Comments Add Comment

विद्यालय भवन बाढीले बगाएपछि विद्यार्थी र अभिभावक अन्योलमा

तस्वीर सौजन्य : दामोदर भारती, प्रधानाध्यापक, इष्ट पोइन्ट एकेडेमी

६ असार, सिन्धुपाल्चोक । हेलम्बुको एक विद्यालयको भवन बाढीले बगाएपछि विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् । हेलम्बु गाउँपालिका–४ स्थित ईष्ट पोइन्ट एकेडेमीको भवन मेलम्चीमा आएको बाढीले बगाएको हो ।  विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ ।

अधिकांश विद्यार्थीले पुस्तकसमेत किनिसकेका थिए भने विद्यालयले भर्ना गर्न पनि सुरु गरिसकेको थियो । विद्यालयको अवस्था थाहा पाएका विद्यार्थी तथा अभिभावकहरुमा चिन्ता र अन्योल बढेको प्रधानाध्यापक दामोदर भारतीले बताए ।

‘हेलम्बु गाउँपालिका बाहिरका अभिभावक, विद्यार्थीहरु चिन्तित हुन थालेका छन् । बाढीबाट प्रभावित भएका बालबालिका तथा अभिभावकहरु दोहोरो चिन्तामा परेका छन्,’ उनले भने ।

गएको शैक्षिक सत्रमा ५५० जना विद्यार्थी रहेको विद्यालयमा अध्ययनरत करिब डेढ सय विद्यार्थीका अभिभावक बाढीबाट प्रभावित भएका छन् ।

बाढीले क्षतिग्रस्त बनेको विद्यालयको भवन

विद्यालयले विद्यार्थी तथा अभिभावकको चिन्तालाई मध्यनजर गर्दै अब कसरी अगाडि बढ्ने भन्नेमा अभिभावकहरुसँग छलफल गर्ने तयारी गरिरहेको छ । बाढी गएको दिनबाट बिजुली समेत नभएकाले सबै विद्यार्थी तथा अभिभावकसँग सम्पर्क हुन नसकिरहेको र प्रभावकारी रुपमा छलफल गर्न नसकिरहेको प्रधानाध्यापक भारतीले बताए ।

तत्काल संरचना बनाउन सकिने अवस्था नभएकाले अनलाइनबाट विद्यार्थीलाई पढाइसँग जोड्न सकिने विकल्पको बारेमा विद्यालयले शिक्षकहरुबीच छलफल सुरु गरेको उनले बताए । विद्यालयभन्दा करिब पाँच सय मिटर पर रहेको प्रधानाध्यापक भारतीको घर पनि बाढीले बगाएको छ ।

भूकम्पपछि बनेको नयाँ भवन

बाढीले बगाएको विद्यालयको भवन २०७२ सालको भूकम्पपछि बनेको हो । २०६३ सालमा स्थापित विद्यालय भूकम्प अघि हालको स्थान ढुंग्रेबजारभन्दा करिब ५ सय मिटरमाथि ग्याल्टोङ भन्ने स्थानमा रहेको थियो ।

भूकम्पले उक्त विद्यालयको भवन भत्काएपछि ढुंग्रेबजारमा अभिभावकको श्रमदान र विद्यालयको लगानीमा बनेको प्रधानाध्यापक भारतीले जानकारी दिए ।

विद्यालयको भवन पूर्ण रुपमा बगाउँदा समेत अहिलेसम्म गाउँपालिका र वडा कार्यालयले कतैबाट पनि चासो नदिएको प्रधानाध्यापक भारतीले गुनासो गरे । ‘स्थानीय सरकारबाट हामी छौं भन्ने अभिभावकत्व वचन मात्रै पनि पाएका छैनौं,’ उनले भने ।

विद्यालयको अवस्था देखेर विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न नदिनका लागि सकेसम्म छिटो अनलाइन कक्षा सुरु गर्ने गरी तयारी गरेको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment