
१ असार, काठमाडौं । बेलायत र अष्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौतामा सहमति जुटेको छ । अष्ट्रेलियाका व्यापारमन्त्री डान टेहनले मंगलबार दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौताको लागि सहमति भएको बताएका हुन् ।
युरोपेली संघ (ईयू) छाडेपछि बेलायतले गरेको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता हो । टेहनका अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाका समकक्षी स्कट मौरिसनबीच यो सम्झौताको विषयमा सहमति जुटेको हो ।
‘यो सम्झौता रोजगारी, व्यवसाय तथा स्वतन्त्र व्यापारको जित र दुई लोकतान्त्रिक मुलुक मिलेर सँगै काम गर्दा पाउन सक्ने उपलब्धिको प्रमुख विशेषता पनि हो,’ टेहनले भने । यो व्यापार सम्झौता बेलायतको लागि महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बेलायती प्रधानमन्त्री जोन्सनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो नयाँ स्वतन्त्र व्यापार सम्झौताले बेलायती व्यवसायी र उपभोक्ताका साथै दुवैतर्फ काम गर्न र जीवनयापन गर्न चाहने युवालाई ठूलो अवसर सिर्जना गरेको छ ।’
यद्यपि बेलायतको हालै गठन गरिएको विभिन्न पार्टी सम्मिलित ट्रेड एण्ड बिजनेस कमिसनले भने यो सम्झौता संसदमा छलफलका लागि नलगिएको भन्दै आलोचना गरेको छ । जसका कारण यो सम्झौताको दीर्घकालीन असरको विषयमा छलफल हुन नपाएको कमिसनका अध्यक्ष हिलारी बेनले बताए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4