Comments Add Comment

तीन वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य

५४ खर्ब ३८ अर्ब बजेट खर्च हुने

२ असार, काठमाडौं । सरकारले महामारीको बीचमा आगामी तीन आर्थिक वर्ष भित्र ५४ खर्बभन्दा बढी बजेट खर्च गरेर  दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने  लक्ष्य तय गरेको छ । मध्यमकालीन खर्च संरचनामा सरकारले आगामी तीन आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मका लागि यस्तो लक्ष्य तोकेको हो ।

उक्त बजेट खर्च भएसँगै तोकिएको अन्तिम आव २०८०/८१ मा आर्थिक वृद्धिदर दोहोरो अंक छुने अनुमान सरकारको छ । तथ्याङ्कअनुसार आगामी आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धिदर ६.५ प्रतिशत अनुमान गरिएको छ । यस्तो वृद्धिदर आव २०७९/८० मा ९.६ प्रतिशत पुग्ने र त्यसपछिको आवमा भने दोहोरो अंक छुने अनुमान छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचना २०७८/७९ अनुसार आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर १०.३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

यो प्रक्षेपण नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय दाता संस्थाको अनुमान भन्दा भने निकै बढी हो । कोभिड १९को विश्वव्यापी महाकारीका कारण अर्थतन्त्रमा भएको क्षति र यसको आवश्यकतालाई मध्यनजर गरि आगामी आवहरुको लक्ष्य परिमार्जन गरिएको आयोगको भनाइ छ ।

यी लक्ष्य प्राप्तिमा सार्वजनिक वित्तको कुशल, समन्यायिक र नतिजामुखी व्यवस्थापन, निजी तथा सहकारी क्षेत्रको लगानी, उत्पादन र रोजगारी प्रोत्साहत गर्ने नीति लिने सरकारको योजना छ ।

दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल हुने वर्षसम्म पुग्दा प्रतिव्यक्ति आय १५९५ डलर पुग्ने अनुमान गरिएको छ । अहिले आम्दानी ११९६ अमेरिकी डलर रहेको छ । निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्याकाृ हिस्सा ९.५ प्रतिशत झार्ने लक्ष्य राखिएको छ ।

अहिले औसत ७.८ वर्ष रहेको आयु ७२ वर्ष पुग्ने अनुमान छ । अहिले ६२ प्रतिशत रहेको साक्षरता दर -१५ वर्ष भन्दा माथि) ९५ प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

अहिले ४३ प्रतिशत रहेको रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा आव २०८०/८१ सम्म ५० प्रतिशत पुग्ने मध्यमकालिन खर्च संरचनामार्फत सरकारले लक्ष्य राखेको छ ।

विद्युतमा पहुँच प्राप्त परिवारको संख्या शतप्रतिशत पुर्‍याउने र सो वर्षसम्म देशभर ३४८ किलोमिटर रेलमार्ग बनिसक्ने लक्ष्य समेत सरकारले तोकेको छ । अहिले ८ प्रतिशत मात्र रहेको वैदेशिक व्यापारमा निर्यातको हिस्सालाई तीन वर्षपछि करीव १६ प्रतिशत पुर्‍याउने लक्ष्य समेत सरकारले तय गरेको छ ।

साढे १२ खर्ब पुँजीगत

सरकारले तीन आर्थिक वर्षमा कुल ५४ खर्ब ३८ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ बराबरको बजेट खर्च गर्ने भएको छ । यसमध्ये २० खर्ब ४४ अर्ब ९९ करोड चालु र १२ खर्ब ५४ अर्ब ४३ करोड रुपैयाँ पुँजीगत खर्च हुने अनुमान गरिएको छ ।

वित्तीय व्यवस्थामा ७ खर्ब ७ अर्ब २ करोड रुपैयाँ खर्च हुने अनुमान सरकारले गरेको छ । यसरी गरेको अनुमानमाध्ये १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ चालु आवको बजेट हो ।

बजेटको आकार आव २०७९/८० मा वृद्धि भई १७ खर्ब ९३ अर्ब १० करोड र आव २०८०/८१ मा १९ खर्ब ९७ अर्ब ८० करोड पुग्ने छ ।

यस्तो खर्च परिपूर्ति गर्न सरकारले तीन वर्षमा ३५ खर्ब ७५ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । अन्य स्रोत भने वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणबाट परिपूर्ति गर्ने लक्ष्य छ ।

आगामी तीन वर्षको बजेट अनुमान

  • आव २०७८/७९ : १६ खर्ब ४७ अर्ब ५७ करोड
  • आव २०७९/८० : १७ खर्ब ९३ अर्ब १० करोड
  • आव २०८०/८१ : १९ खर्ब ९७ अर्ब ८० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment