Comments Add Comment

अस्पताल प्रमुखसँगको विवादपछि गोरखामा डाक्टरले दिए राजीनामा

१ असार, गोरखा । गोरखा अस्पताल प्रमुखसँगको विवादपछि कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन (नवौ‌ं तह) डा. हेमन्त ढुंगानाले राजीनामा दिएका छन् । अस्पताल प्रमुख शान्ति भुर्तेलले आफूसँग प्रतिशोधको व्यवहार गरेको भन्दै ढुंगानाले मंगलबार अस्पतालमार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

गत चैत ८ गतेदेखि अस्पतालमा करारमा कार्यरत ढुंगानाले असार १ देखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।

गत जेठ २३ गते ढुंगानासहितका केही चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल प्रमुखको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारी र अस्पताल व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा अस्पताल प्रमुखले मनपरी निर्णय गरेको, कर्मचारी तथा चिकित्सकलाई जागिर खाइदिन्छु भन्दै दुव्र्यवहार गरेको, अस्पतालको सेवा सुधारमा कुनै चासो नदिएको र समन्वय नगरेको जस्ता आरोप लगाइएको थियो ।

प्रदेशबाट छानबिन टोली आएर अस्पताल विकास समितिको समन्वयमा कोभिडको समयमा मिलेर काम गर्ने सहमति भएको थियो । तर अस्पताल प्रमुख भुर्तेलले प्रतिशोधको भावना राखेर असहयोग गर्न थालेपछि राजीनामा दिन बाध्य भएको ढुंगानाले बताएका छन् ।

‘कोभिडको बेला यो विषयलाई थाँती राखी मिलेर अघि बढौं भन्ने सहमति भए पनि प्रमुखले प्रतिशोधको भावना राख्दै अनावश्यक दबाब दिन थाल्नुभयो, काम गर्ने वातावरण नै बन्न सकेन,’ उनले भने । सामान्य शल्यक्रियाका लागि आवश्यक सामग्री ल्याउन आग्रह गर्दा पनि भुर्तेलले बेवास्ता गरेको ढुंगानाले बताए ।

अस्पतालको प्रगति र विकासका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले दिएको सुझावको विषयमा पूर्वाग्रह राखेर अस्पताल प्रमुख भुर्तेलले असहयोग गरेको उनको आरोप छ । गोरखा अस्पताल अस्पताल अहिले गुटबन्दी, आरोप–प्रत्यारोप र दबाबको भूमरीमा अल्मलिएको ढुंगानाको भनाइ छ ।

अस्पताल प्रमुख भुर्तेलले ढुंगानाको राजीनामा पत्रबारे प्रदेश सरकारबाट जानकारी आएको बताइन् । ‘अस्ति भर्खर सहमति भएको थियो, तर फेरि उहाँले राजीनामा दिनुभएछ, सबै कुरा नियमसम्मत रुपमा हुनुपर्छ,’ उनले भनिन् । आफूमाथि लगाइएको आरोप सबै झूठो रहेको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment