Comments Add Comment

विद्यालयले डोजर लगाएर सालका रुख ढालेको आरोप

४ असार, धनगढी । धनगढीको जनता राष्ट्रिय आधारभूत विद्यालयको हाताभित्र रहेका सालका रुख डोजर प्रयोग गरेर रातारात ढालिएको आरोप लागेको छ ।

धनगढी उपमहानगरपालिका- १३ मा रहेको सो विद्यालयको प्रशासन र विद्यालय व्यवस्थापन समितिले गत जेठ ३० गते राति स्कुलको हाता भित्र रहेका ४ वटा सालका रुख डोजरको प्रयोग गरेर ढालेको स्थानीयको भनाइ छ ।

”विद्यालय व्यवस्थापन समिति र प्रशासनले ३० गते राति डोजरको प्रयोग गरेर प्रक्रिया नपुगाएर रुख ढालेका हुन्,” एक स्थानीयले अनलाइनखबरसँग भने, ”यसअघि पनि त्यसरी नै काटिएका रुखको मु्द्दा विचाराधीन अवस्थामा रहेकै बेला यसरी मनोमानी रुपमा रुख काटिएका छन् । रातारात गायब बनाउने योजनाअनुसार त्यो काम गरेको सुनेका छौं । यो घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्नुपर्छ ।”

तर विद्यालयले भने जीर्ण अवस्थामा रहेका रुखहरु हावाहुरीका कारण ढलेको दाबी गरेको छ । जनता राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद प्रसाद पन्तले जेठ ३० गते राति आएको हावाहु्रीका कारण सालका रुख ढलेको दाबी गरे । ‘म पनि काम विशेषले पहाड गएको थिएँ,’ पन्तले भने, ‘फर्किने बेला रुख ढलेकै अवस्थामा देखेको हुँ । भोलिपल्ट म आफैं गएर काठ व्यवस्थापनका लागि डिभिजन वन कार्यालयमा जानकारी गराएको थिएँ ।’

विद्यालयका प्रधानाध्यापक कृष्णसिंह पेलाले पनि हावाहुरीले रुख ढलेको बताउँदै व्यवस्थापन समितिबाट निर्णय गरेर व्यवस्थापनका लागि डिभिजन वन कार्यालयलाई आग्रह गरिएको बताए । विद्यालयले यस्तो दाबी गरेपनि रुखमा डोजर प्रयोग भएको स्पष्ट देखिने स्थानीयको भनाइ छ ।

स्थलगत अध्ययन गर्छौं- डिभिजन वन

डिभिजन वन कार्यालय धनगढीले जनता राष्ट्रिय आधारभूत विद्यालयले बुधबार मात्र हावाहुरीले विद्यालय हाताभित्र रहेका रुख ढलेको जानकारी दिएको जनाएको छ ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख पूर्ण शंकर यादवले उक्त जानकारीका सम्बन्धमा यथार्थ के रहेछ भनेर स्थलगत रुपमै अध्ययन गरिने बताए । ”विद्यालयले पानी र हावाहुरीले रुख ढलेकाले व्यवस्थापन गरिदिन आग्रह गरेको छ,” यादवले भने, ”वास्तविकता के रहेछ ? हामीले सवडिभिजन वन कार्यालय तारानगरलाई स्थलगत रुपमा अध्ययन गर्न भनेका छौं । चाँडै वास्तविकता सार्वजनिक गर्छौं ।” डोजर लगाएर ढालिएको पुष्टि भए कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।

उनकाअनुसार विद्यालयले ढलेका रुखका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र धनगढी उपमहानगरपालिकाको अनुदानमा निर्माण भइरहेका भवनको काममा बाधा पुगकाले हटाइदिन भनेको छ । उनले कुनै पनि सरकारी कार्यालयले रुखका कारण बाधा परेको भए कारणसहित वनलाई जानकारी गराउनु पर्ने कानूनी प्रावधान रहेको बताए । त्यसरी जानकारी आएको खण्डमा वनले प्रक्रिया पुर्याएर रुख हटाउने उनी बताउँछन् ।

विद्यालयको छवि विगतदेखि नै विवादित

जनता राष्ट्रिय माध्यमिक विद्यालयको छवि विगतदेखि विवादित छ । विद्यालयले २०७१/७२ र २०७२/७३ सालमा पनि यसरी नै प्राङ्गणमा रहेका रुखहरु काटेर प्रक्रिया नपुर्याई बिक्री गरेपछि विवाद भएको थियो ।

ती रुख बिक्री गरे वापतको झण्डै २५ लाख रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीमाथि अख्तियारले अहिले पनि छानबिन गरिरहेको छ । अख्तियारमा मुद्दा परेपछि तत्कालीन समयमा काटिएका् काठ अहिले पनि विद्यालय परिसरमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment