
News Summary
Generated by OK AI. Editorially reviewed.- तीन वर्षअघि बाढीले मुगु र सोरु गाउँपालिकाका घर र खेतबारी बगाएको छ।
- स्थानीय समूह र गैरसरकारी संस्थाले विपद् प्रतिकार्य र राहत प्रयास गरेका छन्।
- सरकार र निजी क्षेत्रले दुर्गम क्षेत्रको विकासका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
२५ असार, काठमाडौं । तीन वर्ष अघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गासहित घर बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मन आत्तिन्छ । घर छोडेर जाने सुरक्षित ठाउँ देख्दिनन् ।
पहाडको खोँचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टी मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ । तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जिर्ण छ । नजिकै अस्थायी प्रहरी चौकी छ । चौकीको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी चौकी पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन ।
अगाडि मुगु कर्णाली सुसाइरहेको छ । सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा, ‘राति ठूलो पानी पर्यो भने हामीलाई निद्रा आउँदैन । घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाउँ भनेर बच्चा कराइरहन्छन् । कता जाने ? हामी सबै जोखिममा छौं । खोलो तटबन्ध गरेर हामीलाई सहयोग गरे हुन्थ्यो ।’
पहिरोले खेतबारी बगाएपछि स्थानीय जीएसएस नामको गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग त पुगेको छ तर जोखिम टरेको छैन । त्यसैले खोलामा तटबन्ध भए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दालाई ।
हरेक वर्षको मनसुनमा धार परिवर्तन गरी खोला बस्तीतर्फ सोझिएको छ । त्यसैले राति पानी पर्यो भने तारापानीबासी निदाउन सक्दैनन् । ‘खोला नजिकको बस्ती भएकाले पानी पर्नेबित्तिकै हामी जोखिममा पर्छौं । त्यसैले तटबन्ध गरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ स्थानीय विजय रावल भन्छन्, ‘तटबन्ध गर्न संघ, प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरियो तर कसैले सुनेनन् ।’
२०७९ सालभन्दा अघि तारापानी गाउँ हराभरा थियो । १८ असोज २०७९ को बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा पनि क्षति गर्यो । ६० घरधुरी रहेको तारापानीका ७ घर पूर्णरूपमा ध्वस्त भए ।
तर पीडितको तथ्यांक मिलेन भनेर स्थानीय सरकारले ३ वर्ष भइसक्दा पनि राहत वितरण प्रक्रिया अघि नबढाएको पीडितको गुनासो छ ।
तारापानी विपद् समूह गठन गरी स्थानीय आफैं विपद् प्रतिकार्यमा जुटेका छन् । त्यसमा जीएसएस नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । खोलाको पानी डाइभर्सन गरेर सिँचाइ, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री हस्तान्तरण गरेको छ ।
स्थानीय मानबहादुर बुढा भन्छन्, ‘२०८० साल साउनको ६ गते हामीले तारापानी विपद् समूह गठन गर्यौं । पहिरोलाई रोकथाम गर्न माथिल्लो क्षेत्रमा बोटबिरुवा लगायौं । हामीलाई सरकारले भन्दा संस्थाले ठूलो सहयोग गरेको छ ।’
जीएसएस भन्ने संस्थाबाट समूहका ८ जनालाई कृषि औजार दिने निर्णय गर्दा आफूहरू बैठक बसेर सबैभन्दा कमजोर सदस्यलाई त्यो औजार दिने निर्णय गरेको उनी बताउँछन् ।
संस्थाले बेमौसमी तरकारी खेतीका लागि टनेल, बीउ लगायतका सामग्रीहरू पनि दिएको र सिँचाइका लागि बनाइदिएको कुलोबाट ६० जनाले सुविधा पाएको उनी बताउँछन् ।
संस्थाले विपद् उद्धार सामग्री पनि दिएको छ । स्थानीयले ती सामग्री चोरी हुने डरले अस्थायी प्रहरी चौकीमा राखेका छन् । अस्थायी प्रहरी चौकी तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्छन्, ‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरु जिम्मा लगाउनुभएको छ । त्रिपाल, लाइफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उद्धारका सामानहरू संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौं ।’
सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरूमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउँछन् ।
दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैह्रसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले राम्रो सहजीकरण गर्नुपर्ने उनले बताए । ‘म आफैँ पनि स्थानीय सरकारको प्रमुख हो । तीनै तहको सरकारसँग मेरो अनुरोध छ, हामीले निजी क्षेत्र र संघसंस्थालाई सहजीकरण गरेर विकास निर्माणका कामहरुमा सहकार्य गर्नुपर्छ ।’
– न्युज एजेन्सी नेपालको सहयोगमा
प्रतिक्रिया 4