Comments Add Comment

तीज गीतमा कोरोनाको असरः ‘पर्ख र हेर’को अवस्थामा गायक–गायिका

कोरोना महामारी हुँदैनथ्यो भने यतिबेला लोकदोहोरी कलाकारहरुलाई तीज गीतको तयारीले भ्याइनभ्याई हुन्थ्यो । रेकर्डिङ स्टुडियोमा धमाधम तीज गीत रेकर्ड भईरहेका हुन्थे । तीज गीतका म्युजिक भिडियोको धमाधम छायांकन भैरहेका हुन्थे । जेठको सुरुवातदेखि सुरु हुने तीज गीतको रेकडिङले कलाकारलाई व्यस्त बनाउथ्यो । असार लागेसँगै तीज गीत सार्वजनिक गर्ने दौडमा कलाकार लागेको पाइन्थ्यो ।

हुन त गतवर्ष पनि तीज गीत ल्याउने वा नल्याउने भन्नेमा गायक–गायिकाहरुमा अन्योलता थियो । लकडाउन खुकुलो भएसँगै गायक–गायिकाहरुले तीज गीत तयार गरेर सार्वजनिक गरेका थिए । तर, तीज गीतमा अघिल्ला बर्षमा हुने जस्तो लगानी गतबर्ष हुन सकेन । विशेषगरि, स्टेज कार्यक्रम नै नहुने भएपछि कलाकारहरुले तीज गीत सार्वजनिक गर्न खासै जागर देखाएनन् । केही कलाकारले निरन्तरताका लागि मात्र तीज गीत सार्वजनिक गरे ।

यसवर्ष पनि अवस्था उस्तै छ । कोरोना भाइरसको दोस्रो लहरका कारण निषेधाज्ञा लागेकै डेढ महिना पुग्न थालेको छ । यस्तो परिस्थितिमा यसवर्ष गायक–गायिकाहरुको तीज गीतको तयारी के छ ? यसवर्ष तीज गीत सार्वजनिक होलान् त ?

तीज गीतका गायक–गायिकाहरु अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताउँछन् । कोहीले तीज गीत रेकर्डिङ गरेर छायांकनका लागि तयारी अवस्थामा राखेका छन् भने कोही रेकर्डिङका लागि सहज अवस्था पर्खिरहेका छन् । अधिकांश गायक–गायिकाहरु अहिले आफूहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउँछन् ।

गायक पशुपति शर्माले हरेक वर्ष तीज गीत ल्याउँदै आएका छन् । अवस्था सामान्य हुन्थ्यो भने यतिबेला उनी तीज गीतकै रेकर्डिङ र छायांकनमा व्यस्त हुन्थे । तर, यतिबेला उनी गृहजिल्ला स्याङ्जामा छन् । अहिले आफूले तीज गीतबारे केही तयारी नगरेको उनी बताउँछन् ।

‘अवस्था सहज भयो र काठमाडौं आउने वातावरण मिल्यो भने एक–दुईवटा गीत बजारमा आउलान् । तर, केही योजना र तयारी भने गरेको छैन’ उनले अनलाइनखबसँग भने, ‘अहिले के हुन्छ भन्नै सक्ने अवस्था छैन । हेरौ, परिस्थिति कस्तो हुन्छ ।’

हरेक वर्ष दर्जन बढी तीज गीत ल्याउँदै आएका पशुपतिले गतवर्ष कोरोना महामारीका कारण तीन वटामात्र तीज गीत रेकर्ड गराएका थिए । गतवर्ष अन्योलताका बाबजुत लकडाउन खुकुलो भएसँगै तीज गीत रेकर्डिङ र छायांकन गरेर सार्वजनिक गरेका थिए उनले । त्यसरी हतार–हतारमा काम गरेका कारण गीतलाई लिएर आफूमा आत्मसन्तुष्टी भने हुन नसकेको उनले बताए । ‘गतवर्ष हतार हतारमा गीत ल्याएँ, भनेजस्तो भएन । आफूलाई आत्मसन्तुष्टी पनि भएन, उनले अगाडि भने, ‘रेकर्डिङ गरेर मात्र पनि भएर, खुलेर कन्सेप्ट अनुसार भिडियो निर्माण गर्ने वातावरण पनि हुनुपर्यो । हतारमा ल्याउनु भन्दा यसवर्ष तीज गीत नल्याएर अर्को वर्ष ल्याउने कि भन्ने पनि सोच पनि आएको छ । फेरि, निरन्तरताका लागि भएपनि एक–दुईवटा तीज गीत त ल्याउनुपर्छ भन्ने पनि मनमा आउँछ, हेरौं ।’

राधिका हमाल धेरै तीज गीत गाउने गायिकामा पर्छिन् । कुनै समय वर्षमा ५३ वटासम्म तीज गीत गाएकी छिन् उनले । गतवर्ष अन्योलकैविच उनले एक दर्जन बढी तीज गीत गाएकी थिइन् । यसवर्ष अहिलेसम्म तीन वटा तीज गीत रेकर्डिङ गरेको राधिकाले बताइन् । आफ्नै रेकर्डिङ स्टुडियो भएकाले पनि केही सहज भएको उनले बताइन् ।
‘अवस्था सहज भए त धेरै गीतहरु रेकर्ड हुन्थे । यसवर्ष परिस्थिति विषम छ । तर, हरेक वर्ष गाउँदै आएकाले निरन्तरताका लागि पनि नगाई त मनले मान्दैन’ राधिकाले भनिन्, ‘असारबाट अलिकति खुकुलो हुने अपेक्षा छ । खुकुलो भयो भने सामान्य तरिकाले छायांकन गरेर भिडियो सार्वजनिक हुन्छ ।’

सहज नभए फोटोहरु राखेर तीजको अडियो गीतमात्र भएपनि सार्वजनिक हुनसक्ने राधिकाले बताइन् । यद्यपी अवस्था सहज हुने विश्वासमा आफू रहेको उनले बताइन् ।
सोही विश्वासका साथ अन्य धेरै गायक–गायिकाहरुले तीज गीत रेकर्डिङ गरेको उनले बताइन् । उनका अनुसार अवस्था सहज भएपछि छायांकन गर्ने सोचले धेरैले अडियो तयार गरेर राखेका छन् ।

गायक खुमन अधिकारी अहिले आफू तीज गीतका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउँछन् । उनले दुईवटा तीज गीत रेकर्डिङका लागि तयार गरेका छन् । यद्यपी अवस्था सहज नभएकाले रेकर्डिङ गरेका छैनन् ।

‘असारबाट निषेधाज्ञा खुकुलो हुने कुरा आईरहेको छ । निषेधाज्ञा खुकुलो भयो र रेकर्डिङ–छायांकनका लागि सहज भयो भने त गीतहरु धेरै नै गाउँछु होला’ खुमनले भने, ‘नत्र निरन्तरताका लागि भएपनि सुरक्षा सावधानी अपनाएर रेकर्डिङ गर्ने, सामान्य तरिकाले छायांकन गरेर एक–दुईवटा तीज गीतहरु ल्याउने सोचेको छु ।’

सामान्य अवस्थामा तीज गीतमा निकै व्यस्त हुने गायक हुन्, खुमन । उनका गीतलाई स्रोता एवं दर्शकले रुचाउँदै आएका छन् । कोरोना महामारीका कारण गतवर्ष भने उनले अन्य वर्षजस्तो धेरै तीज गीत गाउन पाएनन् । लकडाउन खुकुलो भएसँगै ८ वटा तीज गीत गाएका थिए । ‘गतवर्ष पनि अन्योल थियो । पछि सहज भएपछि रेकर्डिङ र छायांकन गरेका थियौं । यसवर्ष के हुन्छ हेरौं ! सहज वातावरणको पर्खाईमा छु’– खुमनले सुनाए ।

गायिका शान्तिश्री परियारले बैशाखमै एउटा तीज गीत रेकर्डिङ गरिन् । त्यो बाहेक यसवर्ष आफ्नो अन्य तीज गीत रेकर्डिङ नभएको शान्तिश्रीले बताइन् ।

उनले भनिन्, ‘गतवर्ष अन्योलकाबीच एक दर्जन बढी तीज गीत गाएकी थिएँ । अहिले परिस्थिति विषम छ । अहिलेसम्म त्यसरी तीज गीत रेकर्डिङको माहोल बनिसकेको छैन ।’ शान्तिश्रीले अहिलेको अवस्थामा केही भन्न सक्ने अवस्था नरहेको बताउँछिन् ।

‘गतवर्ष कोरोना पहिलोचोटी थियो । सुरुमा अन्योल भएपनि अवस्था सहज भएपछि धेरैले तीज गीतमा लगानी गर्नुभयो । हरेक वर्ष त्यसरी खर्च व्यवस्थापन गर्न पनि गाह्रो होला । यसवर्ष के हुन्छ केही भन्न सक्ने अवस्था छैन’ उनले भनिन् । यद्यपी अब विस्तारै रेकर्डिङ र छायांकनका लागि सहज वातावरण बन्नेमा आशावादी रहेको उनले सुनाइन् ।

तीजमा बर्षेनी ३ करोड भन्दा बढी लगानी हुने गरेको छ । तीजका गीतहरु हिट भएको खण्डमा कलाकारले स्टेज कार्यक्रम पनि प्रशस्त पाउँछन् । तर, यसबर्ष पनि तीजको समयमा स्टेजमा कलाकार व्यस्त हुने अवस्था सिर्जना हुने देखिदैन । यसैले, धेरै कलाकार यसबर्ष पनि तीजमा निरन्तरताका लागि मात्र काम गर्ने मुडमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment