काठमाडौं । नेपाल पुलिसले राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणमा आफ्नो तीन खेलाडी नपठाउने भएको छ । पुलिसल आफ्ना ३ खेलाडी जवान आधारभूत तालिममा रहेकोले प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । पुलिसले कामना विष्ट, शान्तिकला तामाङ र पुनम चन्दलाई प्रशिक्षणमा पठाउन नसक्ने भन्दै संघलाई पत्र पठाएको छ।
आगामी भदौ १३ देखि २० गते सम्म फिलपिनसमा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि असार १ गतेदेखि प्रशिक्षण सुरु भएको छ ।
त्यसका लागि नेपाल भलिबल संघले प्रशिक्षणमा ३० खेलाडीलाई बोलाएको थियो । जसमा पुलिसबाट ७ खेलाडी परेका थिए । तर ती मध्ये ३ खेलाडी प्रहरी जवानको आधारभूत तालिममा समावेश भइरहेको कारण पुलिसले पठाउन नसक्ने भन्दै पत्र पठाएको नेपाल भलिबल संघकी उपाध्यक्ष एवं महिला टोलीकी व्यवस्थापक निरोज मास्केले बताइन् ।
पुनम चन्द यसअघि नेपालले सेन्ट्रल जोन जित्दा र १३औं सागमा रजत जित्दा टिममा थिइन् । यस्तै चोटबाट पुनरागमन गरेकी कामना विष्ट पहिलो पटक बन्द प्रशिक्षणमा परेकी हुन् । शान्तिकला यसअघि प्रशिक्षण रहेपनि टिममा परेकी थिइनन् ।
पुलिसले कमला पुन, मनीषा चौधरी, लक्ष्मी चन्द र उषा भण्डारीलाई भने बन्द प्रशिक्षणमा उपलब्ध गराउने निर्णय गरेको छ । पुलिसको ३ खेलाडी नपठाएपछि अहिले प्रशिक्षणमा २७ खेलाडी छन् ।
भलिबल संघले ३० जनासंग ५ वैकल्पिक खेलाडीसमेत छनोट गरेको थियो । तर ३ जनाको स्थानमा उनीहरुलाई राख्ने वा नराख्ने निर्णय हुन बाँकी रहेको मास्केले बताइन् ।
प्रतिक्रिया 4