+
+
Shares

अब अमेरिकी एयरपोर्टको यात्रु जाँचकक्षमा यात्रुले जुत्ता खोल्नु नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ११:५७

२५ असार, काठमाडौं । अबदेखि अमेरिकाका विमानस्थलहरूमा यात्रुहरूले सुरक्षा जाँचका क्रममा जुत्ता खोल्नु नपर्ने भएको छ ।

बीबीसीका अनुसार, परिवहन सुरक्षा प्रशासन (टीएसए) ले झण्डै दुई दशकपछि यात्रु जाँचका क्रममा जुत्ता खोल्ने नियम हटाएको हो।

गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार, यो नयाँ व्यवस्था अमेरिकाका सबै विमानस्थलहरूमा तत्काल लागु गरिएको छ। यद्यपि, यात्रुहरूले अझै पनि ‘बहुस्तरीय’ सुरक्षा जाँच प्रक्रियाको सामना गर्नुपर्नेछ।

नोएमले थपिन्, ‘यात्रुहरूले पेटी र कोट भने अझै पनि खोल्नुपर्नेछ, साथै ल्यापटप र तरल पदार्थहरू झोलाबाट निकाल्नुपर्नेछ।’

उनले यी नियमहरूमाथि पनि पुनरावलोकन भइरहेको जानकारी दिइन् ।

यो नियम २००१ को डिसेम्बरमा भएको एक घटनापछि लागू गरिएको थियो। पेरिसबाट मियामी जाँदै गरेको एक विमानमा एक ब्रिटिश नागरिकले आफ्नो जुत्तामा बम लुकाएर लैजान खोजेका थिए।

उनले विस्फोट गराउन नसकेपछि यात्रुहरूले उनलाई नियन्त्रणमा लिए र विमानलाई सुरक्षित रूपमा बोस्टनमा अवतरण गराइएको थियो।

त्यस घटनापछि अमेरिकी सरकारले सन् २००६ मा हवाई यात्रुहरूका लागि जुत्ता खोल्ने नियम अनिवार्य बनाएको थियो।

नोएमले मंगलबार पत्रकारहरूसँगको कुराकानीमा भनिन्, ‘हाम्रो सुरक्षा प्रविधिमा उल्लेखनीय सुधार आएको छ। यो निकै आधुनिक बनेको छ। त्यसैले टीएसए पनि परिवर्तन भएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?