Comments Add Comment

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण

२६ जेठ, गोरखा । सम्भव नेपाल संस्थाले गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको छ । गोरखा नगरपालिकासहित भीमसेन थापा, शहीद लखन, धार्चे र गण्डकी गाउँपालिकालाई संस्थाले एम्बुलेन्स सहयोग गरेको हो ।

बुधबार गोरखा नगरपालिकामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम खत्रीले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई एम्बुलेन्स हस्तान्तरण गरे । कोरोना संक्रमितका साथै अन्य बिरामीलाई अस्पतालमा लैजान र ल्याउन सहयोग पुग्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरिएको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए । उनका अनुसार गोरखा नगरपालिकालाई दुई वटा र अन्य पालिकालाई एक/एक वटा एम्बुलेन्स प्रदान गरिएको छ ।

‘जिल्लाका ११ स्थानीय तहमध्ये १० वटालाई दिने भन्ने हाम्रो लक्ष्य थियो,’ उनले भने, ‘तर अन्य स्थानीय तहहरुले चासो देखाउनु भएन ।’ एम्बुलेन्समा आवश्यक सबै उपकरण र स्वास्थ्य सामग्री जडान गरिएको उनले जानकारी दिए । संस्थाले एम्बुलेन्ससँगै आवश्यक स्वास्थ्य सामग्री पनि वितरण गरेको छ । अक्सिजन सिलिण्डर ६ थान, ५० हजार थान मास्क, सेनिटाइजर ८०० लिटर, पीपीई सेट ३० थान, स्टेचर ६ थान, भीटीएम १ हजार २०० थान, अक्सिमिटर एक सय थान र प्रत्येक एम्बुलेन्सका लागि नोजल र रेगुलेटर १÷१ थान वितरण गरिएको खत्रीले बताए । त्यस्तै ६०० थान एन्टिजेन किट, स्प्रेगन ३० थान र ६ थान थर्म गन, मास्क लगायतका स्वास्थ्य सामग्री पनि वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सहयोगस्वरुप प्राप्त एम्बुलेन्सले ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्थासम्म लैजान निःशुल्क सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment