Comments Add Comment

कर्णालीमा एमाले संसदीय दलको बैठकमा सांसद ज्वाला सहभागी, ३ मन्त्री गएनन्

१ असार, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा हृवीप उल्लंघनको आरोपमा कारबाहीमा परेका नेता प्रकाश ज्वाला पनि सहभागी भएका छन् ।

पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना सांसदमध्ये ज्वाला मंगलबारको संसदीय दलमा सहभागी भएका हुन् । अरु तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी छैनन् ।

पार्टी निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि नेकपा एमाले संसदीय दलको सिफारिसमा चार सांसदलाई नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिले पार्टीबाट निष्कासन गरेपछि उनीहरु सांसद पदबाट पनि पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतले ती सांसदहरुलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासन गर्न नसक्ने आदेश दिएपछि उनीहरु सांसद पदमा पुनर्बहाली भएका थिए ।

पुनर्बहाली भए पनि हाल मन्त्रिपरिषदमा रहेका थापा, बुढा र शाही भने एमाले संसदीय दलको बैठकमा सहभागी नभएका हुन् । केही दिनअघि प्रदेशसभामा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले पुनर्बहाली भएका सांसदले एमालेको निर्देशन मान्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment