Comments Add Comment

रमिता हेर्नेको भीडले घेरिएका मेलम्चीका बाढीपीडित

राहतको नाममा मेलम्ची बजारमा अस्वाभाविक भीड

६ असार, काठमाडौं । बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सेना तथा उद्धार टोलीको उपस्थिति पहिलो आवश्यकता हो । तर असार १ गते मंगलबार गएको बाढीपछि मेलम्चीमा प्रचारबाजी गरी राहत वितरण गर्ने तथा भिडियो खिच्नेहरूको अस्वाभाविक भीड बढेको छ ।

बाढीले मेलम्ची बजारको आधा भाग र हेलम्बू गाउँपालिकामा ठूलो क्षति गरेसँगै सिङ्गो देशको ध्यान सिन्धुपाल्चोकतर्फ केन्द्रित हुनु स्वाभाविक हो । यद्यपि घटनास्थलमा सरकारी संयन्त्रको काममा बाधा पर्नेगरी असम्बन्धित मानिसहरूको भीड बढेको छ ।

बुधबार बिहानदेखि शनिबारसम्म मेलम्ची बजारमा राहत वितरण टोली र प्रेसको नाममा प्रत्येक दिन तीन हजारभन्दा बढी मानिस पुग्ने गरेको मेलम्ची नगरपालिकामा कार्यरत एक कर्मचारीले बताए ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पीडितको नाममा जथाभावी राहत नउठाउन सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार पीडितसँग फोटो खिचाउने प्रतिस्पर्धा तथा भीड बढेकाले यस्तो सूचना जारी गरिएको हो ।

‘कसैसँग सम्पर्क नगरी सीधै मान्छेहरू बसेको ठाउँमा गएर जथाभावी बाँड्ने प्रवृत्ति शुरु भयो । यसले गर्दा सही ठाउँमा राहत पुग्न पाएन’, अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ पोखरेलले राहत वितरण व्यवस्थित पार्न लागिएको बताए ।

युट्युबरको तँछाडमछाड

शुक्रबार बिहान राजधानीका केही दैनिक पत्रिका तथासञ्चार माध्यमका पत्रकार स्थलगत रिर्पोटिङको लागि मेलम्ची पुगेका थिए । पत्रकारहरू पीडितसँग कुराकानी गर्ने अभिप्रायले इन्द्रवती माध्यमिक विद्यालयमा बाढी पीडितहरु बसेको शिविरमा प्रवेश गर्न खोजे ।

गेटमा बसेका प्रहरीले पत्रकार टोलीलाई भित्र जान दिएन । तर त्यति नै बेला विद्यालयभित्र राहत वितरण टोलीको ज्याकेट लगाएका युवाहरू पीडितको फोटो –भिडियो खिच्न व्यस्त थिए ।

हेल्प नेपाल समूह, जेसिज, युवा क्लब आदि लेखिएका पहेँलो ज्याकेट लगाएका सयौं युवाहरू घटनास्थलमा फोटो–भिडियो खिच्न तँछाडमछाड गर्दै थिए । उनीहरूका अस्वाभाविक प्रश्नले बाढी पीडितहरू झर्को मानिरहेका देखिन्थे ।

स्थानीयबासी राजेश लामा भिडियो खिच्नेको भीडले दिक्क बनाएको बताउँछन् ।

‘घरको माटो निकाल्दै गरेका मानिसलाई एक घन्टा बोल्न लगाएर काम नै बिथोलिदिन्छन्’ अनलाइनखबरसँग लामाले भने, ‘बुधबार दिउँसोदेखि भिडियो खिच्नेको भीडले दिक्क बनाएको छ ।’

अर्का स्थानीय ज्येष्ठ नागरिक भीमप्रसाद दंगाल पनि क्यामेरा बोकेका युवाहरूले भिडियोमा बोल्न भनेपछि आफूले बोलिदिएको सुनाउँछन् । दंगाल भन्छन्, ‘बा पहिला–पहिला कसरी बाढी आएको थियो भन्दै हैरान बनाएपछि बोलिदिएँ । आपतको बेला आफूले के बोलेँ भन्ने पत्तो भएन ।’

राहतको नाममा पनि प्रतिस्पर्धा

सिन्धुपाल्चोकको आकाशमा नेपाली सेनाको हेलिकप्टरभन्दा धेरै निजी कम्पनीका हेलिकप्टर राहत लिएर आइपुगेको देखिन्थ्यो । यस्तै ‘राहत वितरण कार्यक्रम २०७८’ लेखिएका ब्यानर झुण्ड्याइएका गाडीले गर्दा घटनास्थल पुग्ने बाटोमा जाम बढेको थियो ।

सवारी चाप बढेपछि मेलम्ची बजारको सानो–पुलभन्दा तलपट्टि नै प्रहरीले गाडी पार्किङ गर्न लगाएका छन् ।

स्थानीय रामेन्द्र श्रेष्ठ भने राहत वितरण गर्ने मानिस चारैतिर भएको सुनेपनि आफूले नभेटेको बताउँछन् । उनी सुनाउँछन्, ‘…घरमा क्षति नै नभएको मानिसलाई बीस हजार पैसा दिएछ । हामीले खानेकुरासम्म राम्ररी पाएका छैनौं ।’

राहत वितरणमा आउनेहरूमध्ये अधिकांशले जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रशासनसँग समन्वय नगरेको सिन्धुपाल्चोक जिल्ला प्रशासनले जनाएको छ । भीडले गर्दा कोरोना भाइरस फैलिने सम्भावना पनि बढेको प्रशासनले बताएको छ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment