Comments Add Comment

के हो पोस्ट कोभिड समस्या ? कस्तो बेला अस्पताल जाने ?

काठमाडौं । पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्यांकलाई हेर्ने हो भने जेठ २० गतेबाहेक संक्रमण हुनेभन्दा निको हुने संख्या हरेक दिन बढी छ ।

शनिबार मात्र ५ हजार ४२ जनामा संक्रमण देखिंदा ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

तर लामो समयको उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका कतिपय बिरामीमा पुनः समस्या आएर अस्पताल भर्ना भएका छन् । अक्सिजन कम हुने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, थकान महसुस हुने लगायतका समस्या लिएर बिरामीहरु पुनः अस्पताल आउने गरेको चिकित्सकहरु बताउँछन् ।

नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिंड्दा स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि रिपोर्ट नेगेटिभ आएपनि संक्रमणको असर बाँकी नै रहने हुँदा स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि अत्तालिएर मानिसहरु आउने गरेको बताउँछन् ।

डिस्चार्ज हुने समयमा चिकित्सकहरुले घर बस्दा आउन सक्ने समस्याहरुबारे आवश्यक काउन्सिलिङ नदिंदा अत्तालिएर आउने बिरामीको संख्या बढी रहेको उनले बताए । ‘कोभिडका बिरामीमा फोक्सोमा असर रहिरहन्छ । पहिलो लहरमा बढीमा तीन महिना यसको असर देखिएको थियो । तर यो पटक तीनदेखि ६ महिनासम्म यसको असर देखिन सक्छ,’ डा. दासले भने, ‘त्यसैले शरीर दुख्ने, थकान महसुस हुने जस्ता लक्षणहरु घरबस्दा देखिन सक्छ ।’

शरीरमा अक्सिजन कम भएको जस्तो महसुस हुने, सास फेर्न नै गाह्रो हुन थाल्यो भने चिकित्सकसँग आवश्यक सल्लाह अनुसार उपचार अगाडि बढाउनुपर्ने उनले बताए । दोस्रो लहरको संक्रमण बढी संक्रामक रहेका कारण पनि कोरोना जितेका बिरामीहरुमा मनोवैज्ञानिक असर बाँकी रहँदा पनि सामान्य समस्या देखा पर्दा पनि आत्तिने तथा डराउने गरेको पाइएको उनले बताए ।

फाट्टफुट्ट रुपमा निको भएर गएका बिरामीहरु अस्पताल आउने गरेको र जसमध्ये थोरै संख्याका बिरामी पुनः भर्ना भएर बस्ने गरेको डा. दास बताउँछन् ।

कोरोना निको भएका बिरामीलाई डिस्चार्ज गर्दा चिकित्सकहरुले घरमा बस्दा आइपर्ने समस्याबारे यथार्थ जानकारी दिएर पठाउँदा यस्तो समस्या कम आउने उनको सुझाव छ । ‘कोरोनाले फोक्सोमा असर पुर्‍याएको हुन्छ र यो लामो समयसम्म रहन्छ,’ उनले भने, ‘जसका कारण बिरामीमा जिउ गल्ने, थकान हुने, सास फेर्न गाह्रो, अक्सिजन कम भए जस्तो महसुस हुने गर्छ । त्यसैले आत्तिनुपर्ने अवस्था हुँदैन । चिकित्सकको सल्लाहबमोजिम औषधि खाने, अक्सिजन लेभल बढाउन गर्न सकिने अभ्यास गर्दा उपयुक्त हुनछ ।’

काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना निको भएर डिस्चार्ज भएका केही बिरामी पुनः अस्पताल आउने गरेको पाइएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार दुई महिनायता तीन जना व्यक्ति स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । भर्ना भएकामध्ये दुई जनालाई एकदिन अब्जर्भेसनमा राखेर आवश्यक परामर्श दिएर पठाइएको थियो भने एक जनालाई भने अलि लामो समय भर्ना गरेर राख्नु परेको उनले बताए । सास फेर्न गाह्रो हुने, शरीर दुख्ने लगायतका समस्या लिएर उनीहरु आउने गरेको उनले बताए ।

वीर अस्पतालमा कोरोना फोकल पर्सन डा. अच्युत कार्की डिस्चार्ज भएका व्यक्तिहरु छाती दुख्ने, सास फेर्न गाह्रो हुने, थकान लाग्ने जस्ता समस्या लिएर आउने गरेको बताउँछन् । धेरैजसोले फोनमार्फत नै आफ्नो समस्या राख्ने गरेको र उनीहरुलाई आवश्यक स्वास्थ्य सुझाव दिने गरेको उनले बताए ।

सामान्य खालको समस्या देखिएको भए नजिकैको क्लिनिक वा स्वास्थ्य चौकीमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न सुझाउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment