Comments Add Comment

अस्पतालमा पठाइएका स्वास्थ्य सामग्री कहाँ हराए ?

२ असार, काठमाडौं । नेपाललाई मित्रराष्ट्र तथा दातृ निकायले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गर्दै आइरहेका छन् । तर सहयोग प्राप्त स्वास्थ्य सामग्री संक्रमितको उपचार गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थासम्म नपुगेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरले देशभर कोभिड–१९ को उपचार गराइरहेका अस्पताल तथा स्वास्थ्य संस्थालाई प्राथमिकताको आधारमा सामग्री पठाएको उल्लेख गरेको छ । तर, विभागले पठाएको सूची अनुसारका सामग्री आफूहरूले नपाएको गुनासो अस्पताल एवं स्वास्थ्य संस्थाका अधिकारीहरुले गरेका छन् ।

विभागले वैशाख २६ गते देशभरका ३४८ स्वास्थ्य संस्थामा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डरलगायतका सामग्री उपलब्ध गराएको सूचना जारी गरेको थियो । तर विभागले पठाएका ती सामग्रीहरू अधिकांश अस्पतालसम्म पूर्ण रुपमा पुग्न नसकेको खुलेको छ । केही अस्पतालमा आंशिक र केहीमा पूर्ण रूपमा स्वास्थ्य सामग्री पुगेका छन् ।

स्वास्थ्य सेवा विभागको सूचीमा सेती प्रादेशिक अस्पताललाई तीनवटा भेन्टिलेटर पठाइएको उल्लेख छ । तर अहिलेसम्म भेन्टिलेटर कहीं कतैबाट सहयोग नभएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको सूचीमा सेती प्रादेशिक अस्पताललाई तीनवटा भेन्टिलेटर पठाइएको उल्लेख छ । तर अहिलेसम्म भेन्टिलेटर कहीं कतैबाट सहयोग नभएको अस्पतालले जनाएको छ ।

कोभिड–१९ महामारीको समयमा पटक–पटक गरी २४ वटा कन्सन्ट्रेटर र ३० वटा अक्सिजन सिलिण्डर मात्रै प्राप्त भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । विभागको सूचीमा अक्सिजन कन्सन्ट्रेटर ३४, अक्सिजन सिलिण्डर ४० र भेन्टिलेटर ३ थान सेती अस्पतालको लागि पठाइएको उल्लेख छ ।

सेती अस्पतालले मात्रै होइन, महामारीको बीचमा मेची अस्पताललाई पनि विभागबाट कुनै स्वास्थ्य उपकरण प्राप्त नभएको अस्पतालका स्टोरकिपर एवं फार्मेसी अधिकृत दुर्गाबहादुर राजभण्डारीले जानकारी दिए ।

‘इपिडिमियोलोजीबाट ५०० एन्टिजेन किटबाहेक अरु केही सहयोग आएको छैन,’ उनले भने, ‘विभागबाट अस्पतालका लागि आउने सामग्रीबारे हामीलाई कुनै जानकारी छैन ।’ विभागको सूचीमा मेची अस्पतालका लागि ९ थान अक्सिजन कन्सन्ट्रेटर र एक थान भेन्टिलेटर उल्लेख छ ।

बरु अन्य संघसंस्थाबाट अस्पतालका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको उनले बताए ।

काठमाडौं उपत्यकाभित्रकै भक्तपुर अस्पतालले पनि विभागले उपलब्ध गराउने सूचीमा रहेको भेन्टिलेटर प्राप्त नभएको बताएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले विभागले उपलब्ध गराउने भनेको भेन्टिलेटर अहिलेसम्म प्राप्त नभएको बताइन् ।

‘तीन थान अक्सिजन कन्सन्ट्रेटर सहयोग हुने भनिए पनि दुई थान मात्र प्राप्त भएको छ,’ उनले भनिन्, ‘तर एक थान भेन्टिलेटर सहयोग हुने भनिए पनि त्यो अहिलेसम्म प्राप्त भएको छैन ।’

 

फाइल तस्वीर

उता धौलागिरी अस्पतालले भने आंशिक स्वास्थ्य सामग्री उपलब्ध भएको बताएको छ । विभागले ७ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भनेको थियो तर २ थान मात्र उपलब्ध भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष केबी राना मगरले बताए । भेन्टिलेटर भने दुई थान नै उपलब्ध भएको उनले बताए ।

जिल्ला अस्पताल दार्चुलाले पनि आंशिक स्वास्थ्य सामग्री उपलब्ध भएको जानकारी दिएको छ । विभागले दार्चुला अस्पताललाई १० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भनेको छ । तर ५ थान मात्रै अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको अस्पतालको स्टोरमा कार्यरत धनञ्जय मिश्रले बताए ।

एन्टिजेन र अक्सिजन सिलिण्डर भने सरकारले उपलब्ध गराउने भने बमोजिम क्रमशः १५० र १० थान उपलब्ध भएको उनले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धुलिखेल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगञ्जस्थित नारायणी अस्पताल, सिन्धुलीलगायतका अस्पतालले भने विभागले तोकेबमोजिमकै स्वास्थ्य सामग्री प्राप्त भएको अस्पतालका अधिकारीहरू बताउँछन् ।

नपुगेका ठाउँमा पठाउँछौं : विभाग

विभागले उपलब्ध गराउने स्वास्थ्य उपकरण तथा सामग्रीबारे सम्बन्धित अस्पताल एवं स्वास्थ्य संस्थाले जानकारी पाओस् भन्ने उद्देश्यले नै सूची सार्वजनिक गरिएको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका डा. उपेन्द्र ढुंगानाले बताए ।

केन्द्रीय अस्पतालहरूमा विभागले सिधै सामग्री पठाउने गरे पनि जिल्लास्तरका अस्पतालहरूमा प्रदेश निर्देशनालयमार्फत पठाउने गरिएको उनले बताए । त्यसैले केही सामग्री पुग्ने क्रममै रहेको हुनसक्ने उनको तर्क छ ।  ‘हामीले प्राथमिकता निर्धारण गरेर अस्पतालहरूलाई स्वास्थ्य उपकरण एवं सामग्री पठाएका छौं । कुन–कुन अस्पतालले पाए/नपाएकोबारे बुझ्ने प्रयास भइरहेको छ । विविध कारणले यदि कहीं कतै नपुगेको भए सम्बन्धित अस्पतालसँग समन्वय गरेर चाँडै पठाउँछौं,’ डा. ढुंगानाले भने । प्राथमिकता निर्धारण गरेर पठाइएको हो भने पनि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल ‘हटस्पट’का रुपमा रहेको कैलालीमा निकै अभावका बीच संक्रमितको उपचार गर्ने अस्पतालमा पर्छ ।

विभागले के–के सामग्री वितरण गरेको छ ?

स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरबाट वैशाख १ गतेदेखि २४ जेठसम्म देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा १०९ वटा बाइप्याप मेसिनसहित २०७ वटा भेन्टिलेटर वितरण गरिएको जनाएको छ ।

यसैगरी ८७९ थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार ५०८ थान अक्सिजन सिलिण्डर, २ लाख ७९ हजार १२४ आरटी पीसीआर किट वितरण गरिएको विभागले जनाएको छ ।

यसैगरी १४ लाख ३८ हजार २५ एन्टिजेन किट, ४ लाख ४७ हजार ३४१ एन–९५ मास्क, ८२ लाख ४२ लाख ५०५ थान मास्क, २ लाख २५ हजार ८७१ थान फेसशिल्ड वितरण भएको विभागले जनाएको छ ।

नेपाललाई प्राप्त सहयोगमा के–के छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार जेठको अन्तिम सातासम्म ३८० थान बाइप्याप मेसिनसहित ५४० थान भेन्टिलेटर सहयोग प्राप्त हुँदा २०० थान आईसीयू बेड समेत सहयोग प्राप्त भएको छ । एक हजार ७१० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त हुँदा ६ हजार २४५ थान अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी १२ लाख ४५ हजार २५ एन्टिजेन किट सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

७ लाख ५८ हजार थान एन–९५ मास्क सहयोग प्राप्त हुँदा ७५ लाख २८ हजार २४० थान सर्जिकल मास्क पनि सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment