Comments Add Comment

सुदूरपश्चिममा विरामीलाई फोनबाटै निःशुल्क परामर्श

१६ जेठ, धनगढी । कञ्चनपुरका युवाहरुको अगुवाइमा सञ्चालन भएको सँगसँगै अभियान मार्फत विरामीहरुलाई निःशुल्क स्वास्थ्य परामर्श दिइने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बेला संक्रमित र अन्य बिरामीले समेत उपचारका लागि सहजै अस्पतालसम्म जान नसक्ने अवस्थामा ध्यानमा राखेर निःशुल्क स्वास्थ्य परामर्श दिन थालिएको हो ।

काठमाडाँैको सर्वाङ्ग अस्पताल तथा धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी विभाग प्रमुख रहेका डक्टर सुरेन्द्र ऐरको नेतृत्वको चिकित्सकको टोलीले बिरामीलाई फोन मार्फत निःशुल्क स्वास्थ्य परामर्श दिने सँगसँगै अभियानले जनाएको छ ।

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका संक्रमितहरुको मनोबल बढाउन, स्वास्थ्य अवस्था बुझेर उचित परामर्श दिइने डाक्टर ऐरले बताए ।

सँगसँगै अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले निषेधाज्ञाका बेला संक्रमित मात्र नभएर अन्य मानिसलाई समेत विभिन्न खालका स्वास्थ्य समस्या हुने तर सहजै अस्पताल जान सक्ने अवस्था नहुँदा रोग च्यापेर बस्ने कुरालाई ध्यानमा राखेर चिकित्सकीय परामर्श सेवा सञ्चालन गरिएको बताइन् ।

उनले घरभित्रै बस्दा धेरै मानिसहरुमा मानसिक स्वास्थ्य समस्या समेत देखा परिरहेकाले चिकित्सकले फोनबाटै काउन्सीलिङ गर्दा सम्भावित घटना जस्तै आत्महत्या जस्ता जोखिमबाट बचाउन सकिने विश्वास समेत व्यक्त गरिन् ।

सँगसँगै अभियानले कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रका बासिन्दालाई महामारीका बेला विभिन्न किसिमले सहयोग गर्दै आएको छ ।

कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री सहयोग गर्ने, आकस्मिक एम्बुलेन्स सेवा, दिर्घ रोगिहरुलाई औषधि उपलब्ध गराउने, कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई बिहान बेलुका खानाको व्यवस्था गर्ने, होम आईसोलेसनमा बसेका सङ्क्रमितलाई पौष्टिक आहार उपलब्ध गराउने एवंम् सामाजिक सञ्जाल मार्फत सचेतनामुलक सन्देश समेत दिदै आएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र एनएनएसडब्लुए नामक संस्थासँगको सहकार्यमा हेल्थ डेस्क समेत सञ्चालन गरिएको सँगसँगै अभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment