै भन्न सक्ने अवस्था नरहेको उनले बताइन् ।

जेठ १४ गतेदेखि काठमाडौं उपत्यकामा तीनवटा मोबाइल भ्यानमार्फत कर्पोरेसनले दाल, चामल, तेल, पिठो, ग्यासलगायतका वस्तुको क्षेत्रगत बिक्री गरिरहेको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नो नेपाल फूड वेव पोर्टलमार्फत निषेधाज्ञा लक्षित खाद्यान्नको डेलिभरी सेवा प्रदान गरिरहेको छ । कम्पनीले कम्तीमा दुई हजारदेखि बढीमा १५ हजार रुपैयाँसम्मको खाद्यान्न उपत्यकाभरि डेलिभरी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment