Comments Add Comment

पञ्जाबलाई ४० मेगावाट बिजुली बेच्ने प्राधिकरणको प्रयास

३० जेठ, काठमाडौं । वर्षायाममा नेपालबाट भारतको पञ्जाब प्रदेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने प्रक्रिया अघि बढेको छ । मूल्यमा हुने प्रतिस्पर्धाबाट छनोट भएर नेपाल विद्युत प्राधिकरणले असार १७ देखि असोज १४सम्म (जुलाइ-सेप्टेम्बर) बिजुली बेच्न लागेको हो ।

पञ्जावको प्रदेश विद्युत् बोर्डले आह्वान गरेको टेन्डरमा नेपालले ४० मेगावाट बिजुली बेच्न प्रस्ताव गरेको थियो । प्राधिकरणले जुन, जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा विद्युत खरिद गर्न अनुमति मागे पनि पञ्जावको प्रदेश विद्युत् बोर्डले जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा विद्युत किन्न सकिने गरी प्राधिकरणको प्रस्तावलाई सूचीकृत गरेको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफूहरुले गरेको प्रस्ताव तीन महिनाका लागि कार्यान्वयन हनुसक्ने गरी कोटाभित्र परेर छनोट भएको बताउँछन् ।

तर, अझै सम्झौता भएको छैन । सम्झौता नभइन्जेल पञ्जाबको बोर्डले विद्युत नलिने निर्णय पनि गर्न सक्ने भएकाले निश्चित भइसकेको छैन,’ उनले भने । यदि प्रकिया पुरा भएर सम्झौता भएमा प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट भारतमा बिजुली पठाउनेछ ।

शाक्यका अनुसार पञ्जाबलाई समयअनुसार फरक-फरक मूल्यमा बिजुली बेच्न गरी प्रस्ताव गरिएको थियो । भारतीय रुपैयाँ ३.२५ भारतीय रुपैयाँदेखि ३.८० भारतीय रुपैयाँमा बिजुली बेच्न खोजिएको हो ।

यसअघि पनि नेपालले २५ मेगावाट बिजुली बेच्न दिल्लीस्थित डीआरपीएल नामको विद्युत् व्यापार कम्पनीले आह्वान गरेको विद्युत खरिदको प्रतिस्पर्धामा भाग लिएको थियो । तर, प्रस्तावित दर महँगो भएपछि प्राधिकरणको प्रस्ताव छनोटमा नै परेको थिएन ।

अहिले नेपालले ढल्केबर-मुजफ्फरपुर लाइनबाट ४.१८ भारतीय रुपैयाँमा बिजुली किनिरहेको छ । त्यसकै आधारमा प्रतिस्पर्धामा भाग लिँदा टेन्टर अस्वीकृत भएको थियो । सो प्रतिस्पर्धामा भारु ३ देखि ३.२५ सम्मको मूल्य प्रस्ताव गर्ने कम्पनी छनोट भएका थिए । प्राधिकरणले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लिमिटेडमार्फत  प्रतिस्पर्धामा भाग लिने गरेको छ ।

किन दबावमा छ प्राधिकरण ? 

यो वर्षायाममा लक्ष्यअनुसार नयाँ आयोजनाबाट बिजुली उत्पादन सुरु भएमा खपत भएर बढी हुने बिजुली भारतमा नबेची नहुने अवस्था छ ।

भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत खरिद गर्न अनुमति पाएपनि सोही बजारबाट नेपालको बिजुली बेच्न दिन भने भारत सरकारले अनुमति दिएको छैन ।

प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत वर्षामा भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिक्री गर्ने प्रस्ताव गरेको थियो । त्यसका लागि माग भएको आवश्यक कागजात पठाए पनि अहिलेसम्म भारत मौन छ ।

माथिल्लो तामाकोशीको केही युनिटले असारभित्रै व्यवसायिक उत्पादन थाल्ने अवस्था छ । भदौसम्ममा ५०० मेगावाट बिजुली प्रणालीमा थपिने प्राधिकरणको अनुमान छ ।

अहिले १४ सय मेगावाट जडित क्षमता छ । भदौसम्म अरु ५०० थपिएर १८ सय मेगावाट बिजुली उत्पादन हुने  प्रक्षेपण छ । रातको समयमा ९०० मेगावाट मात्रै आन्तरिक माग हुने गरेकाले भदौपछि राति ९०० मेगावाट बिजुली निर्यात गर्नुपर्ने छ ।

निर्यात हुन नसकेको बिजुली खेर फाल्नुपर्ने अवस्था आउने डर प्राधिकरणलाई छ । अघिल्लो वर्षायाम नै राति ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो । अहिले वर्षायाममा ठूलो परिमाणमा बिजुली खेर जाने चिन्ता बढेको छ ।

हिउँदयाममा खोला-नदीको सतह घट्दा भारतबाटै आएको बिजुलीले माग धान्नुपर्ने हुन्छ । वर्षायाममा भने ‘पिक आवर’बाहेकको समयमा नेपालमा उत्पादित बिजुलीले नै आन्तरिक माग धान्छ । राति भने खपत घट्ने हुनाले प्लान्ट बन्द गरेर बिजुली खेर फाल्नुपर्ने अवस्था छ ।

भारतीय एक्सचेन्ज बजारमा बिजुली निर्यात गर्न वर्षायामअघि नै अनुमति नपाए यो वर्ष गत वर्षभन्दा ठूलो मात्रामा बिजुली खेर जाने सम्भावना छ । सरकारी स्तरमा विद्युत निर्यात सम्झौता नभएकाले नेपालको खेर जाने बिजुली किन्न भारत बाध्य छैन ।

२०७६ सालको वर्षायाममा प्राधिकरणले रु. ८० करोडभन्दा बढीको बिजुली भारत पठाएको थियो । गत वर्ष कोरोना महामारी सुरु भएपछि भारतमा पनि बिजुली खपत घटेको छ ।

वर्षा लागेपछि नदीहरुमा पानीको सतहसँगै बिजुलीको उत्पादन बढ्छ । सो समयमा सबैजसो आयोजना पूर्ण क्षमता सञ्चालन हुनसक्छन् । यस्तो अवस्थामा राति खपत हुँदा आयोजनाहरु बन्द गरेर राख्नुपर्ने अवस्था आउँछ ।

मागभन्दा उत्पादन धेरै भएपछि प्राधिकरणले आफ्ना आयोजनाका उत्पादन युनिटहरु बन्द गर्ने गरेको छ । यसलाई ‘इनर्जी स्पिल’ भएको अर्थात् बिजुली खेर गएको मानिन्छ ।

निजी उत्पादकका बिजुली भने प्राधिकरणले लिनैपर्ने गरी ‘टेक अर पे’ मोडलमा खरिद सम्झौता गरेकाले उनीहरुको ‘इनर्जी स्पिल’ भए त्यसको क्षतिपूर्ति गर्नुपर्छ । आफ्नै आयोजनाहरु बन्द गरेर बिजुली खेर फाल्नुपर्ने जोखिम भएकाले प्राधिकरण वर्षायाममा भारतमा बिजुली बेच्ने वातावरण खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment