Comments Add Comment

कोपा अमेरिका ब्राजिलको ४ सहरमा हुने, उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग खेल्ने

२० जेठ, काठमाडौं । यही जुन १३ देखि सुरु हुने कोपा अमेरिका फुटबल ब्राजिलको चार सहरमा हुने भएको छ । विश्वकप फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिता कोपाको ४७औं संस्करण अर्जेन्टिना र कोलम्बियामा हुने तय थियो । तर कोलम्बियामा राष्ट्रियपतिविरुद्ध भएको प्रदर्शन तथा अर्जेन्टिनामा कोरोना दर बढेपछि ब्राजिललाई नयाँ आयोजक बनाइएको हो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले ब्राजिलको चार सहरमा प्रतियोगिता गर्ने जनाएको छ ।

जसमा रियो दि जेनेरियाका दुई मैदानमा खेल हुनेछ भने ब्रासिलिया, कुइबा र गोइनिया सहरको एक एक मैदानमा खेल हुनेछ ।

रियो दि जेनेरियको माराकाना र निल्टन सान्तो स्टेडियममा खेल हुनेछ भने ब्रासिलियाको माने गारिन्चा स्टेडियम, कुइबाको पान्तनाल एरेना तथा गोइनियाको ओलम्पिक स्टेडियममा खेल हुनेछ ।

आयोजक फेरिएपछि कन्मेबोलले खेलतालिका पनि फेरबदल गरेको छ ।

जसअन्तर्गत उद्घाटन खेल जुन १३ मा समूह बी मा रहेको आयोजक ब्राजिल र भेनेजुएलाबीच हुनेछ । खेल माने गारिन्चा स्टेडियममा हुनेछ । त्यही दिन कोलम्बिया र इक्वेडरबीचको खेल पनि हुनेछ ।

यसअघि उद्घाटन खेल अर्जेन्टिना र चिलीबीच हुने तय थियो उक्त खेल अब जुन १४ मा हुनेछ ।

समूह बी मा ब्राजिल र भेनेजुएलासँगै कोलम्बिया, इक्वेडर र पेरु छन् । यस्तै समूह ए मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन् ।

यस्तै फाइनल खेल माराकाना स्टेडियममा जुलाई १० मा हुनेछ । दुवै समूहको शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगितामा समूह चरणका २० तथा नकआउट स्टेजका ८ गरी कूल २८ खेल हुनेछ ।

ब्राजिल साविक विजेता समेत हो । उरुग्वेले सर्वाधिक १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment