१६ जेठ, काठमाडौं । सुकेटार विमानस्थलको नाम फेरेर परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने सरकारी निर्णयको ताप्लेजुङमा विरोध भएको छ ।
जिल्लामा क्रियाशील सबै राजनीतिक दलले विमानस्थलको नाम परिर्वतन गर्ने सरकारी घोषणा ताप्लेजुङबासी जनताको भावना विपरित भएको बताएका छन् ।
विमानस्थलको नाम परिर्वतन अस्वीकार्य भएको भक्न्दै जारी गरिएको वक्तव्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, संघीय लिम्बुवान मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीका साथै सत्तारुढ दल नेकपा एमालेका जिल्ला अध्यक्षले समेत हस्ताक्षर गरेका छन् ।
‘पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीप्रति हाम्रो सम्मान छ । अधिकारीको हेलिकप्टर दुर्घटना भएको स्थान आसपासका क्षेत्रमा रवीन्द्र स्मृति पार्क बनाउने विषयमा हाम्रो सहमति रहँदै आएको छ’ उनीहरुले संयुक्त वक्तव्यमार्फत भनेका छन्, ‘तर सुकेटार विमानस्थलमा उहाँको नाम जोडेर उहाँलाई विवादित बनाउन खोज्नु स्वयंम अधिकारीप्रति नै अपमान भएको छ ।’
भट्टराई पनि असन्तुष्ट
सरकारी निर्णयबाट ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराई पनि असन्तुष्ट देखिएका छन् ।
एमालेमा भट्टराई र अधिकारीबीच घनिष्ठ सम्बन्ध थियो । भट्टराईकै निर्वाचन क्षेत्रमा पर्ने सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर रवीन्द्र अधिकारी विमानस्थल राख्दा योगेश पनि असन्तुष्ट देखिए । उनले ऐतिहासिक रूपमा कुनै नाम वा विशेषबाट चिनिएका स्थानको पहिचान सरोकारवालासँग छलफल र विचार–विमर्श नै नगरी बदलिएको प्रतिक्रिया दिएका छन् ।
नाम परिर्वतनको आवश्यकता, औचित्य, सन्दर्भ र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल नगरिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।’
माग पोखरामा, नाम सुकेटारमा
स्वर्गीय अधिकारी पोखराका हुन् । कास्कीबाट लगातार निर्वाचित जितेका उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगातार पैरवी गर्दै आएका थिए । २०७४ सालमा पर्यटनमन्त्री बनेपछि विमानस्थल निर्माणमा भूमिका खेले ।
विमानस्थल निर्माण भइनसक्दा उनको १५ फागुन २०७५ मा भएको हेलिकप्टर दुर्घटनामा निधन भयो । अहिले निर्माण सम्पन्न हुने चरणतर्फ उन्मुख भएको बेला पोखरेलीहरू स्व. अधिकारीको नाममा विमानस्थलको नामाकरण गर्न माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीका अनसार स्व. अधिकारीका नामबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नामाकरण गर्ने विषयमा पटक–पटक छलफल भएको थियो ।
तर बजेटमा सुकेटारको नाम राखेर सार्वजनिक हुँदा आफूहरु पनि छक्क परेको उनीहरु सुनाउँछन् ।
चुहानडाँडामा आडछिरिङको नाम
सरकारले सुकेटार मात्र होइन, बन्न बाँकी चुहानडाँडा विमानस्थलको पनि नाम परिर्वतन गरेको छ । यती समूहका संस्थापक स्व. आङछिरिङ शेर्पाको नामबाट यो विमानस्थलको नामाकरण गर्ने घोषणा आब २०७८/७९ को बजेटमा गरिएको छ ।
प्रधानमन्त्री ओलीको जन्मभूमि तेह्रथुममा पर्ने यही विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका तत्कालीन पर्यटनमन्त्री अधिकारी पाथीभरा दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेका थिए । त्यो दुर्घटनामा मन्त्री अधिकारी, यति समूहका आङछिरिङ शेर्पासहित सात जनाले ज्यान गुमाएका थिए ।
पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले झण्डै एक वर्ष पहिले नै दुबै विमानस्थलको नाम परिर्वतनको प्रस्ताव ल्याउन भनेका थिए । ‘आङछिरिङको मात्र नाम राख्दा विवाद हुने भएपछि सुकेटारमा स्वर्गीय अधिकारीको नाम राखिएको हो’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘नभए सुकेटार विमानस्थलसँग स्व. अधिकारीको पर्यटनमन्त्री हुनुबाहेक अरु साइनो भने छैन ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4