+
+
Shares

नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्ण पुनर्निर्माण गरिने

अच्युत पुरी अच्युत पुरी
२०७८ असार ६ गते १८:३०

६ असार, काठमाडौं । पाँच दशक पुरानो नेपालको पहिलो पाँचतारे होटेल ‘डेल अन्नपूर्ण होटेल’को कौतिक संरचना पुनर्निर्माण हुने भएको छ । कोरोना भाइरसको महामारी शुरु भएपछि २०७६ चैतमा भएको लकडाउनपछि नै होटेल व्यवसायिक सञ्चालनमा छैन ।

होटेल अन्नपूर्णकी सञ्चालक तथा होटेल संघ नेपाल -हान)की अध्यक्ष सिर्जना राणाका अनुसार होटेलको वर्तमान भौतिक संरचना भत्काएर अब नयाँ स्वरुपमा निर्माणको काम सुरु हुनेछ ।

‘हाम्रा संरचना पुराना भएका थिए, त्यसकारण हामी उपयुक्त अवसरको खोजीमा थियौं,’ उनले अनलाइनखबरसँग भनिन्, ‘अब हामी नयाँ स्वरुपमा पुनर्निर्माण गर्दैछौं ।’

होटेलले आफ्ना कर्मचारीलाई स्वेच्छिक अवकाश दिएर बिदा गरेसँगै होटेल सँधैका लागि बन्द भएको आंशका गरिएको थियो । सञ्चालक राणा भने नेपाली होटेल उद्योगको गौरव समेत भएका कारण अन्नपूर्ण बन्द नहुने बताउँछिन् ।

‘हामी पनि समयअनुसार चल्नु पर्नेछ, समय प्रतिस्पर्धाको छ,’ उनी भन्छिन्, हामी त्यही अनुसार पुनर्निर्माण गर्दैछौं ।’

काठमाडौंको दरवारमार्गमा अवस्थित यो होटल अझ स्तरीय सेवासहित सञ्चालनमा आउने उनले बताइन् । दरवारमार्गमा करिब ४४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा नेपाल ट्रष्टको समेत ५ प्रतिशत लगानी छ ।

सन् १९६५ मा सञ्चालनमा आएको यो होटेलले गत वर्ष नै ३ सय ५० भन्दा बढी कर्मचारीलाई बिदा गरेको थियो । अन्नपूर्ण होटेल सञ्चालनमा आएको एक वर्षपछि ताहाचलमा सोल्टी होटेल खुलेको थियो । यी होटेल नेपाली होटेल उद्योगको इतिहास बोकेका प्रतिष्ठान हुन् ।

कम्तिमा ५ वर्ष लाग्ने

यो होटेल पुनर्निर्माणमा कम्तिमा ५ वर्ष लाग्ने सञ्चालक राणाले जानकारी दिइन् । उनका अनुसार होटेलका संरचनाहरु निर्माण गर्ने योजना लामै समयदेखि चलेको थियो । तर, लकडाउन अगाडि राम्रो विजनेश पाइरहेका कारण त्यसको आँट गर्न नसकिएको उनी बताउँछिन् ।

‘कोरोना अगाडि राम्रो व्यापार थियो, त्यो अवसर हामीले गुमाउन चाहेका थिएनौ,’ उनले भनिन्, ‘अब भने हाम्रो योजना कार्यान्वयन गर्ने समय आएको छ ।’

यसका लागि आर्थिक स्रोतको जोहोदेखि अन्य योजना बनिरहेको उनले जानकारी दिइन् । कोरोना महामारीका बीच विगत डेढ वर्षदेखि नेपालमा विदेशी पर्यटक आएका छैनन् । यसले नेपालको पर्यटन र होटेल उद्योग नराम्रोसँग प्रभावित भएको छ ।

होटेल संघ नेपाल -हान)की अध्यक्ष समेत रहेकी होटेलकी संचालक राणाका अनुसार पछिल्लो डेढ वर्ष देखि होटेल व्यवसायी पर्ख र हेरको अवस्थामा छन् ।

सन् २०२० को भ्रमण वर्षलाई लक्षित गरि आएको ठूलो लगानी जोखिममा पर्ने अवस्था आएको छ । सन् २०२१ को डिसेम्बरसम्म पनि परिस्थितिमा सुधार नभए धेरै होटेल व्यवसायीले पलायनको बाटो रोज्ने जोखिम रहेको उनी बताउँछिन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?