Comments Add Comment

संक्रमितको उपचारसँगै महामारी नियन्त्रणमा जुटेको अस्पताल

२० जेठ, काठमाडौं । ‘महामारी नियन्त्रणमा नलागी अब अस्पतालको पूर्वाधार र उपचारात्मक सेवाले मात्र धान्दै धान्दैन,’ २०७८ वैशाखको दोस्रो साता काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालको कोभिड व्यवस्थापन समितिले निकालेको निष्कर्ष  हो।

त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशतको नजिक पुग्न थालेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै १०० पुग्ने बाटो समातिरहेको थियो ।

महासंकट आउँदैछ भन्ने थाहा पाएको धुलिखेल अस्पतालले तत्कालै तीनवटा निर्णय गर्‍यो ।

पहिलो, धुलिखेल नगरपालिकामा दुई हजार जनाको स्वाब संकलन गरेर निःशुल्क परीक्षण गर्ने ।

दोस्रो, पीसीआर परीक्षणको शुल्क घटाएर ५०० बनाउने ।

तेस्रो, धुलिखेल आसपासका सिन्धुपाल्चोक, सिन्धुली दोलखा, काभ्रेपलाञ्चोक जस्ता जिल्लामा आफ्नै जनशक्ति पठाएर सम्भावित संक्रमितको स्वाब कलेक्सन गरेर ल्याउने ।

धुलिखेल अस्पतालको कोभिड व्यवस्थापनमा खटिएका डा. राजीव श्रेष्ठ समुदायमा भुसको आगोझैं सल्किंदै गएको संक्रमण नियन्त्रण गर्न परीक्षणमा जोड दिइएको बताउँछन् । समुदायस्तरमा पर्याप्त परीक्षण गर्न नसके लकडाउनको उद्देश्य प्राप्त नहुने उनको भनाइ छ ।

श्रेष्ठका अनुसार धुलिखेल आसपासका ग्रामीण क्षेत्रमा ६० प्रतिशत भन्दा धेरै संक्रमणदर भएकाले वैशाखको दोस्रो सातादेखि नै परीक्षणमा जोड दिइएको थियो । ‘समुदायमा गएर सम्भावित संक्रमित खोज्दै स्वाब संकलन नगरेको हो भने त यहाँको अस्पतालमा बिरामीको मृत्युदर बढ्न सक्थ्यो’, डाक्टर श्रेष्ठ भन्छन् ।

महामारी विस्तार हुन नदिनको लागि समुदायस्तरमा परीक्षणको विकल्प थिएन । लकडाउनको बेला परीक्षणमा जोड नदिंदा लकडाउन खुल्नासाथ घरमा थुनिएका संक्रमित बाहिर निस्किएर संक्रमण विस्तार गर्ने निश्चित जस्तै थियो । सोही कारण समुदायमा रहेका संक्रमित समयमै पहिचान गरि आइसोलेट गराउन परीक्षण शुल्क घटाएको र दुई हजार स्वाब त निःशुल्क परीक्षण गरेको डा. श्रेष्ठ बताउँछन् ।

डा. राजीव श्रेष्ठ

ग्रामीण भेगमा मानिसले दुई हजार शुल्क तिरेर पीसीआर गर्न सहज नहुने निष्कर्ष निकालेको अस्पतालले पैसा तिर्न नसक्नेहरूलाई निःशुल्क समेत परीक्षण गरिरहेको छ । परीक्षणलाई उच्च प्राथमिकतामा राख्दै अस्पतालले अभियान चलाएको कारण सिकिस्त भइसकेपछि मात्र अस्पताल आउने ट्रेण्ड घटेको डा. श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार परीक्षणमा जोड दिएका कारण समयमै संक्रमित पत्ता लगाएर आइसोलेट गराउन सक्दा धेरै संक्रमितलाई सिकिस्त नभइकन बचाउन सकिएको छ । निःशुल्क परीक्षणको दायरा बढाउन धुलिखेल आसपासका जिल्लाहरूमा समेत समन्वय भइरहेको श्रेष्ठको भनाइ छ ।

‘समुदायमा संक्रमण विस्तार भएर अस्पतालमा धान्न नसक्ने नहोस् र धेरै मानिस बँचुन् भनेर हामीले परीक्षण शुल्कमा सहुलियतपूर्ण बनाएका हौं’ डा. श्रेष्ठ भन्छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड अनुसार पीसीआर परीक्षण गर्ने ल्याबले विश्व स्वास्थ्य संगठन या अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनबाट स्वीकृत किट प्रयोग गर्नुपर्छ । उक्त किट अस्पतालले किन्दा १,३४८ रुपैयाँ पर्न जान्छ । नाफा नलिइकन सामाजिक उत्तरदायित्व अनुसार परीक्षण शुल्क घटाएको अस्पतालको माइक्रोबायोलोजिस्ट सुरेन्द्र मधु बताउँछन् ।

उनका अनुसार शुरुमा अस्पतालले सबैलाई निःशुल्क पीसीआर परीक्षण गराउने निर्णय गरे पनि पछि अनावश्यक मान्छे धेरै आउने भएकाले ५०० शुल्क तोकिएको हो । ‘सबैलाई निःशुल्क गर्दा अनावश्यक मान्छे धेरै आउने डर भयो र, पीसीआर किटको दाम मात्रै (रु.१३४८) राख्दा पनि पैसा नहुनेहरू नआउने डर भो, त्यसैले हामीलै ५०० शुल्क तोकेका हौं, तर ५०० पनि तिर्न सक्दिनँ भनेर कोही मान्छे आउँछ भने हामी निःशुल्क पनि परीक्षण गर्छौं’ माइक्रोबायोलोजिस्ट मधु सुनाउँछन् ।

अस्पतालमा भन्दा धेरै संक्रमितहरू होम आइसोलेसनमा भएको तथ्य नजरअन्दाज  नगरिकन धुलिखेल अस्पतालले ‘होम आइसोलेसन सपोर्ट टिम’ बनाएको छ । उक्त टिममा जनस्वास्थ्यविद्, एमबीबीएस डाक्टरलगायत अन्य स्वास्थ्यकर्मीहरू कार्यरत छन् । त्यो टिमले वागमती प्रदेश र कर्णाली प्रदेशका विभिन्न ठाउँमा रहेका कोरोना संक्रमितलाई नियमितजसो फोन गरेर स्वास्थ्य समस्याको जानकारी लिन्छ ।

अस्पतालले ग्रामीण क्षेत्रमा चलाएको ‘आउटरिच सेन्टर’मा भर्ना भएका संक्रमितहरूको अपडेट सहित अस्पतालबाट नै फोन गरेर संक्रमितको अवस्थाबारे जानकारी लिइरहेको डाक्टर श्रेष्ठ बताउँछन् । उनका अनुसार धुलिखेल आसपासका जिल्लाहरूमा होम आइसोलेसनमा बसेका संक्रमितहरूले स्वास्थ्यमा समस्या आएको गुनासो गरेमा अस्पतालको एम्बुलेन्स बिरामी लिन पुग्छ ।

‘समुदायमा संक्रमण नियन्त्रण नगरी अस्पतालमा बिरामीको चाप घट्दैन, हाम्रो जस्तै अरू अस्पताल या स्थानीय तहले गर्न सके छिटै नै महामारी नियन्त्रण हुन्थ्यो’, उनी भन्छन् ।

महामारी नियन्त्रणमा अस्पतालले काम गर्दागर्दै सिकिस्त बिरामी आउने क्रम घटेको छैन । कतिपय ठाउँका मानिसहरू लक्षण देखिंदा समेत परीक्षण गर्न नगएकाले यस्तो समस्या आएको श्रेष्ठ बताउँछन् । होम आइसोलेसनमा बसेकाहरूमा पनि धेरै समस्या आएको उनको भनाइ छ ।

‘महामारी नियन्त्रणमा यति धेरै काम गर्दा त यो अवस्था छ भने यो सबै काम नगरेको भए झन् के अवस्था हुन्थ्यो भन्ने सोचेर चकित हुन्छौं’ उनी भन्छन् ।

धुलिखेल अस्पतालले कोभिड बिरामीको लागि प्रसूति भवनमा १२५ वटा बेड छुट्याएको छ । जसमा ९५ वटा हाइ डिपेन्डेन्सी यूनिट, ३० वटा आईसीयू छन् । यस बाहेक अस्पतालमा शंकास्पद बिरामीका लागि १२ वटा इमर्जेन्सी बेड छन् ।

उक्त अस्पतालमा विशेषगरी काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा आसपासका ग्रामीण भेगबाट संक्रमितहरू आइपुग्छन् । सोही कारण अस्पतालले ९ वटा जिल्लामा १८ वटा समुदायस्तरको ‘आउटरिच सेन्टर’ सञ्चालनमा ल्याएको छ  ।

धुलिखेल अस्पताल डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एण्ड कम्युनिटीका सहप्राध्यापक डा.रोशनकुमार महतो ‘आउटरिच सेन्टर’ बाट स्वाब संकलन गरेर धुलिखेल अस्पतालमा पठाइने बताउँछन् । उनका अनुसार त्यहाँ सामान्य संक्रमितका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा छ भने सिकिस्त संक्रमितलाई धुलिखेल अस्पतालमै ‘रिफर’ गरिन्छ । ‘आउटरिच सेन्टर’ मा सिकिस्त भएर आउने बिरामीलाई आकस्मिक एन्टिजेन परीक्षण गरेर उपचार शुरू गर्ने उनको भनाइ छ ।

डा. महतो अधिकांश समय विभिन्न ग्रामीण भेगमा रहेको ‘आउटरिच सेन्टर’ मै हुन्छन् । पछिल्लो एक साता विभिन्न ग्रामीण क्षेत्रका ‘आउटरिच सेन्टर’ घुमेर आएका उनले ठूला शहरबाट गाउँमा संक्रमण छिरेको देखेका छन् ।

कुनै एउटा सानो गाउँमा २४ वटा स्वाब परीक्षण गर्दा १८ जनामा संक्रमण भेटिंदाको उनी आफैं साक्षी हुन् । यसरी नै अन्य ग्रामीण भेगमा पनि संक्रमणदर उच्च भेटिएकाले जोखिम बढेको डा. महतोको निष्कर्ष छ । ‘अझै दुई हप्ता गाउँगाउँमा डरलाग्दो गरी संक्रमण बढ्छ, स्थानीय तहले महामारी विरुद्ध कस्तो तयारी गरेको छ भन्ने कुराले क्षति थाहा हुन्छ’, डा. महतो भन्छन् ।

धुलिखेल अस्पतालमा आउने अधिकांश सिकिस्त केसहरू होम आइसोलेसन सपोर्ट टिमको सिफारिशमा आउँछन् भने कतिपय केस अस्पतालले चलाएको ‘आउटरिच सेन्टर’ बाट आउँछ । धेरैजसो केसहरू ‘आउटरिच सेन्टर’ मै अक्सिजन सपोर्टमा व्यवस्थापन गरेको उनी बताउँछन् ।

उनका अनुसार दैनिक ती क्षेत्रबाट ८ देखि १० जना सिकिस्त संक्रमित धुलिखेल अस्पतालमा भर्ना हुन्छन् । अधिकांश संक्रमितले आईसीयू खोज्दै आउने भए तापनि वेड अभावले एचडीयूमा व्यवस्थापन गरिएको महतो बताउँछन् ।

ग्रामीण क्षेत्रमा संक्रमण बढेको खण्डमा मृत्युदर बढ्ने उनको बुझाइ छ । भौगोलिक विकटता, बुझाइको कमी र स्वास्थ्य संस्थाको सीमितताको कारण मानिसलाई बचाउन नसकिने उनको निचोड छ । तर, धुलिखेल अस्पतालले ‘आउटरिच सेन्टर’ सञ्चालन गरेको ठाउँमा समयमै परीक्षण र अक्सिजनसहितको बेड भएकाले अन्य ठाउँमा जस्तो डराउनुपर्ने अवस्था छैन ।

डा. महतो भन्छन्, ‘हामीले काम गरेको क्षेत्र बाहेक अन्य ठाउँमा अवस्था दर्दनाक छ, त्यसले अबको चुनौती भनेको ग्रामीण भेग नै हो ।’

धुलिखेल अस्पतालले काम गरेको ग्रामीण क्षेत्रमध्ये सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे जस्ता ठाउँहरूमा संक्रमण बढिरहेको बताउँदै महतो भन्छन्, ‘सबै स्थानीय तहले समुदायस्तरमै परीक्षण गर्न जरूरी छ ।’

धुलिखेल अस्पताल कोभिड व्यवस्थापन समितिले समुदायस्तरमा संक्रमण घटाउने विभिन्न प्रयास गरिरहेको छ भने स्वास्थ्यकर्मीको टिम कोभिड संक्रमितको उपचारमा खटिइरहेको छ ।

वैशाखको तेस्रो साता एकाएक १०० बेडको एचडीयू भरिएपछि धुलिखेल अस्पतालमा पनि समस्या शुरू भयो । पूर्वतयारी अपुग हुँदाहुँदै संक्रमित बढ्न थालेपछि बिरामीको चाप एक्कासी बढ्यो । महामारीको शुरुआती चरणदेखि धुलिखेल अस्पतालको हाइडिपेन्डेन्सी युनिटमा खटिइरहेका चिकित्सक डा.प्रकाश सापकोटा काठमाडौंदेखि सिन्धुपाल्चोकको ग्रामीण भेगबाट समेत त्यहाँ उपचार गराउन आएको बताउँछन् ।

अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि मेडिसिन वार्डमा समेत कोभिडका बिरामी राखियो । उपत्यकाका अन्य अस्पताल जस्तै त्यहाँ पनि अक्सिजन अभावले सतायो । ‘संक्रमण भएको ७ देखि १५ दिनको बीचमा आउने र अस्पताल आइपुग्दा प्रतिघण्टा १५ लिटर अक्सिजन चाहिने बिरामी त्यो बेला धेरै बिते, किनकि त्यस्तो बिरामीलाई भेन्टिलेटर आवश्यक भए पनि खाली थिएन’ डा. सापकोटा भन्छन् ।

वैशाखको अन्तिमतिर धुलिखेल अस्पतालमा दैनिक चारदेखि पाँच जना संक्रमितको मृत्यु भएको थियो । डा. सापकोटाका अनुसार तीमध्ये अधिकांश अस्पताल समयमै आएको भए बचाउन सकिने खालका थिए । २३ वर्षको युवा समेत संक्रमणकै कारण मरेको देखेका सापकोटाले वार्डभित्र धेरै विक्षिप्त दृश्य देखेका छन् । बिहानसम्म राम्रो अवस्थामा भएर गफ गरेको बिरामी साँझ छट्पटाउँदै मरेको देख्दा धेरै पटक भावुक भएको उनी सुनाउँछन् ।

‘५० प्रतिशत भन्दा बढी बिरामी संक्रमणले भन्दा बढी डरले आत्तिएका हुन्छन् । छेउको बिरामी सिकिस्त हुँदा अर्को बेडको सामान्य संक्रमितको आत्मबल घट्छ र उनीहरू पनि डराउँछन्’, डा. सापकोटा एचडीयू वार्डभित्रको माहोल सुनाउँछन् ।

डा.सिर्जेश पराजुली धुलिखेल अस्पतालको इमर्जेन्सी ट्रमा म्यानेजमेन्ट र समुदायको स्वाब कलेक्सनमा खटिइरहेका छन् । वैशाखको दोस्रो सातादेखि हालसम्म उनले गाउँ-गाउँ पुगेर ३०० भन्दा बढी शंकास्पद संक्रमितको स्वाब कलेक्सन गरेर ल्याएका छन् ।

अस्पताल आउन नसक्नेको लागि स्वाब संकलन गर्ने र अन्य स्वास्थ्य सपोर्टको लागि उनी र उनको टिम एम्बुलेन्स लिएर गाउँ बस्तीमा डुलिरहेको हुन्छ । सुरक्षाको मापदण्ड अपनाएर गाउँगाउँमा पुग्दा त्यहाँका मानिसलाई पीसीआर परीक्षण गर्नुपर्ने रहेछ भन्ने थाहा हुने उनी बताउँछन् । ‘हाम्रो उद्देश्य नै ग्रामीण क्षेत्रमा रहेका मानिसले समयमै परीक्षण गर्न पाएर दुर्घटना नहोस् भन्ने हो’, उनी भन्छन् ।

दुई वर्षदेखि धुलिखेल अस्पतालमा कार्यरत नर्स ज्योति रोका महामारी शुरु भएदेखि नै कोभिड वार्डमा खटिएकी छिन् । शुरुआती चरणमा कोरोनाका बिरामी भन्ने थाहा पाएदेखि डरले हातखुट्टा काम्ने उनको मनमा ‘कसरी ६/७ घण्टा केही नखाइकन र ट्वालेट नगइकन पीपीई लगाएर बस्ने ?’ भन्ने जस्ता कुराहरू खेलिरहन्थ्यो । तर संक्रमित बढ्न थालेपछि डर हराउँदै गयो ।

कोभिड वार्डको ड्युटीमा हरेक दिन विक्षिप्त दृश्य देख्नुपर्छ । संक्रमितको छट्पटाहट र आफन्तको चीत्कारले मन नै बिथोल्छ । सम्झँदा मात्रै पनि मन बिथोलिने धेरै अपि्रय घटनाको साक्षी छिन् उनी ।

गत साता ४० वर्षकी एक महिला अत्यन्तै सिकिस्त भएर कोभिड आईसीयू वार्डमा आइन् । उनका श्रीमान् पनि संक्रमित भएर वार्डमै भर्ना भएका थिए । प्रतिघण्टा १५ लिटरभन्दा बढी अक्सिजन दिनुपरेको उनलाई भेन्टिलेटर आवश्यक थियो । आईसीयूमा ठीक हुँदै गएको संक्रमितलाई निकालेर उनलाई राख्न रोका सहितको स्वास्थ्यकर्मीको टिमले प्रयास गर्‍यो । आईसीयूमा रहेका एक संक्रमित खतरामुक्त हुँदै थिए । उनको आफन्तलाई समस्या सुनाएपछि आईसीयू खाली गराइदिने वचन दिए ।

सार्ने तयारी गर्दै गर्दा आईसीयू खाली गराइदिने वचन दिएका आफन्तले आफ्नो संक्रमितलाई आईसीयूबाट नसार्ने बताए । र, छट्पटाउँदा छट्पटाउँदै ती महिलाको मृत्यु भयो ।

‘उहाँ मेरो आमा जस्तै लागेको थियो, आमाबुवा जस्तै लाग्ने दर्जनौं शवलाई यही हातले प्याक गरेको छु, त्यतिबेला बुवाआमाको अनुहार झलझली याद आउँछ’, रोका भावुक हुँदै सुनाउँछिन् ।

आईसीयूमा कार्यरत नर्स सृष्टि सिलवालको कथा पनि फरक छैन । आईसीयूमा सिकिस्त संक्रमित मात्र भर्ना हुने भएकाले झन् धेरै विक्षिप्त दृश्यहरूको सामना गर्नुपर्छ ।

अक्सिजन क्राइसिसले धेरैको ज्यान गइरहँदा केही गर्न नसकेको सम्झँदा अझै पनि पीडा हुन्छ । भोक-तिर्खा बिर्सेर काम गर्दा पनि होपलेस हुनुपर्ने अवस्था कसैलाई नआओस् भन्ने उनको कामना छ । ‘मान्छे मर्दैछ भन्ने थाहा हुन्छ, छट्पटाउँदै मरेको पनि देखिरहेका हुन्छौं तर सबै कुरा थाहा पाएर पनि केही गर्न सक्दैनौं’, उनी भन्छिन् ।

अस्पतालकी सरसफाइ कर्मचारी मञ्जु न्यौपाने २३ जेठ २०७७ मा नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु हुँदा इमर्जेन्सी ड्युटीमा थिइन् । कोरोना संक्रमणको शुरुआती चरण भएकाले देशभर त्रास फैलिएको थियो । मृतकसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले उनले झनै नजिकबाट डर महसूस गरिरहेकी थिइन् । मानसिक तनाव, फोनको घण्टी, शरीर असिनपसिन भएको अवस्था र डरले काम छुटेको समय अस्ति जस्तो लाग्छ । क्वारेन्टिनमा १४ दिन कटाउनलाई १४ वर्षभन्दा धेरै लागेको जस्तै महसूस गरेकी उनी रिपोर्ट नेगेटिभ आउँदाको खुशी अहिले शब्दमा व्यक्त गर्न नसक्ने बताउँछिन् ।

‘त्यतिबेला त्रासको माहोल यस्तो थियो कि मसँगै क्वारेन्टिन बसेका साथीहरूलाई समाजले आफ्नै घर जान दिएन’, उनी पुरानो दिन सम्झिन्छिन् ।

कोरोना संक्रमणको शुरुआती अवस्थामा नै तनाव भोगेकी उनी निरन्तर ड्युटीमा छिन् । कोभिड वार्ड सरसफाइ गर्न खटिने उनी धेरै संक्रमितको आशा, निराशा र अन्तिम श्वासको साक्षी बनेकी छिन् । ‘कोही कोहीको त एउटै परिवारको दुई-तीन जनाको मृत्यु हुन्छ, त्यो देख्दा रुन मात्रै मन लाग्छ’, उनी भन्छिन् ।

धुलिखेल अस्पतालकी नर्सिङ व्यवस्थापक सीता कार्की कोभिड वार्डमा खटिएका १०० भन्दा बढी नर्सलाई व्यवस्थापन गरिरहेकी छिन् । ड्युटी नर्सलाई स्रोतहरूको व्यवस्थापन गर्न र वार्डहरूमा नर्सिङ पोस्टिङ गर्ने उनले संक्रमित र नर्सिङ जनशक्ति दुवैको तनाव नजिकबाट देखेकी छिन् ।

संक्रमितको अवस्था र नर्सहरूको लाचारपनले उनलाई भावुक तुल्याउँछ । वार्डमा खटिंदा खटिंदै निराश भएका नर्सहरूलाई काउन्सिलिङ गर्ने काम उनकै जिम्मामा छ । अर्थात् उनी पनि असङ्ख्य सकसको साक्षी हुन् । ‘यस्तो अवस्थाबाट भाग्न नमिल्ने भएकाले धेरै कुरा सहेर काम गरिरहेका छौं । यो भयावह परिस्थिति छिटै सकियोस् भन्ने लागेको छ’, उनी भन्छिन् ।

हेर्नुहोस् थप तस्वीरहरु

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment