Comments Add Comment

मैत्रीपूर्ण खेलमा फ्रान्स र इंग्ल्याण्ड विजयी, जर्मनी बराबरीमा रोकियो

२० जेठ, काठमाडौं । विश्व विजेता फ्रान्सले मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले हराएको छ । युरोकप २०२० अघि तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा सीमित वेल्समाथि सहज जित हात पारेको हो ।

एलिएन्ज एभेइरियामा भएको खेलको २६औं मिनेटमा वेल्सका नेको विलियम्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । नेकोले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि रातो कार्ड पाए भने फ्रान्सले पेनाल्टी पायो ।

तर करिम बेन्जामाले पेनाल्टीमा गोल गर्न सकेनन् । २०१५ अक्टोबरपछि पहिलो पटक फ्रान्सका लागि खेलिरहेका बेन्जामाको प्रहार वेल्सका गोलकिपर डानी वार्डले बचाएका थिए ।

३५औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा अग्रता दिलाए ।

दोस्रो हाफमा फ्रान्सले दुई गोल गर्‍यो । ४८औं मिनेटमा एन्टोनी ग्रीजमन र ७९औं मिनेटमा उसमान डेम्बेलेले गोल गरे ।

युरोकपमा फ्रान्स समूह एफमा छ । यस समूहमा साविक विजेता पोर्चुगलसँगै जर्मनी र हंगेरी पनि छ ।

यस्तै अर्को खेलमा इंग्ल्याण्डले अष्ट्रियालाई १-० ले पराजित गरेको छ । इंग्ल्याणडका लागि बुकाया साकोले ५६औं मिनेटमा गोल गरे ।

जर्मनी भने डेनमार्कसँग १-१ को बराबरीमा रोकिएको छ । फ्लोरियन नेउहाउसले ४८औ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए तर ७१औं मिनेटमा युसुफ पाउलसेनले डेनमार्कका लागि बराबरी गोल फर्काए ।

यस्तै मेम्फिस डिपाएले दुई गोल गरेपछि नेदरल्याण्डले दुई पटक पछि परेको अवस्था उल्टाउँदै स्कटल्याण्डसँग २-२ को बराबरी खेलेको छ ।

स्कटल्याण्डका लागि ज्याक हेन्ड्रीले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर डिपाएले १७औं मिनेटमा डच टोलीका लागि बराबरी गोल फर्काए । ६४औं मिनेटमा केभिन निसबेटले गोल गर्दै स्कटल्याण्डलाई फेरि अग्रता दिलाए । तर खेल सकिन एक मिनेट अघि डिपाएले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्याण्ड्सको हार टारे ।

युरोकपमा छनोट भएका २४ टोली अहिले त्यसैको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलिरहेका छन् । हरेक टोलीले युरोअघि २ मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment