Comments Add Comment

अमेजन सीईओ बेजोसँगको अन्तरिक्ष यात्रा : २ करोड ८० लाख डलरमा बिक्यो टिकट

अमेजन कम्पनीका वर्तमान सीईओ जेफ बेजोससँग आगामी जुलाई २० मा अन्तरिक्ष यात्रा गर्नका लागि अन्तरिक्षयानको एउटा टिकट बिक्रीमा राखिएको थियो । लिलाम बढाबढमा राखिएको ब्लु ओरिजिन कम्पनीकोउक्त अन्तरिक्षयानको टिकट अन्ततः बिक्री भएको छ ।

एक अज्ञात व्यक्तिले २ करोड ८० लाख डलरमा अन्तरिक्षयानको टिकट खरीद गरेका हुन् ।

शनिबारको लिलामीमा सो टिकट बिक्री भएको ब्लु ओरिजिनले ट्वीटरमा उल्लेख गरेको छ । टिकट खरीदकर्ताका विषयमा आगामी हप्ताहरुमा जानकारी गराइने बताइएको छ ।

उक्त टिकट लिलामी प्रक्रियामा १४० भन्दा धेरै देशका मानिसहरुले रुचि व्यक्त गरेर बोली लगाएका थिए ।

उक्त अन्तरिक्षयानमा जेफ बेजोस, उनका भाइ मार्क बेजोस तथा सो टिकट खरीदकर्ता व्यक्ति गरी ३ जना यात्री रहनेछन् ।

यसअघि झण्डै एक महिना अघिबाट भौतिक लिलामी प्रक्रिया अगाडि बढाइएकोमा अधिकतम ५० लाख डलरको बोली लागेको थियो । तर जब शनिबार अनलाइनमार्फत् समेत लिलामी खुल्ला गरियो तब त्यसको पाँच गुणा उच्च मूल्यको बोली लागेको हो ।

टिकट बिक्रीबाट प्राप्त २ करोड ८० लाख डलर रकम ब्लु ओरिजिन फाउण्डेसनलाई प्रदान गरिनेछ ।

फोर्ब्सको पछिल्लो तथ्यांक अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको कूल सम्पत्ति १ खर्ब ८६ अर्ब डलर रहेको छ ।

गत हप्ता बेजोसले इन्स्टाग्राममा एक पोस्ट गर्दै जुलाई २० मा आफू भाइसँगै अन्तरिक्ष यात्रामा जाने बताएका थिए । त्यो आफ्नो बेस्ट फ्रेण्डसँगको सबैभन्दा ठूलो एडभेन्चर भएको उनको भनाइ थियो ।

जेफ बेजोसका भाइ मार्कले उक्त अन्तरिक्षयात्रा उल्लेख्य अवसर भएको बताएका थिए ।

ब्लु ओरिजिनका अनुसार उक्त अन्तरिक्षयान पृथ्वीको सतहबाट एक सय किलोमिटर माथिसम्म पुग्नेछ जहाँ यात्रुहरुले माइक्रोग्राभिटीको अनुभव गर्नेछन् । उक्त अन्तरिक्षयानको क्याप्सुल प्यारासुटको प्रयो गरी पृथ्वीमा अवतरण गर्नेछ । सो अन्तरिक्षयात्रा करीब १० मिनेटको हुने बताइएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment