Comments Add Comment

संस्थानमा सरकारको ऋण लगानीबाट ३१ अर्ब ५९ करोडको हिसाब गायब

२० जेठ, काठमाडौं । सार्वजनिक संस्थानमा भएको ऋण लगानीमध्ये रु.३१ अर्ब ५९ करोड बराबरको हिसाब हराएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ सम्म ४४ वटा सार्वजनिक संस्थानमा गरेको ऋण लगानीमध्ये संस्थानहरुले देखाएको हिसाब र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा उक्त रकम फरक देखिएको हो ।

अर्थमन्त्रालयका अनुसार, सरकारले सार्वजनिक संस्थानमा हालसम्म कुल २ खर्ब ३० अर्ब ८९ करोड ८ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सार्वजनिक संस्थानहरुले अर्थ मन्त्रालयमा पठाएको विवरणमा भने सरकारले १ खर्ब ९९ अर्ब २९ करोड ९३ लाख मात्र उपलब्ध गराएको हिसाव छ । यसअनुसार, ऋण लगानीको साढे ३१ अर्ब भन्दा बढी रकम गायव भएको छ ।

सार्वजनिक संस्थानमा कुन सालसम्म कति ऋण लगानी ?

आव २०७२/७३ : १ खर्ब ३० अर्ब ५० करोड ६८ लाख

आव २०७३/७४ : १ खर्ब ५२ अर्ब ५० करोड ७५ लाख

आव २०७४/७५ : १ खर्ब ६४ अर्ब ४२ करोड ११ लाख

आव २०७५/७६ : १ खर्ब ९१ अर्ब ५३ करोड ५४ लाख

आव २०७६/७७ : २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख

सबभन्दा बढी ऋण लगानी विद्युत प्राधिकरणामा

४४ सार्वजनिक संस्थानमध्ये २० वटामा सरकारको ऋण लगानी छ । यीमध्ये पनि नेपाल विद्युत प्राधिकरणमा सबभन्दा बढी १ खर्ब ८५ अर्ब ५४ करोड २० लाख ऋण लगानी छ । यो लगानी नयाँ विद्युत विकास आयोजना र प्रसारण लाइन निर्माणमा केन्द्रित छ ।

हिसावमा बढी फरक पनि प्राधिकरणमै देखिएको छ । प्राधिकरणले १ खर्ब ५७ अर्ब ४० करोड ११ लाख मात्र ऋण लगानी भएको विवरण अर्थमा पठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणले भने प्राधिकरणमा सरकारको १ खर्ब ८५ अर्ब ५४ करोड २० लाख ऋण लगानी भएको देखाएको छ ।

हिसावमा २८ अर्ब १४ करोड ९ लाख फरक देखिएपछि अर्थले दुवै पक्षलाई हिसाव मिलान गर्ने सुझाव दिएको छ ।

‘तथ्य सार्वजनिक छ, खोजिनीति हुन्छ’

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र सार्वजनिक संस्थानहरुबाट आएको फरक वितरण सार्वजनिक भएसँगै अब खोजिनीति हुने बताउँछन् ।

‘हामी कहाँ आएको विवरण सार्वजनिक गरेका छौं, अब हिसाव कहाँ मिलेको छैन, खोजीनिती र अध्ययन गर्ने बाटो खुलेको छ’, उनले भने, ‘ऋण व्यवस्थापन कार्यालय सक्रिय भएको धेरै नभएकोले कतिपय संस्थानका पुराना अभिलेख अध्ययनकै क्रममा रहँदा पनि हिसाव नमिलेको हुनसक्छ ।’

आगामी वर्षहरुमा यस्तो अन्तर हराउँदै जाने मैनालीले बताए ।

सरकारले सार्वजनिक संस्थारुमा सेयर र ऋणका रुपमा कुल ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख लगानी गरेको छ । आव ०७६/७७ सम्म सार्वजनिक संस्थानमा कुल २ खर्ब ८८ अर्ब ६५ करोड ८५ लाख बराबर सेयर लगानी भएको छ ।

यस अवधिमा भएको २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख ऋण लगानीसहित संस्थानमा सरकारको कुल ऋण तथा सेयर लगानी ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैया पुगेको हो । ०७६/७७ सम्म अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २३ वटामा सरकारको पूर्ण स्वामित्व छ ।

नेपाल सरकार र सरकारी निकायको ५० प्रतिशतभन्दा बढी स्वामित्व रहेका संस्थान २१ वटा छन् । यी संस्थानमा पछिल्लो ५ वर्षमा सरकारको ऋण लगानी औसतमा १२.४३ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment