Comments Add Comment

कोरोनासँग लड्न नेपालले के-के पायो सहयोग ?

२५ जेठ, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर उच्च विन्दुमा पुगेका बेला संक्रमितहरुले बेड र अक्सिजन समेत नपाएका दृश्यले अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्यो ।

नेपालले सहयोगका लागि आह्वान गरेपछि विभिन्न देश तथा संघसंस्थाले अत्यावश्यकीय उपकरणसहित स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् । अहिले पनि सहयोग जुट्ने क्रम चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण केही कम हुनुका साथै अत्यावश्यकीय स्वास्थ्य सामग्री जुटेका कारण केही सहज भएको सरकारी अधिकारीहरु बताउँछन् ।

मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो समयमा मात्र ३८० थान बाइप्याप मेसिनसहित ५४० थान भेन्टिलेटर सहयोगमा आएको छ । १ हजार ७१० थान अक्सिजन कन्सन्ट्रेटर, ६ हजार २४५ थान अक्सिजन सिलिण्डर र १२ लाख ४५ हजार २५ एन्टिजेन किट सहयोग प्राप्त भएको छ । तिब्बत सानटोङ चाइनाबाट २०० थान आईसीयू बेड समेत प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

करीब साढे ३२ लाख डोज खोप सहयोग

नेपालले हालसम्म चीन, भारत र कोभ्याक्समार्फत कोरोना खोप अनुदानमा पाएको छ ।

चीनले दुई पटकमा गरेर १८ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । भारतले १० लाख कोभिशिल्ड खोप अनुदानमा दियो । भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज अनुदानमै दिएको छ ।

कोभ्याक्स कार्यक्रममार्फत ३ लाख ४८ हजार डोज खोप आएको छ भने अमेरिकाले हालै मात्र नेपाललाई पनि कोभ्याक्समार्फत खोप दिने घोषणा गरेको छ ।

५३७ भेन्टिलेटर सहयोग

सबैभन्दा धेरै भेन्टिलेटर यूएईले दिएको छ । उसले १५० थान बाइप्याप उपलब्ध गराएको छ । बेलायतले १३० बाइप्याप उपलब्ध गराउँदा सिंगापुरस्थित टेमासेक प्राइड पीटीई लिमिटेड र एफएचआई थ्रीसिक्टीले ५०/५० थान दिएको छ । मंगलबार मात्रै जर्मनीले ६२ थान भेन्टिलेटर सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालस्थित स्वीस दूतावासले ४०, सिंगापुरस्थित टेमासेक प्राइड पीटीई लिमिटेडले २०, स्पेनले १५, फ्रान्सले १४, तिब्बत सानटोङ चाइनाले ५ र वान हर्ट वर्ल्डवाइडले १ थान भेन्टिलेटर सहयोग गरेको मन्त्रालयले जनाएको छ ।

१,७१० अक्सिजन कन्सन्ट्रेटर सहयोग

पछिल्लो समय अक्सिजन अभावमा बिरामीको मृत्यु भएपछि अक्सिजन कन्सन्ट्रेटर पनि सहयोगमा आएको छ ।

टीजेड्यू सीएचआई फाउन्डेसन ७६५, वान हर्ट वर्ल्डवाइडले ३५०, जापानले १६०, डाइरेक्ट रिलिफले १२९, युनिसेफले १००, आईएमई फाउन्डेसनले ६०, थाइल्याण्डले ५४, करुणा फाउन्डेसनले ३५, नेपालस्थित स्वीस दूतावास, एनसेल, स्पेन, बेलायत, तिब्बत सानटोङ चीनले १०/१० र एनआरएनए ओमनले ७ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको मन्त्रालयले जनाएको छ ।

करीब साढे ६ हजार अक्सिजन सिलिण्डर सहयोग

पछिल्लो समय अक्सिजन सिलिण्डर पनि सहयोगमा आएको छ । नेपाललाई अहिलेसम्म ६ हजार २४५ थान अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

चीन सरकारले २ हजार, चाइना कल्चर मेडिकल ग्रुपले १ हजार ५००, एफएचआई थ्रीसिक्टीले १ हजार, तिब्बत सानटोङ चाइनाले ८००, एनआरएनए ओमनले ५६०, वर्ल्ड भिजन इन्टरनेशनलले १००, कन्फिडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज (सीएनआई)ले ८५ र स्पेनले ५० थान अक्सिजन सिलिण्डर उपब्ध गराएको मन्त्रालयले जनाएको छ ।

यसैगरी तिब्बत अटोनोमस रिजनले १५० थान लिक्विड अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

झण्डै साढे १२ लाख एन्टिजेन सहयोग

 

कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि पीसीआरसँगै एन्टिजेन परीक्षण पनि अगाडि बढाइएको छ । पछिल्लो समय दैनिक ५ हजार हाराहारीमा एन्टिजेन परीक्षण हुन्छ ।

मन्त्रालयका अनुसार विभिन्न देश तथा संस्थाबाट १२ लाख ४५ हजार २५ एन्टिजेन किट सहयोग प्राप्त भएको छ । नेपालस्थित स्वीस दूतावासले ११ लाख, स्पेनले १ लाख २४ हजार ८०० र फ्रान्सले २० हजार २२५ गरी कुल १२ लाख ४५ हजार २५ एन्टिजेन किट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

साढे ७ लाख बढी एन-९५ मास्क सहयोग

विभिन्न मुलुक तथा संघसस्थाले नेपाललाई एन–९५ मास्क पनि सहयोग गरेको छ । फ्रान्स, स्पेन, स्वीट्जरल्याण्ड लगायतका देशले ७ लाख ५८ हजार थान एन-९५ मास्क सहयोग गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७५ लाख २८ हजार २४० थान सर्जिकल मास्क पनि सहयोग भएको छ ।

प्राथमिकता अनुसार नै सहयोग 

स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका डा‍. उपेन्द्र ढुंगानाले मित्रराष्ट्र तथा दातृनिकायले सहयोग गरेको स्वास्थ्य सामग्री नेपालको आवश्यकता अनुसार नै आएको दाबी गर्छन् ।

सहयोग गर्न चाहने संघसंस्थाले मन्त्रालयसँग समन्वय गरेर सहयोग पठाएका कारण नेपालको आवश्यकता अनुसार नै सहयोग प्राप्त भएको उनको भनाइ छ । ‘हामीलाई आवश्यक पर्ने सहयोगको प्राथमिकता लिस्ट बनाएका छौं । सकेसम्म हाम्रो प्राथमिकतालाई मध्यनजर गरेर सहयोग गर्न भन्छौं,’ उनले भने, ‘उनीहरुले पनि आफ्नो उपलब्धतालाई नै हेरेर सहयोग गर्छन् ।’

सहयोग उपलब्ध गराउन चाहने दाताहरुलाई हाम्रो आवश्यकता के हो ? कति हो ? भन्नेबारे जानकारी गराउने गरेको उनले बताए । ‘दाताले उपलब्ध गराउने स्वास्थ्य उपकरण तथा सामग्री नेपालको सन्दर्भमा उपयुक्त नहुने खालका पनि छन्,’ उनले भने, ‘त्यस्ता सामग्री हामीले अस्वीकार पनि गरेका छौं ।’

प्राप्त स्वास्थ्य सामग्री पर्याप्त नभए पनि अहिलेको अवस्थामा महामारीसँग जुध्नका लागि उपलब्धता छ भन्दा सकिने भन्दै उनले भने, ‘तर भोलि आउने सक्ने महामारीको आंकलन गर्न नसकिने भएकोले पुग्छ भनेर भन्न सकिंदैन ।’

भ्याक्सिनलाई प्राथमिकतामा राख्न अनुरोध

नेपालको प्राथमिकता अनुसार सहयोग प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । ‘अहिलेको माग अनुसार आवश्यक स्वास्थ्य उपकरण तथा सामग्रीको विवरण पनि परिवर्तन गरेका छौं,’ उनले भने, ‘दातालाई अहिलेको आवश्यकता अनुसार नै सहयोग गर्न अनुरोध गरेका छौं ।’

भ्याक्सिनसहित भेन्टिलेटर, आईसीयू बेड, अक्सिजन कन्सन्ट्रेटर, पीसीआर र एन्टिजेटन किटलाई प्राथमिकता राखेर सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

कोभिड-१९ विरुद्ध सहयोग गर्न चाहेमा मुख्यतः भ्याक्सिनलाई प्राथमिकता दिन भनेको उनले बताए । कोरोनासँग जुध्नका लागि निरन्तर सहयोग प्राप्त भइरहेको भन्दै अब सहयोग गर्दा भेन्टिलेटरलाई प्राथमिकतामा राख्न स्वास्थ्य मन्त्रालयले मित्रराष्ट्र तथा दातृ निकायलाई अनुरोध गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment