Comments Add Comment

नयाँ प्रशिक्षक आएपछि आत्मविश्वास बढेको छ : किरण चेम्जोङ

'हामी अट्याक गर्न सक्छौँ गोल गर्न सक्छौँ भन्ने अनुभव भएको छ'

२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आएपछि खेलाडीमा आत्मविश्वास बढेको बताएका छन् ।

विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट खेल्न हाल कुवेतमा रहेका उनले प्रशिक्षकका कारण खेलाडीमा आत्मविश्वास बढेको बताएका हुन् ।

‘मैले राष्ट्रिय टिममा खेल्न थालेको १३-१४ वर्ष भयो । अहिलेको कोचले कन्फिडेन्स दिनुभएको छ । सबै खेलाडीलाई खेल्नका लागि कन्फिडेन्सको वातावरण क्रियट गर्नुभएको छ’ किरणले कुवेतमा शुक्रबार एन्फा मिडिया र सञ्चारकर्मीसंगको कुराकानीमा भने ।

छनोट खेल अन्तर्गत समूह बी मा रहेको नेपालले बिहीबार चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो । अलमुताइरी प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेलेको हो । त्यसअघि शनिबार नेपालले इराकसंग मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोरेको थियो ।

किरणले नयाँ प्रशिक्षकको आगमनपछि नयाँ खाले फुटबल अनुभव गर्न पाएको पनि बताए । ‘नयाँ खेलाडीले पनि इराकविरुद्ध प्रभावकारी खेले । हिजो पनि निरन्तरता भयो ।’

उनले आफ्नो करिअरको १३ वर्षमा पहिलो पटक नयाँ ढंगले खेल खेलेको बताए । अहिले नेपाली खेलाडीमा गोल गर्न र अट्याक गर्न सक्छु भन्ने आत्मविश्वास बढेको किरणले बताए ।

खेल जित्ने लक्ष्य

चाइनिज ताइपेईविरुद्धको खेलमा गोल गरेका अन्जन विष्टले आफूहरुको लक्ष्य गोल गर्ने भन्दा पनि खेल जित्ने हुने बताए । चाइनिज ताइपेईविरुद्ध अन्जनले खेलको तेस्रो मिनेटमै पेनाल्टीमा गोल गरेका थिए । अर्को गोल वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले भने ।

अन्जनले मैदान पुगेपछि जितकै लागि खेल्ने र जित्न गोल गर्नुपर्ने बताए । ‘मैदान पुगेपछि हामी जितकै लागि खेल्छौँ । जित्ने हो भने गोल निस्किहाल्छ । जित्नुछ भने गोल हान्नैपर्छ, हिजो मैले हानेँ, अरु खेलमा अरुले हान्छन् तर मुख्य लक्ष्य भनेको जित्नु नै हो’ उनले भने ।

मिडफिल्डर पुजन उपरकोटीले नयाँ कोच आएपछि नयाँ सिस्टममा खेलिरहेको र टिम स्पिरिट राम्रो रहेको बताए । अब आउने खेलहरु अझै प्रतिस्पर्धात्मक र कठिन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment