+
+

वातावरणको दिवसको दिन वीरगञ्जमा रुखलाई अंगालो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते १६:२७

२२ जेठ, वीरगञ्ज । वीरगञ्जको घण्टाघर छेउको डिभाइडरमा केही मानिसहरु रुखलाई अंगालो मारिरहेका थिए । केहीले कपडाको व्यानर बोकेका थिए । व्यानरमा ‘हरियोे, सफा र स्वास्थ वीरगञ्ज, प्लाष्टिक झोला प्रदुषणमुक्त वीरगञ्ज, धर्तीलाई बचाऔं, वातावरण जोगाऔं,’ भनेर लेखिएको थियो ।

रुखलाई अंगालो मारेको दृश्य देख्नेहरुलाई अचम्म लाग्नु स्वभाविक हो । वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले ‘अक्सिजन दिने रुखलाई माया गरौं’ भन्ने सन्देश दिन यसो गरेको हो । कोरोना संक्रमणका कारण धेरैको सहभागिता थिएन तर सन्देश भने ठूलो थियो ।

अक्सिजन दिने विरुवालाई मानवले माया गर्नुपर्छ भन्ने सन्देश दिनका लागि रुखलाई अंगालो मारिएको प्रतिष्ठानका संस्थापक सरदार जसपाल सिंहले बताए । ‘रुख विरुवा अति प्रिय छ, यो बिना हामी बाँच्न सक्दैनौं, यसको रक्षा, सुरक्षा गरौं, जगेर्ना गरौं, माया गरौं भन्ने सन्देश दिनका लागि अंगालो मारेका हौं,’ उनले भने, ‘रुख विरुवा रोपौं, यसलाई नमासौं । सबैलाई मेरो आग्रह छ ।’

प्रकृतिको विनाशकै कारण कोरोना भाइरसको संक्रमण जस्तो महामारी झेल्नुपरेको उनको भनाइ छ । प्रतिष्ठानले वीरगञ्ज महानगरपालिका परिसर र मानव सेवा आश्रम वीरगञ्ज शाखामा आँप, अमला लगायत विभिन्न फलफूलको विरुवा रोपेको छ ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले पनि वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । निम, आँप, अशोक, जामुन लगायतका ८० वटा विरुवा रोपिएको सामुदायिक केन्द्रले जनाएको छ ।

२० औं चरणमा ऋद्धिसिद्धिको गल्लीदेखि ठाकुरराम बहुमुखी क्याम्पस चोकसम्म वृक्षारोपण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरीले पनि वातावरण दिवसको अवसरमा वीरगञ्जका विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । दिवसको अवसरमा नारायणी अस्पतालमा फलफूल वितरण गर्नुको साथै मानव सेवा आश्रम वीरगञ्ज शाखामा एक छाक खाना खुवाइएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

व्यक्तिगत रुपमा पनि उनले महिनामा दुई पटक मानव सेवा आश्रममा भोजन सेवा दिंदै आएको आश्रमकी सानु गुरुङले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?