Comments Add Comment

मध्य तराईमा घट्दैछ कोरोना संक्रमण

गम्भीर बिरामी भने घटेनन्

१६ जेठ, वीरगञ्ज । मध्य तराईमा पछिल्लो समय कोरोना भाइरस संक्रमण घट्दै गएको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित ल्याबमा गरिएको परीक्षणमा संक्रमितको संख्या घटेको छ । यहाँको ल्याबमा बारा, पर्सा र रौतहटबाट संकलित स्वाबको परीक्षण गर्ने गरिन्छ ।

नारायणीको ल्याबमा जेठ १४ गते ८० जनाको परीक्षण गर्दा १४ र जेठ १५ गते ७७ जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख भाइरोलोजिष्ट डा. प्रभाकर पाण्डे वैशाखको तुलनामा जेठमा पोजेटिभ देखिने दर निकै घटेको बताउँछन् । ‘वर्षाले पनि होला पछिल्लो दुई दिनमा ८० र ७७ जनाको मात्रै पीसीआर गरेका थियौं, पोजेटिभ देखिने दरमा पनि एकदमै सुधार आएको छ ।’

उनका अनुसार वैशाखमा ५७ प्रतिशत देखिएको संक्रमण दर जेठको १५ दिनमा २८ प्रतिशतमा झरेको छ ।

जेठ १ गते १९२ जनाको पीसीआर गर्दा ८६, जेठ २ गते २८८ जनामा परीक्षण गर्दा १२४, जेठको ३, ४, ५, ६, ७ र ८ गते पनि २ सय ८८ जनाको परीक्षण हुँदा क्रमशः ९५, १०६, ८२, ५४, १०० र ५८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै जेठ ९ र १० गते १९२÷१९२ जनाको परीक्षण गर्दा ४३ र ४१ जनामा संक्रमण देखियो । जेठ ११ गते २८२ जनामा परीक्षण गर्दा ६०, जेठ १२ गते १९२ जनाको परीक्षण गर्दा ४० र जेठ १३ गते १७७ जनामध्ये ४२ जनामा संक्रमण पुष्टि भयो ।

अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दास लकडाउनले गर्दा संक्रमणको चेन ब्रेक भएको बताउँछन् । ‘अस्पतालमा संक्रमितको चाप घटेसँगै गम्भीर प्रकृतिका संक्रमित पनि घटेका छन् । बाहिरी जिल्लाबाट रिफरल केस भने दैनिक ४/५ वटा आइरहेको छ,’ उनले भने, ‘आधाजसो गम्भीर नै हुन्छन् ।’

नारायणी अस्पतालको पीसीआर ल्याबमा जेठ १५ गतेसम्म ३ हजार ४ सय स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ९५६ अर्थात् २८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पर्सामा वैशाख महिनामा मात्र कोरोना संक्रमणबाट ७९ जनाले ज्यान गुमाए । त्यस्तै बाहिरी जिल्लाबाट वीरगञ्ज आई उपचारको क्रममा मृत्यु हुनेको संख्या ५३ रह्यो ।

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । यो निषेधाज्ञालाई जेठ २० गतेसम्म पुर्‍याइएको छ ।

भाइरोलोजिष्ट डा. पाण्डे निषेधाज्ञाले गर्दा भीडभाड हुन नपाएको, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी जस्ता फ्रन्टलाइनरले समयमै खोप लगाएको र समुदायमा संक्रमित भई निको हुनेको संख्या बढेकाले संक्रमण दर घटेको बताउँछन् ।

एक पटक संक्रमण मुक्त भइसकेका व्यक्तिमा बढेको एन्टिबडीले ३ देखि ६ महिनासम्म काम गर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको उनको भनाइ छ ।

अस्पतालमा बिरामी घटे

संक्रमणको दर उच्च हुँदा १२० जनासम्म संक्रमितको उपचार गरेको नारायणीमा हाल ५५ जनाको हाराहारीमा संक्रमित छन् ।

अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दास लकडाउनले गर्दा संक्रमणको चेन ब्रेक भएको बताउँछन् । ‘अस्पतालमा संक्रमितको चाप घटेसँगै गम्भीर प्रकृतिका संक्रमित पनि घटेका छन् । बाहिरी जिल्लाबाट रिफरल केस भने दैनिक ४/५ वटा आइरहेको छ,’ उनले भने, ‘आधाजसो गम्भीर नै हुन्छन् ।’

सबै जिल्लामा निषेधाज्ञा लगाएर भीडभाड कम गराइएकोले नै कहालीलाग्दो स्थितिमा सुधार आएको उनको बुझाइ छ । ‘निषेधाज्ञाले काम गरेको छ, अझै वैशाखको शुरुवाती दिनबाटै निषेधाज्ञा लगाउन पाएको भए यत्तिको क्षति बेहोर्नुपर्ने थिएन,’ उनले भने ।

पर्साका ४३ र अन्य जिल्लाका ९१ जनाको मृत्यु

जेठमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । तर वीरगञ्जका विभिन्न अस्पतालमा उपचारका लागि अन्य जिल्लाबाट आएर मृत्यु हुनेको संख्या भने जेठमा बढी देखिएको छ ।

पर्सामा पछिल्लो १५ दिनमा ४३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै बारा, रौतहट, सर्लाही जिल्लाका ९१ जनाले ज्यान गुमाएका छन् । जेठ १६ गते साँझ पर्साका ४ जना र अन्य जिल्लाको ५ जनाको मृत्यु भएको छ । पर्साको ग्रामीण क्षेत्र एवं बारा, रौतहट र सर्लाही अन्य जिल्लाबाट संक्रमितहरु ढिला उपचारका लागि आउँदा मृत्यु संख्या बढेको चिकित्सकहरुको दाबी छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार कोरोनाको संक्रमण दर र मृत्यु दर घटेपनि गम्भीर प्रकृतिका विरामी अस्पताल आउने क्रम रोकिएको छैन ।

नारायणी अस्पतालका डा. सिंहका अनुसार कोरोनाको संक्रमण दर र मृत्यु दर घटेपनि गम्भीर प्रकृतिका बिरामी अस्पताल आउने क्रम रोकिएको छैन ।

‘संक्रमण देखिने क्रमसँगै मृत्युदर घटेको छ, अस्पतालमा संक्रमितको चाप कम छ । तर पर्सा, बारा, रौतहट र सर्लाहीसम्मको ग्रामीण क्षेत्रमा परीक्षण सुविधा नभएकोले समयमै रोगको पहिचान हुन सकिरहेको छैन,’ उनले भने ।

डा. सिंहले भने, ‘टेष्टिङ गर्दै आइसोलेटेड गर्न नसक्दा अक्सिजन लेभल निकै कम भएपछि मात्रै अस्पताल आइपुग्छन्, कोभिड निमोनियाले फोक्सो खराब भइसकेको हुन्छ ।’

स्थानीय तहले एन्टिजेन परीक्षण गरेर संक्रमित पत्ता लगाएर सामान्य लक्षण भएका संक्रमितलाई आइसोलेसनमा राख्नुपर्ने र मध्यम खालका संक्रमितलाई अस्पताल पठाउनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment