Comments Add Comment

बाढीपहिरोको जोखिम : एकीकृत अग्रिम सूचना प्रणाली चाहिन्छ

नेपाल विपद् जोखिमयुक्त देश हो । बाढीपहिरो, हिमताल विस्फोटन जस्ता पानीबाट उत्पन्न हुने विपद्को जोखिम नेपालमा बढी छ ।

संयुक्त राष्ट्रसंघको एक अध्ययन अनुसार नेपालका करीब २४ प्रतिशत जनता वार्षिक रूपमा त्यस्ता विपद्को जोखिममा पर्छन् । ग्रामीण इलाका तथा नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्नेहरू यस्तो जोखिममा छन् ।

पानीबाट उत्पन्न विपद् जोखिममा रहेका देशहरूको सूचीमा नेपाल १२औं स्थानमा छ । वर्षायाम शुरू भएसँगै यस प्रकारका विपद्को जोखिम बढिहाल्छ । यस लेखमा नेपालमा बाढीको जोखिम न्यूनीकरणका लागि अग्रिम सूचना प्रणालीको आवश्यकता विषयमा चर्चा गरिएको छ ।

नेपालको सन्दर्भमा जोखिमयुक्त बाढीलाई पाँच प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो प्रकारमा स्थानीय वायुमण्डलमा विकसित हुने अतिवृष्टि (क्लाउड ब्रस्ट) को कारण उत्पन्न आकस्मिक बाढीपहिरो पर्दछ । सन् १९९१ मा ललितपुरको लेले, १९९३ मा मकवानपुरको कुलेखानी र १९९८ मा स्याङ्जामा भएको अतिवृष्टि र त्यसबाट उत्पन्न आकस्मिक बाढीपहिरो यसका उदाहरण हुन् ।

दोस्रो प्रकारमा क्षेत्रीय रूपमा विकसित मनसुनका कारण हुने अतिवृष्टि र त्यसबाट उत्पन्न हुने बाढीपहिरो हो । सन् १९५४ र १९५५ मा देशका धेरै भागमा यस प्रकारको बाढीपहिरो आएको थियो ।

तेस्रो प्रकारमा हिमताल विस्फोटनबाट उत्पन्न बाढी पर्दछ । सन् १९८१ भोटेकोशी, १९८५ मा दूधकोशी र २०१६ मा भोटेकोशीमा आएको बाढी यसका उदाहरण हुन् ।

चौथो प्रकारमा पहिरोको कारण नदी थुनिने र पछि विस्फोट हुने बाढी पर्दछ । सन् १९६७ मा बूढीगण्डकी, १९८२ मा बलेफी, १९८८ मा म्याग्दी, १९९६ मा लार्चे खोला र २०१२ मा सेती नदीमा आएको बाढी यो प्रकारमा पर्दछन् ।

पाँचौं प्रकारमा बाँध, तटबन्ध जस्ता नदीहरूमा बनाइएका भौतिक संरचना भत्कँदा उत्पन्न हुने बाढी पर्दछ । आजसम्म नेपालमा भौतिक संरचना भत्किएर ठूलो बाढी गएको ९ वटा घटना छन् । सन् १९९३ मा वागमती र २००८ मा कोशीमा गएको बाढी यीमध्ये ठूला घटना हुन् ।

यसका अलावा अत्यधिक वर्षाका कारण तराई तथा भित्री मधेश क्षेत्रमा हुने डुबान पनि ठूलो समस्याको रूपमा देखा पर्ने गरेको छ । नेपालमा प्रत्येक वर्ष बाढीपहिरो र डुबानबाट हुने मानवीय क्षति औसतमा ३०० छ भने आर्थिक क्षति एककरोड डलर बराबर छ । प्रमुख नदीहरूमध्ये कोशीमा आएको बाढीको क्षति बढी छ ।

यस प्रकारका क्षतिलाई अग्रिम सूचना प्रणालीको माध्यमबाट न्यून गर्न सकिन्छ । अन्य देशहरूको अभ्यासले यसको प्रभावकारिता पुष्टि गरिसकेको छ । बाढीपहिरोको अग्रिम सूचना प्रणाली जडानबाट मानवीय तथा भौतिक क्षतिमा व्यापक कमी आएको तथ्याङ्क छ ।

नेपालमा अग्रिम सूचना प्रणाली

जलाधार क्षेत्रमा हुने वर्षा र नदीहरूमा पानीको बहाव मापन गरेर जोखिम क्षेत्रमा सम्भावित खतराको सूचना प्रवाह गर्दा क्षतिबाट बच्ने पूर्वतयारीमा मद्दत पुग्छ । विगतमा कतिपय स्थानीय संयन्त्र कमजोर हुँदा नेपालमा यस्तो सूचना प्रणाली खासै सफल भएको देखिएन ।

नेपालमा पहिलो पटक सन् १९९० मा अग्रिम सूचना प्रणाली जडान भएको थियो । तामाकोशी नदीको जलाधार क्षेत्रमा रहेको च्छो–रोल्पा हिमतालको सम्भावित विस्फोट अनुगमन गर्न यो प्रणाली जडान भएको थियो । दक्षिण एशियाका पहिलो पटक जडान भएको यो हिमताल विस्फोट अग्रिम सूचना प्रणालीमा तालमा पानीको सतह निश्चित तहभन्दा माथि पुग्नासाथ सूचना दिने सेन्सर र स्वचालित साइरन जडान गरिएको थियो । तल्लो तटमा रोल्वालिङ र तामाकोशी किनारका १९ ठाउँमा साइरन जडान गरिएको थियो ।

उच्च फ्रिक्वेन्सीको रेडियो सञ्चार प्रणाली प्रयोग भएको यो अग्रिम सूचना प्रणालीले केही वर्ष काम ग¥यो । दुर्भाग्य, आवश्यक मर्मतसंभार र उत्तरदायित्वको अभाव आदि कारणले यो प्रणाली प्रयोगहीन भयो ।

भोटेकोशीमा जडान गरिएको अग्रिम सूचना प्रणालीले त अझ त्रासद नियति बेहोर्‍यो । भोटेकोशी पावर कम्पनीले भोटेकोशी जलविद्युत् आयोजनालाई सम्भावित हिमताल विस्फोटपछि आउने बाढीबाट जोगाउन यो प्रणाली जडान गरेर नेपाल–चीन सीमाको मितेरी पुलमा दुई वटा सेन्सर स्टेशन राखेको थियो । तिब्बतमा हिमताल विस्फोट भए भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत्गृह र हिन्डी गाउँमा साइरन बज्ने गरी प्रणाली जडान भएको थियो । सोही साइरनको आधारमा तल्लो तटका बस्तीमा खतराको चेतावनी दिने व्यवस्था मिलाइएको थियो ।

दुर्भाग्य, ५ जुलाइ २०१६ मा करीब २४ किलोमिटर माथि झाङ्गजाङ्गबो हिमतालको बाँध फुटेर आएको बाढीले भोटेकोशी जलविद्युत् आयोजनाको बाँध नै बगायो, विद्युत्गृहमा पनि क्षति पुग्यो । उक्त बाढीको सतह बाँधभन्दा ३.५ मिटर अग्लो भएको र पानीको बहाव प्रतिसेकेण्ड दुईहजार ५७६ घनमिटर रेकर्ड गरियो । जडित अग्रिम सूचना प्रणालीले त्यो बेला काम गरे/नगरेको विषय अज्ञात छ ।

देशको जलवायु तथा मौसमबारे आधिकारिक सूचना प्रवाह गर्ने सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले कोशी जलाधार क्षेत्रमा अग्रिम सूचना प्रणाली जडान गरेको छ । यसले जलाधार क्षेत्रमा भएको वर्षा, नदीहरूमा पानीको सतह, तापक्रम आदिको सूचकाङ्क सङ्कलन गरेर क्षेत्रीय तथा राष्ट्रिय सूचना प्रणालीमा प्रवाह गर्दछ । ती सूचनाहरूको विश्लेषण गरेर आवश्यकता भए सम्बन्धित निकायले चेतावनी जारी गर्दछ ।

राडार प्रविधिमा आधारित स्वचालित सेन्सरहरूले नदीमा पानीको सतह, बहाव मापन तथा अनुगमन गर्दछन् । सेन्सरहरूले प्राप्त गर्ने सूचना सीडीएमए र जीएसएमको मिश्रित प्रविधिमा आधारित इन्टरनेटबाट सूचना प्रणालीमा प्रवाहित हुन्छ । अरू सबै सञ्चारको माध्यम फेल भएको अवस्थामा ब्याकअपको लागि इरिडियम भू–उपग्रहको प्रयोग हुने व्यवस्था छ । पानीको सतह र बहाव अनुसार चेतावनीको सङ्केत दिने प्रविधि जडान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसबाहेक ४० स्थानमा वर्षा, पानीको सतह र बहाव मापन केन्द्र स्थापना गरेको छ । यसरी देशका मुख्य नदी तथा स्थानहरूबाट मौसम, जलवायु, वर्षा, पानीको बहाव र सतहको विवरण केन्द्रीय सूचना प्रणालीमा आउँछ । प्राप्त विवरण तथा सूचनाको आधारमा चेतावनी जारी गरेर लक्षित समुदायहरूलाई समयमै सुसूचित गर्ने प्रणाली भने तयार भएको छैन ।

सन् २००२ मा शुरू भएको अर्को अग्रिम सूचना प्रणाली समुदायमा आधारित छ । साइरनसहितको अवलोकन टावरबाट समुदायमा बाढीको चेतावनी जारी गर्ने व्यवस्था गरिएको यो प्रणालीलाई २०११ मा जल तथा मौसम विज्ञान विभाग र ‘प्राक्टिकल एक्सन’ले संयुक्त रूपमा सामुदायिक अग्रिम सूचना प्रणालीमा विकास गरे । सोही वर्ष परीक्षणको रूपमा पश्चिम राप्ती नदीमा यसको प्रयोग गरियो ।

यो प्रणाली मार्फत माथिल्लो तटमा राप्ती नदीको सतह र बहाव अनि सम्भावित जोखिमको जानकारी तल्लो तटीय समुदायमा पुर्‍याउने संयन्त्र स्थापित गरियो । यो प्रयोग सफल पनि भयो । यस्तै प्रकृतिको प्रणाली बाँके र बर्दिया जिल्लामा पनि जडान भएको छ । तल्लो तटीय समुदाय यो प्रणालीको अभिन्न अङ्गका रूपमा रहन्छन् । समुदायमा आधारित यो प्रणाली स्थायित्वको दृष्टिकोणले दिगो मानिन्छ । तसर्थ नेपाल जस्तो मुलुकका लागि यो मोडल उपयुक्त छ ।

अन्त्यमा, बाढीबाट हुने जोखिम न्यूनीकरणका निमित्त अग्रिम सूचना प्रणाली अत्यावश्यक छ । एउटा पूर्ण र प्रभावकारी सूचना प्रणालीका लागि जोखिम विश्लेषण, अनुगमन, सूचना प्रवाह र कार्यान्वयन पक्षको महत्वपूर्ण भूमिका हुन्छ । कुनै खास क्षेत्रको अग्रिम सूचना प्रणाली जडान गर्नुपूर्व जोखिमयुक्त क्षेत्रको पहिचान आवश्यक हुन्छ । यो प्रणालीमा बाढीसँग सम्बन्धित सूचकाङ्कहरू जस्तै पानीको बहाव, सतह, वर्षाको मात्रा र अवधिको निरन्तर अनुगमन हुन्छ ।

सूचना प्रवाह अर्को महत्वपूर्ण पाटो हो । सम्भावित जोखिमबारे समयमै सम्बन्धित व्यक्ति, समुदाय, निकायमा सूचना प्रवाह हुनु नितान्त आवश्यक छ । यस्तो सूचना सरल र समुदायले बुझ्ने भाषामा हुनुपर्दछ । यसका निमित्त सोही अनुसारको सूचना प्रणाली र सञ्जाल तयार गर्नुपर्दछ ।

प्राप्त सूचनाको आधारमा सम्बन्धित निकायको सक्रियता अर्को महत्वपूर्ण पक्ष हो । सूचना प्राप्त हुनासाथ सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्र खाली गराउने, अस्थायी आवासको व्यवस्था मिलाउने, अस्पतालहरू तयारी अवस्थामा राख्ने र खाद्यान्नको उचित प्रबन्ध मिलाउने लगायत काम गर्नुपर्दछ । यी सबै पक्ष समाविष्ट एकीकृत अग्रिम सूचना प्रणाली मात्र उपयुक्त र प्रभावकारी मानिन्छ ।

विगतका अनुभवहरूलाई मनन गर्दै प्रभावकारी अग्रिम सूचना प्रणाली स्थापना गरेर वर्षेनि हुने जनधनको क्षति रोक्न सकिन्छ । सम्बन्धित निकाय र सरोकारवालाले समयमै यसतर्फ उचित कदम चालेर विपद् व्यवस्थापनमा अब्बल साबित हुनु आजको आवश्यकता र चुनौती दुवै हो ।

विपद्‍बाट आफू पनि बचौं ! अरूलाई पनि बचाऔं !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment