Comments Add Comment

के हो बालबालिकामा देखिएको मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम ?

काठमाडौं । ललितपुरको एक परिवारका सबै सदस्यलाई वैशाख तेस्रो साता कोरोना संक्रमण पुष्टि भयो । १४ दिन होम आइसोलेसनमा बसे, तीन वर्षको छोरासहित सबै संक्रमण मुक्त भए ।

जेठको दोस्रो साता बच्चालाई हल्का ज्वरो आयो । ज्वरो सामान्य बेलामा भन्दा फरक भएकाले यसअघि पनि देखाइरहेका चिकित्सकलाई फोन गरे । डाक्टरले भने, ‘भाइरल हुनसक्छ, पारासिटामोल खुवाउनुस् ।’ पारासिटामोलले ज्वरो घटेन, बरु १०३ सम्म पुग्यो । औषधि खाएको केहीबेर ज्वरो घटे जस्तो हुन्थ्यो, फेरि आउँथ्यो ।

१५ जेठको विहान बालरोग विशेषज्ञ डाक्टर अरुण शर्मा कहाँ पुगे । त्यो दिन बच्चाको आँखा रातो हुनुका साथै जिब्रोमा खटिरा आएको थियो । ओठ पनि अरुबेला भन्दा भिन्न देखिएको थियो । डा. शर्माले पोष्ट कोभिड इन्फेक्सनको आशंका गर्दै परीक्षणहरु गराए ।

मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हो ।

साँझ रिपोर्टले पनि त्यही संकेत गरेपछि उनीहरु भोलिपल्ट त्रिवि शिक्षण अस्पताल भर्ना भए । बच्चालाई पीआईसीयूमा भर्ना गरे । मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) को संक्रमण भएको पत्ता लगाएपछि चिकित्सकहरुले उपचार सुरु गरे । केही दिनको उपचारपछि बच्चा ठीक भएका छन् । मुटुको तीन वटा नसा फुलेको थियो, २ वटा ठीक भएको छ, अर्को रिकभरीको चरणमा छ ।

त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डाक्टर शर्माका अनुसार अहिलेसम्म करिब आधादर्जन बालबालिकामा यो संक्रमण भएर अस्पताल आएका छन् । अस्पतालमा भर्ना भएका बालबालिकामा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, वान्ता गर्ने, पखला हुने, शरीरमा डाबर आउने, प्रेसर लो हुने लगायतका समस्या देखिएका थिए ।

अस्पतालमा भर्ना भएकामध्ये एकजना उपचाररत छन् भने अरु निको भएर घर फर्किएका छन् । उनका अनुसार बालबालिकामा देखा पर्ने फरक खालको यो संक्रमणको उपचारमा इन्टरभेनस इम्यूनोग्लोबुलिन, स्टेरोइड र अन्य एन्टि–इन्फ्लेमेटरी औषधि प्रयोग हुन्छ ।

लगातार तीन दिनदेखि ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, वान्ता वा पखाला हुने, रक्त नली सुनिने, आँखा रातो हुने, सास फेर्न गाह्रो हुने, प्रेसर लो हुने, ओठ रातो हुने र फुट्ने जस्ता लक्षण देखा परे तत्काल चिकित्सक कहाँ गएर उपचार गराउन उनले आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कान्तिबाल अस्पतालमा उपचारका लागि आएका बालबालिकामा एमआईएस–सीका समस्या देखिएको रिपोर्ट आएको बताए । यो रोगबाट बालबालिकालाई जोगाउनका लागि अभिभावकलाई सचेतना अपनाउन मन्त्रालयले आग्रह गरिसकेको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार कोरोनाको पहिलो लहरमा पनि केही बालबालिकामा यो रोग देखिएको थियो । दोस्रो लहरमा केहीमा देखिएको रिपोर्ट अस्पतालहरुबाट आएको छ । एमआईएस–सीको समस्या भएका बालबालिकामा शरीरको विभिन्न अंगमा समस्या देखिने भएकाले कोरोना संक्रमण भइसकेका अभिभावक बढी चनाखो हुनुपर्ने उनको सुझाव छ ।

के हो एमआईएस–सी ?

मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हो ।

जोन्स हप्किन्स चिल्ड्रेन सेन्टरका बाल संक्रामक रोगका विशेषज्ञ डाक्टर क्वांग सिक किमका अनुसार एमआईएस–सी (पीआईएमएस) ‘टक्सिक शक सिन्ड्रोम’, ‘कावसकी’सँग मिल्दोजुल्दो संक्रमण हो ।

यो सामान्यतया कोरोना संक्रमित भएको दुईदेखि ४ हप्तापछि देखा पर्ने हुन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार निकै कम मानिसमा देखिने यो रोग खतरानाक पनि हुन सक्छ । अप्रिल २०२० मा अमेरिका र बेलायतका अस्पतालमा उपचाररत बालबालिकामा मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएस–सी) देखिएको थियो । यस्तो अवस्थालाई पेडियट्रिक इन्फ्लेमेटरी मल्टिसिस्टम सिन्ड्रोम (पीआईएमएस) पनि भनिन्छ ।

त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. शर्मा कोरोना संक्रमण नभएका बालबालिकामा पनि यो संक्रमण हुनसक्ने बताउँछन् । एमआईसी–सीको समस्या देखा परेका बालबालिकामा कोरोनाको जस्तो लक्षण देखा पर्छ नै भन्ने नरहेको डा. शर्मा बताउँछन् ।

अभिभावकले जान्ने पर्ने कुरा

जोन्स हप्किन्स चिल्ड्रेन सेन्टरका बाल संक्रामक रोगका विशेषज्ञ डाक्टर क्वांग सिक किमका अनुसार एमआईएस–सी (पीआईएमएस) ‘टक्सिक शक सिन्ड्रोम’, ‘कावसकी’सँग मिल्दोजुल्दो संक्रमण हो ।

जसले बालबालिकाको शरीरभर रहेका रक्तनलीहरु सुन्निन थाल्छन् । टक्सिक शक सिन्ड्रोम लक्षणहरुको संयुक्त रुप हो, जसमा शरीरको धेरै प्रणालीमा समावेश हुन्छ । केही ब्याक्टेरियाको संक्रमणले रक्तप्रवाहमा विषाक्त पदार्थहरु छोड्छन्, जुन हाम्रो शरीरका अंगहरुमा फैलिन्छ । यसले गम्भीर क्षति र रोग निम्त्याउन सक्छ । ‘रक्तनली सुन्निएसँगै यसले रक्तप्रवाह सीमित गर्न सक्छ, जसको असर मुटु, मिर्गौला र अन्य अंगमा पर्छ,’ डा किमले भने, ‘यो लक्षण कोरोना भाइरस (सार्स–कोभ–२) विरुद्ध हाम्रो शरीरले देखाउने प्रतिक्रियाको कारण उत्पन्न भएको हुनसक्छ ।’

के हो लक्षण ?

  • तीन दिनसम्म लगातार ज्वरो आउने
  • कमजोरी वा थकान महसुस हुने
  • शरीरमा रातो डाबर देखिने
  • पेट दुख्ने
  • घाँटी दुख्ने
  • वान्ता वा पखाला लाग्ने
  • छाला, ओठ वा नङ निलो हुने
  • आँखा रातो हुने
  •  हातखुट्टा सुनिन्ने

कोरोना संक्रमित वा संक्रमितको सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म लगातार ज्वरो आएमा र माथि उल्लेखितमध्ये कुनै दुई वटा लक्षण देखा परेमा तत्काल अस्पताल लैजान स्वास्थ्य मन्त्रालयले अभिभावकहरुलाई सुझाव दिएको छ ।

यो लक्षण हालैमात्र पत्ता लगेकाले विस्तृत जानकारी भने आएको छैन । थप अध्ययनको जरुरी रहेको वैज्ञानिकहरु बताउँछन् । तर कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको मन्त्रालयले जनाएको छ ।

बालबालिकामा यस्तो समस्या आउन नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउन मन्त्रालयले अभिभावकलाई सुझाव दिएको छ ।

अहिलेसम्मको अनुसन्धानमा के देखियो ?

  • एमआईएस–सी धेरै दुर्लभ मात्र होइन, खतरनाक पनि हुन सक्छ । बालबालिकामा यसको लक्षण देखिन साथ चिकित्सकलाई देखाउनु पर्ने हुन्छ ।
  • नयाँ कोरोना भाइरस संक्रमण भएको चार साताभित्र यो लक्षण देखिन सक्छ ।
  • एमआईएस–सीबाट २–१५ वर्ष उमेर समूहका बालबालिका बढी प्रभावित बनेका छन् ।
  • एमआईएस–सीको उपचार सम्भव छ । औषधिको प्रयोगले विशेष गरी मुटुलगायत संवेदनशील अंगमा क्षति हुनबाट बचाउँछ ।

एमआईएस–सीको उपचार

किमका अनुसार इन्टरभेनस इम्यूनोग्लोबुलिन, स्टेरोइड र अन्य एन्टि–इन्फ्लेमेटरी औषधि प्रयोग गरेर यसको उपचार गर्न सकिन्छ ।

औषधिको प्रयोगले विशेषगरी मुटु, मिर्गौला र शरीरको अन्य विशेष अंगलाई पुर्‍याउन सक्ने क्षतिबाट जोगाउँछ । नेपालमा चिकित्सकहरुले २०२० मा पत्ता लागेको जापनिज ‘कावसकी’को उपचारमा प्रयोग हुने औषधि चलाउँछन् । केही महंगो भए पनि यसको उपचार नेपालमा हुन्छ ।

एमआईएस–सी र कोभिड–१९ बीच के छ सम्बन्ध ?

चिकित्सकहरुले एमआईएस–सी र कोभिड–१९ बीच सम्बन्ध छ कि छैन भन्नेबारे अध्ययन गरिरहेका छन् । तर अझै धेरै प्रश्नको उत्तर आइसकेको छैन ।

सीडीसीले एमआईएस–सी भाइरससँग सम्बन्धित रहेको बताइसकेको छ । तर श्वासप्रश्वासमा समस्या वा खोकीजस्ता कोरोनाको कुनै लक्षण नदेखिएका बालबालिकामा पनि देखिएको छ ।

यो पनि पढ्नुहोस कस्तो छ बालबालिकालाई कोरोनाबाट बचाउने तयारी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment