Comments Add Comment

कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दै

३० जेठ, काठमाडौं । मिनी विश्वकप मानिने युरोकप सुरु भएको दुई दिनपछि विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका सोमबारदेखि ब्राजलिमा सुरु हुँदैछ ।

४७ औं संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकको भूमिका ब्राजिलले पाएको हो । कोलम्बियामा विरोध प्रदर्शन भएपछि अर्जेन्टिनाले एकल रुपमा प्रतियोगिता गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण अर्जेन्टिनाबाट ब्राजिलमा सारिएको हो ।

जहाँ घरेलु टोली ब्राजिलले भेनेजुएलासँग खेल्दै प्रतियोगिता सुरुवात गर्दैछ । खेल नेपाली समय अनुसार सोमबार बिहान २:४५ बजे सुरु हुनेछ । उद्घाटन खेल ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा हुनेछ ।

ब्राजिल र भेनेजुएला कोपा अमेरिकामा नवौं पटक खेल्न लागेको हो । यसअघिको ८ खेलमा अपराजित ब्राजिल यसपटक पनि यो लयलाई कायम राख्न चाहन्छ । ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २० खेलमा अपराजित छ । पछिल्लो पटक ब्राजिल सन् १९७५ मा पेरुसँग घरेलु मैदानमा पराजित भएको थियो ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने स्टार नेमारसहित ब्राजिललाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ । दुई वर्षअघि ब्राजिलले उपाधि जित्दा नेमार चोटका कारण टिममा थिएनन् । त्यसैले यसपटक नेमारतर्फ धेरैको ध्यान छ ।

ब्राजिल साविक विजेता पनि हो । प्रतियोगिताअघि भेनेजुएलाका खेलाडी र कोचिङ स्टाफ गरी १२ जनालाई कोरोना संक्रमण देखिएको छ । उनीहरु सबैजना अहिले होटलमा आइसोलेसनमा छन् । कोरोना संक्रमणकै कारण डिफेन्डर विलकर एन्जल र रोल्फ फेल्ट्सचर ब्राजिल आएका छैनन् ।

यस्तै अर्जेन्टिनालाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ । उरुग्वेले सर्वाधिक १५ पटक उपाधि जित्दा अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ ।

ब्राजिलले छैटौं पटक कोपा अमेरिका फुटबलको आयोजना गर्दैछ । यसअघि पाँच पटक आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो । जसमा ब्राजिलले ४० खेल खेल्दा २६ खेल जितेको थियो भने जम्मा २ खेल मात्र हारेको थियो ।

दक्षिण अमेरिकाको १० राष्ट्रियले प्रतिस्पर्धा गर्ने कोपामा सहभागी टिमलाई यस पटक दुई समूहमा विभाजन गरिएको छ । यसअघि एसियन राष्ट्र कतार र अष्ट्रेलियाले पनि गेस्ट टिमको रुपमा सहभागिता जनाउने भनिए पनि कोरोनाकै कारण नाम फिर्ता लिएको थियो ।

नर्थ जोनका ब्राजिल र भेनेजुएलासहित पेरु, इक्वेडर र कोलम्बिया समूह बी मा छन् । यस्तै साउथ जोनका अर्जेन्टिना, चिली, पाराग्वे, उरुग्वे र बोलिभिया समूह ए मा छन् । दुवै समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment