Comments Add Comment

सरकारी सहुलियत पसलमा पनि निषेधाज्ञा

२५ जेठ, काठमाडौं । निषेधाज्ञामा उपभोक्तालाई सहुलियत दिन साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सुरु गरेको खाद्यान्न बिक्री मंगलबारदेखि प्रभावित भएको छ ।

निषेधाज्ञाको समयमा सर्वसाधारणको पसल बन्द रहेको र घरबाहिर निस्कन प्रतिबन्ध रहेका बेला सरकारी उपभोग्य सामग्री बिक्रेताले धमाधम सामान बिक्री गरेको भन्दै विरोध भएको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले साल्ट ट्रेडिङलाई पनि निषेधाज्ञा पालना गर्न आग्रह गरेको थियो । ‘निषेधाज्ञा उल्लघंन भएको भन्दै जिल्ला प्रशासनबाट बिहान मात्रै खाद्यन्न बिक्री गर्न दबाब आयो आजबाट बिहान ७ देखि ९ बजेसम्म मात्रै सेवा दिएका छौं,’ साल्ट ट्रेडिङका एक उच्च अधिकारीले भने ।

तीन दिनसम्म दिउँसो १० देखि ३ बजेसम्म खाद्य सामग्री बिक्री गरेको साल्ट ट्रेडिङले मंगलबारदेखि भने विहान २ घण्टामात्र बिक्री गरिरहेको छ । पहिले दैनिक ७ सय जनाले किनमेल गरेकामा मंगलार १५० जनाले मात्र किनमेल गरे ।

‘भिड बढेको भन्दै बिक्री केन्द्र नजिकका स्थानीयले जिल्ला प्रशासनमा उजुरी गरेपछि प्रशासनले हामीलाई बिहान मात्रै खाद्यन्न बिक्री गर्न दबाब दियो, हामीले अर्थ र वाणिज्य मन्त्रालयलाई जानकारी गराएर मंगलबारबाट दुई घण्टा मात्रै सेवा सञ्चालन गरेका छौं,’ साल्ट ट्रेडिङका ती अधिकारीले भने ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले निषेधाज्ञा सबैले पालना गर्नुपर्ने बताए । ‘अनियन्त्रित भिड भयो भन्ने गुनासोपछि हामीले निषेधाज्ञा पालना गर्नुस् भनेका हौं, कति घण्टा सेवा दिने भन्ने कुरा उहाँहरुको हो,’ अधिकारीले भने ।

बजेटमार्फत सरकारले निषेधाज्ञा अवधिभरि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खाद्यवस्तुमा २० प्रतिशत छुट घोषणा गरेको थियो । शुक्रबारदेखि दुवै कम्पनीले पाँच जनाको परिवारका लागि दिइने खाद्य सामाग्री र खाना पकाउने ग्यासमा छुट कार्यान्वयनमा ल्याएका थिए ।

साल्ट ट्रेडिङले बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनी ६३ रुपैयाँ २० पैसामा, खाना पकाउने ग्यास ११ सय २० र पिठो प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गरेको छ । त्यस्तै नुन प्रतिप्याकेट १६ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment