
२७ जेठ, काठमाडौं । रुसको मस्कोस्थित एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको राजनीतिक संगठनमाथि प्रतिबन्ध लगाएको छ । साथै उक्त संगठनलाई ‘चरमपन्थी’ भएको बताएको छ ।
यो संगठनमा काम गर्ने कुनै पनि कार्यकर्तालाई अब जेल सजाय हुन सक्छ र कोही मानिसले नाभाल्नीको राजनीतिक सञ्जालको समर्थन गरे उनीहरुलाई सार्वजनिक पदका लागि पनि प्रतिबन्धित गर्न सकिनेछ ।
अदालतको यस्तो निर्णपछि सामाजिक सञ्जालमा लेख्दै ‘पछि नहट्ने’ बताएका छन् । यद्यपि उनले आफ्ना समर्थकहरुलाई आफ्नो काम गर्ने तरिका बदल्नु आवश्यक रहेको बताएका छन् ।
अहिले नाभाल्नी जेलमा छन् । उनीमाथि धोकाधडीको मुद्दामा लगाइएको शर्त पालना नगरेको आरोप छ । यद्यपि नाभाल्नीले भने यो आरोप राजनीतिक पूर्वाग्रहको कारण लगाइएको बताएका छन् ।
रुसमा आगामी सेप्टेम्बरमा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनको मत सर्वेक्षणले सत्तारुढ दलले आफ्नो विश्वास गुमाइरहेको देखाएको छ । नाभाल्नीका केही समर्थक निर्वाचनमा भाग लिने तयारीमा छन् ।
बुधबार जारी गरिएको अदालतको आदेशमा नाभाल्नीको क्षेत्रीय सञ्जाल कार्यालय र उनको भ्रष्टाचारविरोधी संस्थालाई प्रतिबन्ध लगाइएको उल्लेख छ ।
अदालतका प्रवक्ता एलेक्सेई जावयारोफले भने, ‘उक्त संगठनले केवल सरकारी अधिकारीको विरुद्ध सूचना प्रसारित गरेर घृणा र दुश्मनी फैलाउने काम गरिरहेको पाइएको छ ।’
नाभाल्नीका वकिलले अदालतको यो आदेशविरुद्ध अपिल गर्ने बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4