Comments Add Comment

कसरी बढाउने रोग प्रतिरोधी क्षमता ?

कोरोनाले धेरै कुरा तहसनहस बनाइदियो । यो विश्वव्याधिबाट कतिले ज्यान गुमाए, कतिले परिवार । कतिले शारीरिक पीडा झेले त कतिले मानसिक तनाव । यद्यपि कोरोनाकै कारण केही कुरा पनि बोध गर्न पाए, मानव समुदायले ।

जस्तो कि, कुनैपनि संक्रामक रोगबाट बच्न भौतिक दूरी कायम राख्नुपर्छ । शारीरिक सरसफाईमा ध्यान दिनुपर्छ । पोषिलो र सन्तुलित खानपान गर्नुपर्छ । र, शरीरमा रोगसँग लड्ने क्षमता बढाउनुपर्छ ।

स्वस्थ जीवनशैली अपनाउनु नै एक बलियो प्रतिरक्षा प्रणालीको लागि सबैभन्दा राम्रो विकल्प हो । हाम्रो शरीरको हर अंगले त्यसबेला मात्र सही एवं चुस्त ढंगले कार्य सम्पादन गर्छ, जब त्यसमा स्वस्थ्य खानपान र सकारात्मक वातावरण प्राप्त हुन्छ । जीवनमा तनाव कमभन्दा कम होस् । पर्याप्त निद्रा लिइयोस् । निद्रा र रोग प्रतिरोधक क्षमतावीच गहिरो सम्बन्ध छ । कम वा खराब गुणवत्ता निद्रा, कोराना वा अर्को रोगको कारण बन्न सक्छ ।

एक अध्ययन अनुसार जुन मान्छे हरेक रात ६ घण्टाभन्दा कम सुत्छन्, तुलनात्मक रुपमा उनीहरुलाई चाडै रोगले समात्छ । खासगरी चिसो वा रुघा-खोकीले च्याप्छ । त्यसैले निद्रालाई पनि एक ओखती समान मानिएको छ ।

पर्याप्त र गहिरो निद्रा । सन्तुलित र पोषणयुक्त खानपान । सक्रिय दिनचर्या । नियमित व्यायाम । सकारात्मक चिन्तन् । यी सम्पूर्णको सन्तुलन बनाइराख्दा रोगको जोखिमबाट बच्न सकिन्छ । किनभने यसले नै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हो ।

जिंक

यो एक पोषक तत्व हो, जसले हाम्रो प्रतिरक्षा प्रणाली र मेटाबोलिज्मका लागि खास काम गर्छ । जिंकको आवश्यक्ता पुरा गर्न काजु, फर्सीको बियाँ जस्ता खानेकुरा जरुरी हुन्छ ।

नियमित व्यायाम

उमेर बढ्दै जाँदा शारीरिक गतिबिधि सुस्त हुँदै जान्छ । यसको अर्थ यो होइन कि, हामी पूर्णत निस्त्रिmय हुन्छौं । नियमित शारीरिक गतिविधिले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । यसले हाम्रो शरीरलाई संक्रामक रोगबाट बचाउँछ । त्यसैले शरीरलाई सक्रिय राख्नका लागि नियमित व्यायाम गर्नैपर्छ । व्यायामलाई आफ्नो दैनिकीको एक हिस्सा बनाउनुपर्छ ।

हाइड्रेटेड रहने

उच्च प्रतिरक्षा प्रणालीका लागि पानीको सेवन अत्यावश्यक छ । खासगरी गर्मी महिनामा पर्याप्त पानी वा झोलयुक्त खानेकुरा जरुरी हुन्छ । स्वस्थ व्यक्तीका लागि दैनिक आठ गिलास पानी चाहिन्छ । त्यसबाहेक झोलयुक्त खानेकुरा खानुपर्छ ।

तनावमुक्त हुने

तनाव कुनैपनि समस्याको समाधान होइन । तनावले आफैलाई दुःख दिने हो । हुन त घर व्यवहारको कारण, दैनिक कामकाजको कारण हामीमा कुनै न कुनै किसिमको तनाव पैदा हुनसक्छ । तनाव पूर्णत हटाउन सकिदैन पनि । तनावलाई व्यवस्थापन भने गर्न सकिन्छ ।

धूमपान छाडौं

चुरोटको रसायनले फोक्सोलाई नराम्ररी प्रभावित बनाउँछ । यो क्यान्सरको कारण बन्न सक्छ । त्यसैगरी फ्लु, ब्रोंकाइटिस, निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउन सक्छ । त्यसैले आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनका लागि चुरोट पिउने बानी त्याग्नैपर्छ ।

प्रकृतिसँग नजिक हुने

प्रकृतिसँग एकाकार हुने प्रयास गर्नुपर्छ । बनजंगल, चराचुरंगीसँग रमाउन सिक्नुपर्छ । माटो र पानीको सम्पर्कमा रहनुपर्छ । यसले तनावबाट मुक्त त राख्छ नै सकारात्मक सोंच चिन्तन पनि विकास गराउँछ ।

भिटामिन सि

टर्रो फल र सागसब्जी भिटामिन सिले भरपुर हुन्छ । यस्ता खानेकुराको सेवनले शरीरमा सेतो रक्त कोष बढाउन सहयोग गर्छ, जुन संक्रामक रोगबाट बचाउन जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment