Comments Add Comment

युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज

१ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स अनी विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी भिड्दैछन् । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि हुँदैछ ।

युरोकपको ड्र सार्वजनिक भएपछि नै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । जहाँ युरोकपको साविक विजेतासहित तीन पूर्व विजेता छन् ।

साथै एउटै समूहमा उपाधिको तीन दाबेदार टिम छन् । त्यसैले यस समूहको प्रत्येक खेल हेर्न लायक हुने अपेक्षा छ । यस समूहमा जर्मनी र हंगेरी आयोजकको रुपमा छ । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।

विश्व विजेता फ्रान्स र  ३ पटकको युरोकप विजेता जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२:४५ बजे सुरु हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिख एरेनामा हुनेछ ।

पाँच वर्षअघि घरेलु मैदानमै फाइनल हारेको फ्रान्स यसपटक उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा छ । उता जर्मनी भने २०१६ मा फ्रान्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । २०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छन् । जर्मनीलाई घरेलु मैदानको साथ हुनेछ । उता फ्रान्समा करिम बेन्जामा झण्डै ६ वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । बेन्जामासहित किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन जस्ता फरवार्ड लाइन फ्रान्ससँग छ । यस्तै मिडफिल्डमा एन गोलो कान्टे, पउल पोग्वा, एड्रिओन रावओट जस्ता खेलाडी छन् । कप्तान ह्युगो लोरिसले गोलपोष्ट सम्हाल्नेछन् भने डिफेन्समा राफेल भरान बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज र प्रेसनेल किम्बेम्पे जस्ता खेलाडी हुनेछन् ।

उता अनुभवी गोलकिपर मानुएल नोएको कप्तानीमा रहेको जर्मनीमा थोमस मुलर र माट हुमेल्सले दुई वर्षपछि पुरनागमन गरेका छन् । यस्तै टिमो वेर्नर, काऐ हाभार्ट, सर्ज जिनाब्री, लरेस साने, जोसुअ किम्मीक जस्ता खेलाडी जर्मनी टिममा छन् । मिडफिल्डमा टोनी क्रुस र एल्के गुन्डागोनको साथ रहनेछ ।

जर्मनी र फ्रान्सबीचको खेल बहुप्रतिक्षित खेलको रुपमा पनि रहेको छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले यो दुवै टिमको लागि ठूलो खेल भएको बताए । उनले दुवै टिम युरोपको उत्कृष्ट टिम भएकोले ठूलो गेम हुने बताए ।

उनले दुवै बक्समा प्रभावशाली हुने उदेश्य रहेको र त्यहीबाट खेलको निर्णय हुने बताए ।

यस्तै जर्मन प्रशिक्षक योकिम लोले दुई साताको तयारीपछि फ्रान्ससँग कस्तो खेल्छ यो महत्वपूर्ण हुने बताएका छन् ।

फ्रान्स र जर्मनी युरोकप अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन् । २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो ।

यस्तै यूईएफए नेशन्स कप २०१८ अन्तर्गत दुई खेल हुँदा एक खेल फ्रान्सले जितेको थियो भने अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो ।

२०१४ को विश्वकप क्वाटरफाइनलमा पराजित भएयता फ्रान्स जर्मनीविरुद्ध पछिल्लो ५ खेलमा अपराजित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment