Comments Add Comment

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

२४ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ ।

नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ । एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।

यसअघि चाइनिज ताइपेईविरुद्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए ।

अलमुताइरीले खेलाडीको मानसिकता अहिले बदलिएको र नतिजाका लागि खेलाडीको मानसिकताले पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

जोर्डनका प्रशिक्षक भिटाल बोर्केल्मान्सले नेपाल विरुद्धको खेललाई लिएर सजग छन् । उनले नेपालले इराक र चाइनिज ताइपेई विरुद्ध नेपालले राम्रो खेलेको भन्दै प्रशंसा गरेका थिए ।

अहिलेसम्म नेपालले जोर्डनसँग तीन पटक खेल्दा जित्न सकेको छैन । त्यसैले नेपालको अन्तिम लक्ष्य पहिलो पटक जोर्डनलाई हराउनु भए पनि त्यो त्यति सहज भने छैन ।

नेपालले विश्वकप छनोटमै यसअघि जोर्डनसँग उसैको मैदानमा खेल्दा ३–० ले पराजित भएको थियो । ५५ मिनेटसम्म जोर्डनलाई बराबरीमा रोकेपनि त्यसपछि नेपालले पेनाल्टीमा गोल खायो र अन्तिम १२ मिनेटमा थप दुई गोल व्यहोरेको थियो ।

जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान माथि छ । जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् ।

नेपालले जोर्डनलाई पराजित गर्न सके यसअघिको हारको बदला मिल्नेछ भने एसियन कप छनोटका लागि अर्को चरणमा पुग्ने बाटो समेत सहज बन्न सक्छ । एसिन कपको अन्तिम चरणको छनोटमा सिधै पुग्न नेपालले जोर्डनलाई हराउनै पर्नेछ । अन्यथा नेपालले अन्तिम चरणको छनोटमा पुग्न पनि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

जोर्डन ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ । नेपालले अन्तिम स्थानको चाइनिज ताइपेईलाई दुई पटक पराजित गरेको थियो । तर उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि हरेक समूहको चौथो र पाँचौ स्थानमा हुने टिमको नतिजा गणना हुने छैन । त्यसैले पनि नेपाललाई जोर्डनविरुद्ध अंक जोड्नुपर्ने आवश्यकता छ ।

समूह ‘बी’ मा जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ । अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ । त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् ।

पछिल्लो पटक जोर्डनसँग अम्मानमा खेल्दा नेपाली टिममा रहेका १० खेलाडी अहिले पनि टिममा छन् ।

जोर्डनविरुद्ध विगत

जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जसमध्ये दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो ।

२०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो ।

तर त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालामा नेपालले जोर्डनसँग १–१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेम्जोङ मात्र अहिले नेपाली टिममा छन् ।

२०२२ को विश्वकप छनोट अन्तर्गत जोर्डनको अम्मानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

जोर्डनसँग हेड टु हेड

खेल : ३

जोर्डन जित : २

नेपाल जित :०

बराबरी : १

विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित

विश्वकप छनोट २०१९ जुलाई : १–१ को बराबरी

गोलकर्ता : भरत खवास

विश्वकप छनोट २०२१ अक्टोबर : नेपाल ३–० ले पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment