Comments Add Comment
गण्डकी प्रदेशसभा :

सरकारको झूटो दाबी : अक्सिजन अभावमा कसैको मृत्यु भएको छैन

१६ जेठ, पोखरा । अक्सिजन अभावका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको विषयमा विपक्षी दलहरुले सरकारसँग जवाफ मागेका छन् । तर सरकारले कमजोरी ढाकछोप गर्न खोज्दा अक्सिजनको अभावका कारण कसैको मृत्यु नै नभएको दाबी गरेको छ ।

प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरु बोल्ने कार्यसूची थियो । कोरोना संक्रमित हुँदा पनि उद्घाटन र शिलान्यासमा  हिंडेको भन्दै आलोचना खेपेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा उपस्थित थिएनन् ।

दुई दिनअघि मात्र प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । संक्रमितले ‘हाइफलो’ अक्सिजन नपाउँदा मृत्युवरण गर्नु परेको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेशकै राजधानीको यो घटनाले कोभिड महामारीमा प्रदेश सरकारको तयारी झल्काउने बताए । ‘प्रदेशका सबै अस्पतालमा अक्सिजनको कमी छैन, जिल्लाका सबै अस्पतालमा अक्सिजन पुर्‍याइसक्यौं भन्नुभएको थियो,’ उनले भने, ‘तर प्रदेशकै ठूलो अस्पतालमा अक्सिजनको सुत्केरीसहित ८ जनाको निधन भएको छ । यसबाट प्रदेश सरकारको कोभिड नियन्त्रण क्षमता स्पष्ट भएको छ ।’

आफूहरुले कोरोना महामारीमा केन्द्रित हुन पटकपटक आग्रह गर्दा पनि नसुनेको उनको आरोप छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको घटनाप्रति प्रदेश सरकारले सार्वजनिक रुपमै माफी माग्नुपर्ने उनको भनाइ थियो । ‘अक्सिजन नआएर जसरी संक्रमितले ज्यान गुमाए, यो सामान्य कुरा होइन’ उनले भने, ‘यस विषयमा सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’

‘प्रदेशका सबै अस्पतालमा अक्सिजनको कमी छैन, जिल्लाका सबै अस्पतालमा अक्सिजन पुर्‍याइसक्यौं भन्नुभएको थियो’ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘तर प्रदेशकै ठूलो अस्पतालमा अक्सिजनको सुत्केरीसहित ८ जनाको निधन भएको छ । यसबाट प्रदेश सरकारको कोभिड नियन्त्रण क्षमता स्पष्ट भएको छ ।’

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सांसद हरिशरण आचार्यले अस्पतालमा अक्सिजन प्लान्ट राख्नुको साटो स्वास्थ्यकर्मीहरुले नै अक्सिजन उद्योग खोलेको बताए ।

कुन बिरामीलाई कति मात्रामा अक्सिजन दिनुपर्ने हो भन्नेबारे थाहा भएको तर, उनीहरुले नै आफैं अक्सिजन प्लान्ट खोलेर ‘माफियाकरण’ गरेको आरोप लगाए । उनले भने, ‘माफियातन्त्रको एउटा राम्रो उदाहरण दिएको छ ।’

राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले पनि प्रदेशबासी कोरोनाले आकुलव्याकुल भइरहँदा पनि सरकार नियन्त्रणमा केन्द्रित नभएको आरोप लगाइन् । ‘कोरोनाले प्रदेशबासी आकुलव्याकुल भएका छन् । अक्सिजन अभावमा मृत्युवरण गर्नुपर्ने बाध्यता छ ?,’ उनले भनिन्, ‘सरकार चलाउने डाडुपन्यू लिएर बसेकाहरु महामारीमा केन्द्रित नभएर सत्ता जोगाउन अनावश्यक मन्त्रालय खडा गर्ने, सत्ता जोगाउन तिकडम गर्नेले जनता जोगाउन किन केही नगर्ने ?’

सरकारको दाबी : अक्सिजन अभावमा कसैको मृत्यु भएको छैन

सत्तारुढ नेकपा एमालेले भने अक्सिजन अभावका कारण अस्पतालमा ८ जनाको मृत्यु भएको घटनालाई ढाकछोप गर्न खोजेको छ । कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीले नै अक्सिजन अभाव भएको स्वीकारिरहँदा सरकारका प्रवक्ता रामशरण बस्नेतले भने सदनमा अक्सिजनको अभावले कसैको मृत्यु नभएको दाबी गरे ।

मुख्यमन्त्रीको तर्फबाट जवाफ दिएका भौतिक तथा पूर्वाधार विकासमन्त्री बस्नेतले भने, ‘अक्सिजन थियो, छ । त्यहाँ अहिले गएर हेरौं । मिथ्या बोलेर जनता सडकमा आए भने घटना घट्नसक्छ, त्यसको जिम्मेवार कसले लिने ?’ घटनाबारे छानबिन भइरहेको भन्दै उनले भने संक्रमितको मृत्युको कारण अक्सिजन नभएको निष्कर्षमा आफूहरु पुगेको बताए । उनले सत्य कुरा बाहिर नआई सरकारले माफी माग्न आवश्यक नरहेको समेत अडान राखे ।

मुख्यमन्त्रीले जेठ २७ अघि नै विश्वासको मत लिने

२९ वैशाखमा संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

असार १ गते बजेट ल्याउनुपर्छ । त्यसैले मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिनुपर्ने विपक्षी दलहरुको माग छ । तर मुख्यमन्त्रीको तर्फबाट जवाफ दिएका मन्त्री रामशरण बस्नेतले केन्द्रमा प्रधानमन्त्री केपी ओलीसँग डराएजस्तो प्रदेशमा पृथ्वीसुब्बासँग नडराउन आग्रह गरे । ‘केपी ओलीसँग डराएर जुन स्थिति उत्पन्न भएको छ, पृथ्वीसुब्बासँग त्यसरी डराउन पर्दैन’ प्रवक्ता बस्नेतले भने, ‘हामीलाई पनि थाहा छ, यो अल्पमतको सरकार हो । ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । हामी स्पष्टताका साथ जेठ २७ गतेभित्र विश्वासको मत लिन्छौं ।’

विपक्षीले भनेकै दिन विश्वासको मत नलिने भन्दै उनले भने, यो सरकारले बजेट ल्याउन पाउने कि नपाउने भन्नेमा हामीले कानून र नियमावलीमा लेखेका छैनौं र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment