+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

के हो बालबालिकामा देखिएको मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम ?

प्रेम लामा प्रेम लामा
२०७८ जेठ २६ गते २१:२५

काठमाडौं । ललितपुरको एक परिवारका सबै सदस्यलाई वैशाख तेस्रो साता कोरोना संक्रमण पुष्टि भयो । १४ दिन होम आइसोलेसनमा बसे, तीन वर्षको छोरासहित सबै संक्रमण मुक्त भए ।

जेठको दोस्रो साता बच्चालाई हल्का ज्वरो आयो । ज्वरो सामान्य बेलामा भन्दा फरक भएकाले यसअघि पनि देखाइरहेका चिकित्सकलाई फोन गरे । डाक्टरले भने, ‘भाइरल हुनसक्छ, पारासिटामोल खुवाउनुस् ।’ पारासिटामोलले ज्वरो घटेन, बरु १०३ सम्म पुग्यो । औषधि खाएको केहीबेर ज्वरो घटे जस्तो हुन्थ्यो, फेरि आउँथ्यो ।

१५ जेठको विहान बालरोग विशेषज्ञ डाक्टर अरुण शर्मा कहाँ पुगे । त्यो दिन बच्चाको आँखा रातो हुनुका साथै जिब्रोमा खटिरा आएको थियो । ओठ पनि अरुबेला भन्दा भिन्न देखिएको थियो । डा. शर्माले पोष्ट कोभिड इन्फेक्सनको आशंका गर्दै परीक्षणहरु गराए ।

मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हो ।

साँझ रिपोर्टले पनि त्यही संकेत गरेपछि उनीहरु भोलिपल्ट त्रिवि शिक्षण अस्पताल भर्ना भए । बच्चालाई पीआईसीयूमा भर्ना गरे । मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) को संक्रमण भएको पत्ता लगाएपछि चिकित्सकहरुले उपचार सुरु गरे । केही दिनको उपचारपछि बच्चा ठीक भएका छन् । मुटुको तीन वटा नसा फुलेको थियो, २ वटा ठीक भएको छ, अर्को रिकभरीको चरणमा छ ।

त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डाक्टर शर्माका अनुसार अहिलेसम्म करिब आधादर्जन बालबालिकामा यो संक्रमण भएर अस्पताल आएका छन् । अस्पतालमा भर्ना भएका बालबालिकामा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, वान्ता गर्ने, पखला हुने, शरीरमा डाबर आउने, प्रेसर लो हुने लगायतका समस्या देखिएका थिए ।

अस्पतालमा भर्ना भएकामध्ये एकजना उपचाररत छन् भने अरु निको भएर घर फर्किएका छन् । उनका अनुसार बालबालिकामा देखा पर्ने फरक खालको यो संक्रमणको उपचारमा इन्टरभेनस इम्यूनोग्लोबुलिन, स्टेरोइड र अन्य एन्टि–इन्फ्लेमेटरी औषधि प्रयोग हुन्छ ।

लगातार तीन दिनदेखि ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, वान्ता वा पखाला हुने, रक्त नली सुनिने, आँखा रातो हुने, सास फेर्न गाह्रो हुने, प्रेसर लो हुने, ओठ रातो हुने र फुट्ने जस्ता लक्षण देखा परे तत्काल चिकित्सक कहाँ गएर उपचार गराउन उनले आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कान्तिबाल अस्पतालमा उपचारका लागि आएका बालबालिकामा एमआईएस–सीका समस्या देखिएको रिपोर्ट आएको बताए । यो रोगबाट बालबालिकालाई जोगाउनका लागि अभिभावकलाई सचेतना अपनाउन मन्त्रालयले आग्रह गरिसकेको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार कोरोनाको पहिलो लहरमा पनि केही बालबालिकामा यो रोग देखिएको थियो । दोस्रो लहरमा केहीमा देखिएको रिपोर्ट अस्पतालहरुबाट आएको छ । एमआईएस–सीको समस्या भएका बालबालिकामा शरीरको विभिन्न अंगमा समस्या देखिने भएकाले कोरोना संक्रमण भइसकेका अभिभावक बढी चनाखो हुनुपर्ने उनको सुझाव छ ।

के हो एमआईएस–सी ?

मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हो ।

जोन्स हप्किन्स चिल्ड्रेन सेन्टरका बाल संक्रामक रोगका विशेषज्ञ डाक्टर क्वांग सिक किमका अनुसार एमआईएस–सी (पीआईएमएस) ‘टक्सिक शक सिन्ड्रोम’, ‘कावसकी’सँग मिल्दोजुल्दो संक्रमण हो ।

यो सामान्यतया कोरोना संक्रमित भएको दुईदेखि ४ हप्तापछि देखा पर्ने हुन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार निकै कम मानिसमा देखिने यो रोग खतरानाक पनि हुन सक्छ । अप्रिल २०२० मा अमेरिका र बेलायतका अस्पतालमा उपचाररत बालबालिकामा मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएस–सी) देखिएको थियो । यस्तो अवस्थालाई पेडियट्रिक इन्फ्लेमेटरी मल्टिसिस्टम सिन्ड्रोम (पीआईएमएस) पनि भनिन्छ ।

त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. शर्मा कोरोना संक्रमण नभएका बालबालिकामा पनि यो संक्रमण हुनसक्ने बताउँछन् । एमआईसी–सीको समस्या देखा परेका बालबालिकामा कोरोनाको जस्तो लक्षण देखा पर्छ नै भन्ने नरहेको डा. शर्मा बताउँछन् ।

अभिभावकले जान्ने पर्ने कुरा

जोन्स हप्किन्स चिल्ड्रेन सेन्टरका बाल संक्रामक रोगका विशेषज्ञ डाक्टर क्वांग सिक किमका अनुसार एमआईएस–सी (पीआईएमएस) ‘टक्सिक शक सिन्ड्रोम’, ‘कावसकी’सँग मिल्दोजुल्दो संक्रमण हो ।

जसले बालबालिकाको शरीरभर रहेका रक्तनलीहरु सुन्निन थाल्छन् । टक्सिक शक सिन्ड्रोम लक्षणहरुको संयुक्त रुप हो, जसमा शरीरको धेरै प्रणालीमा समावेश हुन्छ । केही ब्याक्टेरियाको संक्रमणले रक्तप्रवाहमा विषाक्त पदार्थहरु छोड्छन्, जुन हाम्रो शरीरका अंगहरुमा फैलिन्छ । यसले गम्भीर क्षति र रोग निम्त्याउन सक्छ । ‘रक्तनली सुन्निएसँगै यसले रक्तप्रवाह सीमित गर्न सक्छ, जसको असर मुटु, मिर्गौला र अन्य अंगमा पर्छ,’ डा किमले भने, ‘यो लक्षण कोरोना भाइरस (सार्स–कोभ–२) विरुद्ध हाम्रो शरीरले देखाउने प्रतिक्रियाको कारण उत्पन्न भएको हुनसक्छ ।’

के हो लक्षण ?

  • तीन दिनसम्म लगातार ज्वरो आउने
  • कमजोरी वा थकान महसुस हुने
  • शरीरमा रातो डाबर देखिने
  • पेट दुख्ने
  • घाँटी दुख्ने
  • वान्ता वा पखाला लाग्ने
  • छाला, ओठ वा नङ निलो हुने
  • आँखा रातो हुने
  •  हातखुट्टा सुनिन्ने

कोरोना संक्रमित वा संक्रमितको सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म लगातार ज्वरो आएमा र माथि उल्लेखितमध्ये कुनै दुई वटा लक्षण देखा परेमा तत्काल अस्पताल लैजान स्वास्थ्य मन्त्रालयले अभिभावकहरुलाई सुझाव दिएको छ ।

यो लक्षण हालैमात्र पत्ता लगेकाले विस्तृत जानकारी भने आएको छैन । थप अध्ययनको जरुरी रहेको वैज्ञानिकहरु बताउँछन् । तर कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको मन्त्रालयले जनाएको छ ।

बालबालिकामा यस्तो समस्या आउन नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउन मन्त्रालयले अभिभावकलाई सुझाव दिएको छ ।

अहिलेसम्मको अनुसन्धानमा के देखियो ?

  • एमआईएस–सी धेरै दुर्लभ मात्र होइन, खतरनाक पनि हुन सक्छ । बालबालिकामा यसको लक्षण देखिन साथ चिकित्सकलाई देखाउनु पर्ने हुन्छ ।
  • नयाँ कोरोना भाइरस संक्रमण भएको चार साताभित्र यो लक्षण देखिन सक्छ ।
  • एमआईएस–सीबाट २–१५ वर्ष उमेर समूहका बालबालिका बढी प्रभावित बनेका छन् ।
  • एमआईएस–सीको उपचार सम्भव छ । औषधिको प्रयोगले विशेष गरी मुटुलगायत संवेदनशील अंगमा क्षति हुनबाट बचाउँछ ।

एमआईएस–सीको उपचार

किमका अनुसार इन्टरभेनस इम्यूनोग्लोबुलिन, स्टेरोइड र अन्य एन्टि–इन्फ्लेमेटरी औषधि प्रयोग गरेर यसको उपचार गर्न सकिन्छ ।

औषधिको प्रयोगले विशेषगरी मुटु, मिर्गौला र शरीरको अन्य विशेष अंगलाई पुर्‍याउन सक्ने क्षतिबाट जोगाउँछ । नेपालमा चिकित्सकहरुले २०२० मा पत्ता लागेको जापनिज ‘कावसकी’को उपचारमा प्रयोग हुने औषधि चलाउँछन् । केही महंगो भए पनि यसको उपचार नेपालमा हुन्छ ।

एमआईएस–सी र कोभिड–१९ बीच के छ सम्बन्ध ?

चिकित्सकहरुले एमआईएस–सी र कोभिड–१९ बीच सम्बन्ध छ कि छैन भन्नेबारे अध्ययन गरिरहेका छन् । तर अझै धेरै प्रश्नको उत्तर आइसकेको छैन ।

सीडीसीले एमआईएस–सी भाइरससँग सम्बन्धित रहेको बताइसकेको छ । तर श्वासप्रश्वासमा समस्या वा खोकीजस्ता कोरोनाको कुनै लक्षण नदेखिएका बालबालिकामा पनि देखिएको छ ।

लेखक
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?