Comments Add Comment

युरोकप २०२० का १० विशेषता

२६ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलपछिको सबैभन्दा चर्चित फुटबल प्रतियोगिता युरोपियन च्याम्पियनसिप अर्थात युरोकप २०२० यही जुन ११ देखि सुरु हुँदैछ ।

मिनी विश्वकप समेत भनिने युरोकपको यो १६औं संस्करण हो । युरोकपको ६० वर्षको अवसर पारेर यस पटक युरोकप विभिन्न ११ देशमा आयोजना हुँदैछ ।

उद्घाटन खेल इटली र टर्कीबीच इटलीको रोममा शुक्रबार हुनेछ भने फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ ।

कोरोनाका कारण प्रतियोगिता एक वर्षपछि

युरोकप २०२० मै तय गरिए पनि विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले एक वर्ष पछि सरेको छ । टोकियो ओलम्पिक, कोपा अमेरिका जस्ता ठूला प्रतियोगिता पनि एक वर्ष पछि सरेका थिए ।

त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो ।

सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय गरिएकोमा कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो । एक वर्षपछि सरे पनि प्रतियोगिताको नाम भने यूईएफए युरो २०२० नै रहने युरोपियन फुटबल महासंघ यूईएफले निर्णय गरेको हो ।

पहिलो पटक ११ देशमा हुँदै

यसअघि युरोकप एक देशले वा एकभन्दा बढी देशले संयुक्त रुपमा मिलेर आयोजना गरेका थिए । तर यसपटक भने युरोपका ११ देशमा युरोकप हुँदैछ ।

पहिलो पटक युरोकप एकभन्दा धेरै देशमा हुन लागेको हो । युरोकपको ६०औं वर्षगाँठको अवसरमा युरोकप २०२० विभिन्न ११ देशको ११ शहरमा आयोजना हुँदैछ ।

अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा तीन १२ पटक एकै देशले युरो आयोजना गरेको छ भने तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए ।

युरोकप २०२० मा भने ११ देशको ११ शहर आयोजकको रुपमा रहेको छ । हुन त यसअघि एउटा मात्र देशले आयोजना गर्दा त्यो देशको ११–१२ वटा रंगशालामा खेल हुने गरेको थियो । यसपटक देश फरक भए पनि ११ वटै रंगशालामा खेल हुनेछ ।

दोस्रो पटक २४ टिम

युरोकपको ६० वर्षे इतिहासमा दोस्रो पटक २४ वटा राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सन् १९६० को पहिलो संस्करणदेखि पाँचौ संस्करणसम्म युरोकप चार टिमबीच खेलाइएको थियो । १९८० को छैटौ संस्करणदेखि टिम संख्या बढाएर आठ पुर्‍याइयो । १९९६ को दशौं संस्करणदेखि पुनः बढाएर १६ टिम पुर्‍याइएको थियो ।

पाँच वर्षअघि फ्रान्समा भएको १५औं संस्करणमा पहिलो पटक टिम २४ पुर्‍याइएको थियो ।

हरेक टिममा २६ खेलाडी

युरोकप २०२० फुटबल प्रतियोगितामा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । यूईएफएको एक्जुकेटिभ कमिटीले टिममा २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो । महामारीका कारण खेलाडी र क्लबको लोड कम गर्न यस्तो निर्णय गरिएको हो ।

यद्यपि हरेक म्याचमा बढीमा एक टिमको २३ खेलाडी मात्र राख्न पाइनेछ । प्लेइङ ११ बाहेक १२ जना सब्स्टिट्युट खेलाडी बेन्चमा बस्न पाउनेछन् ।

५ खेलाडी सब्सिच्युट

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफले गत मार्चमा युरोकपमा ५ खेलाडी सब्सिच्युट गर्न पाउने प्रावधान बनाएको छ । यूईएफए एक्जुकेटिभ कमिटीले आईएफएबी ल अफ दि गेमा राखेको ल ३ अनुसार नै युरोकपमा पनि सहभागी टिमहरुले ५ खेलाडी एक खेलमा परिवर्तन गर्न पाउनेछन् ।

फिनल्याण्ड र नर्थ मेसेडोनिया डेब्यु गर्दै

युरोकपमा यसपटक फिनल्याण्ड र नर्थ मेसेडोनियाले डेब्यु गर्दैछन् । फिनल्याण्ड इटली रहेको समूह जे बाट दोस्रो हुँदै सिधै छनोट भएको हो भने नर्थ मेसेडोनिया प्लेअफ हुँदै छनोट हुन सफल भएको हो ।

यसैगरी यसपटक ५ टिमले युरोकपमा पुनरागमन गरेका छन् । दुई पूर्व विजेता नेदरल्याण्ड्स र डेनमार्कले एक संस्करणपछि नै पुनरागमन गरेका छन् । दुवै टिम २०१६ मा छनोट हुन असफल भएका थिए ।

यस्तै स्कटल्याण्ड २५ वर्षपछि पहिलो पटक युरोकपमा छनोट भएको छ । उसले सन् १९९६ मा युरोकप खेलेको थियो ।

सन् २०१६ मा पाँच राष्ट्रले डेब्यु गरेकोमा वेल्स र स्लोभाकिया यस पटक पनि छनोट भएका छन् । त्यतिखेर डेब्यु गरेका अल्वानिया आइसल्याण्ड र उत्तरी आयरल्याण्ड यो पटक छनोट हुन सकेनन् । यस्तै पछिल्लो संस्करण खेलेका आयरल्याण्ड र रोमानिया पनि यस पटक छनोट हुन सकेनन् ।

छनोटमा बेल्जियम र इटलीको शतप्रतिशत जित

युरोकप २०२० को छनोटमा बेल्जियम र इटलीले शतप्रतिशत जित हात पारेका थिए । दुवै टिमले आफ्नो समूहमा समान १० खेल जितेका थिए ।

त्यसक्रममा समूह आई मा बेल्जियमले ४० गोल गर्दा जम्मा ३ गोल मात्र बेहोर्‍यो । यस्तै समूह जे मा रहेको इटलीले ३७ गोल गर्दै ४ गोल बेहोरेको थियो ।

छनोटमा बेल्जियमका रोमेलु लुकाकुले ७ गोल गरेका थिए भने इटलीका आन्द्रे बालोट्टीले ४ गोल गरेका थिए ।

ग्रीसबाहेक सबै पूर्वविजेता छनोट

नेदरल्याण्ड र डेनमार्क छनोट चरण पार गरेपछि यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन् । सन् २००४ को विजेता ग्रीस मात्र छनोट हुन असफल रह्यो ।

सर्वाधिक ३–३ पटकका विजेता जर्मनी र स्पेनसँगै दुई पटकको विजेता फ्रान्स तथा एक–एक पटक उपाधि जितेका इटली, नेदरल्याण्ड्स, डेनमार्क र पोर्चुगल छनोट भएका छन् । पोर्गुचल साविक विजेता हो ।

यस्तै यसअघि एक–एक पटक उपाधि जितेका सोभियत संघ र चेकोस्लोभाकिया भने अहिले विभिन्न राष्ट्रमा विभाजित भइसकेका छन् ।

वेम्बलीमा ८ खेल

युरोकप २०२० को सबैभन्दा धेरै खेल बेलायतको लण्डनस्थित वेम्बली रंगशालामा हुनेछ । जहाँ सेमिफाइल र फाइनलसहित ८ खेल हुनेछ । वेम्बलीमा समूह चरणमा इङ्ल्याण्डले खेल्ने तीन खेल हुनेछ । यस्तै प्रिक्वाटरफाइनलको दुई, सेमिफाइनलको दुई र फाइनल खेल पनि वेम्बलीमा हुनेछ ।

सर्वाधिक १३ औं पटक खेल्दै जर्मनी

सबैभन्दा धेरै युरोकप खेल्ने राष्ट्र जर्मनी हो । स्पेनसँगै सर्वाधिक ३ पटक उपाधि जितेको जर्मनीले यसअघि १२ संस्करण खेलिसकेको छ । यसपटक जर्मनीको १३औं सहभागिता हुनेछ ।

सुरुका तीन संस्करण नखेलेको जर्मनीले सन् १९७२ देखि निरन्तर रुपमा प्रतियोगितामा भाग लिइरहेको छ । जर्मनीले सर्वाधिक ६ पटक फाइनल समेत खेलेको छ । जसमा तीन पटक उपाधि जित्दा तीन पटक उपविजेता बनेको थियो ।

यो पनि पढ्नुहोस यस्तो छ युरोकपको समूह विभाजन र खेलतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment