
२३ जेठ, काठमाडौं । अमेरिकाले ताइवानलाई साठे सात लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने भएको छ । विश्वव्यापीरुपमा खोप वितरणको योजनाअनुसार अमेरिकाले ताइवानलाई उक्र खोप दिन लागिएको हो । यसअघि ताइवानले आफूलाई चीनले खोप पाउनबाट रोकिरहेको बताउँदै आएको अवस्थामा अमेरिकाले यस्तो निर्णय गरेको हो ।
अमेरिकी सिनेटर ट्यामी डकवर्थसहित अन्य दुई अमेरिकी अधिकारी पनि ताइवान आएका छन् । ‘हामी यहाँ मित्रको रुपमा आएका हौं । किनकी हामीलाई थाहा छ कि ताइवान अहिले चुनौतीपूर्ण समयको सामना गरिरहेको छ । त्यसैले द्विपक्षीयरुपमा हामी तीनजना यहाँ उपस्थित हुनु निकै महत्वपूर्ण छ’, डकवर्थले भनिन् । उनले ताइवानलाई तत्कालै कोरोना खोपको आवश्यकता रहेको र अमेरिकालाई पनि ताइवानसँगको मित्रता मूल्यवान् रहेकाले खोप दिने निर्णय गरिएको बताइन् ।
अहिले घोषणा गरिएअनुसारको खोप ताइवानले कहिले पाउँछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । ताइवानका विदेशमन्त्री जोसेप वुले अमेरिकालाई खोप अनुदानको लागि धन्यवाद दिएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4