
१७ जेठ, काठमाडौं । भियतनामले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि हो चि मिन्ह सहरका सबै मानिसको परीक्षण गर्ने भएको छ । साथै उक्त सहरमा भौतिक दूरीको थप नयाँ नियम पनि लगाइएको छ । पछिल्लो समय एक धार्मिक समारोहबाट कोरोना संक्रमण फैलिएको पाइएसँगै भियतनामले यस्तो निर्णय गरेको हो । यो सहरको जनसंख्या १ करोड ३० लाख छ ।
भियतनाम कोरोना नियन्त्रणमा तुलनात्मकरुपमा सफल देखिएको छ । यद्यपि पछिल्लो केही सातायता भने भियतनाममा निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्या बढिरहेको छ । यसै क्रममा भियतनामका अधिकारीहरुले निकै जोमिखपूर्ण नयाँ हाइबि्रड भेरियन्ट देखिएको बताएका छन् ।
भियतनामको सरकारले उक्त हाइबि्रड भेरियन्ट बेलायत र भारतमा देखिएको भेरियन्टको संयुक्त रुप भएको बताएको छ । यो भेरियन्ट हावाबाट सहजै फैलिन सक्ने विशेषज्ञहरुले बताएका छन् । समग्रमा अहिलेसम्म भियतनाममा सात हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय भियतनामको हो चि मिन्ह सहरमा इशाई धर्मको एक समारोहबाट संक्रमण फैलिएको हो । उक्त सामारोहमा सहभागी १२५ मानिसमा संक्रमित भएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4