Comments Add Comment

मेलम्चीको सुरुङ खाली गर्न कठिनाइ, सेनाको सहयोग खोजिँदै

७ असार, काठमाडौं । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको निर्माणाधीन बाँध, पानी प्रशोधन केन्द्रसहितको संरचना पुरियो । हेडवर्क्स क्षेत्रको ड्रोन भिडियोको विश्लेषणपछि आयोजनाको निष्कर्ष छ, ‘हेडवर्कससम्मको पहुँचमार्ग जति छिटो बन्छ, त्यति नै छिटो आयोजनाको काम फेरि सुरु गर्न सकिन्छ ।’

तर, आयोजनालाई तत्कालै आयोजनाको सुरुङ खाली गराउन अम्बाथानको अडिट सुरुङसँगैको गेट खोल्नुपर्ने बाध्यता छ । आयोजनासम्म पहुँच सडक पुनस्थापित नभई यो काम सहज छैन । त्यसैले आयोजनाका अधिकारीहरु सरकारको पहलमा सेनाको सहयोग लिएर यो काम फत्ते गर्न सकिन्छ कि भन्ने अपेक्षामा छन् ।

आयोजना प्रमुख रामकुमार श्रेष्ठका अनुसार प्राविधिक र विज्ञसहितको टोली आयोजनासम्म पुग्ने लक्ष्य लिएर शनिबार मेलम्ची गएको थियो । तर, मेलम्ची बजारभन्दा ३ किलोमिटरमाथिसम्म पुगेपछि टोली अघि जान नसकेर फर्कियो ।

मेलम्चीमा अहिले पनि बाढी आइरहेको र बाढीको सतह समय-समयमा घटबढ भइरहेकाले मेलम्चीको आयोजना क्षेत्रसम्म पुग्न नै कठिन भएको श्रेष्ठले बताए । ‘जोखिम लिएर जान मिलेन, तर सोमबार हाम्रो टोलीले एकपटक फेरि प्रयास गर्छ,’ उनले भने, ‘हेडवर्क्ससम्म पुगेर त्यहाँको संरचना कुन हालतमा छ हेर्न कोसिस हुन्छ ।’

यो आयोजनाको हेडवर्क्स मेलम्ची किनारमै पर्छ । बाढीपछि हेडवर्क्समाथिबाट खोला बगिरहेको छ । तर, आयोजनाको बाँध र पानी प्रशोधन गर्न बनाइएको संरचनालाई बालुवाले पुरेकाले ठूलो क्षति नपुर्‍याएको अनुमान आयोजनाको छ । तर, यसको वास्तविक अवस्था जाँच गर्न विज्ञ टोली आयोजनास्थलसम्म पुग्नुपर्छ ।

बाढीपछि आयोजना स्थलसम्म जाने पहुँचमार्ग नै बगाएको छ । यसअघिको पहुँचमार्ग बनाइएको स्थानमा अहिले खोला बगिरहेकाले त्यहाँसम्म कसरी पुग्न सकिन्छ भनेर आयोजनाले विकल्पहरुबारे छलफल थालेको छ ।

‘चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले आफ्ना ३ जना प्राविधिक पनि बगाएको र पहुँचमार्ग समेत नभएकाले तत्कालै काम थाल्न नसकिने बताइरहेको छ,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘अब हामीले पहुँचमार्ग त बनाउनै पर्छ, कसरी बनाउन सकिन्छ भनेर अध्ययनकै क्रममा छौं ।’

सडकका लागि आयोजना तहभन्दा माथिल्लो स्तरबाट पहल लिनुपर्ने आयोजनाका अधिकारीहरु बताउँछन् । खोलाको किनारबाट बनाउन नसकिने अवस्थामा भीरको बाटो भएर सडक बनाउनु पर्ने अवस्था रहेकाले सहज छैन । रुख कटानसहितका कामका लागि प्रक्रिया पूरा गर्नुपर्ने हुनसक्छ ।

त्यसमाथि वर्षायाम भर्खरै सुरु भएको र उत्तरी भेगमा झरेको भनिएको पहिरोको सबै भाग बगेर नआइसकेको चर्चा भइरहेकाले पनि आयोजनाका अधिकारीहरु अन्योलमा छन् । वर्षा नसकिँदै फेरि काम सुरु गर्दा ठूलो दुर्घटना हुने जोखिम भएकाले पनि कसरी काम गर्न सकिन्छ भन्नेबारे आयोजना अनिणिर्त बनेको छ ।

समस्या आयोजनामा फेरि काम थाल्न मात्रै छैन, आयोजनाको सुरुङ खाली गर्न पनि छ । असार १ गते बिहान ११ बजे सुपरीवेक्षणको लागि सुरुङ बन्द गरेको ८ घण्टा नबित्दै आयोजनाको हेडवर्क्समा बाढी पसेको थियो ।

यो पनि पढ्नुहोस बाढीपछि क्षतिग्रस्त बन्यो मेलम्ची आयोजना (भिडियो र फोटो)

आयोजना प्रमुख श्रेष्ठका अनुसार अहिले सुन्दरीजलबाट पानी फालेर सुरुङ खाली गरिँदैछ । प्रोटोकलअनुसार क्रमैसँग सिन्धु, ग्याल्थुम र अम्बाथानको फ्लसिङ गेट खोल्नुपर्ने हुन्छ । तर, अम्बाथानको फ्लसिङ गेटसम्म जाने सडक नै छैन । गेटको बाहिरबाट गएर पानी खोल्न नसकिने अवस्था छ ।

‘अब हेलिकप्टरबाट एक्स्काभेटर लगेर खोल्न सकिन्छ कि भनेर छलफलमा छौं,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘यो आकस्मिक अवस्था हो, त्यसैले यसमा सेनाको पनि सहयोग चाहिन सक्छ, आकस्मिक अवस्था हेरेर सहयोग लिन सरकारसँग छलफल गरिरहेका छौं ।’

अम्बाथानबाट पानी खोलेपछि मात्रै सुरुङ रित्तिनेछ । त्यसपछि सुरुङभित्र गएर सुपरीवेक्षण गर्ने तालिका छ । यसअघि १५ दिनभित्र खाली गरेर अर्को १५ दिनमा सुपरीवेक्षण सकाउने योजना थियो । सुरुङभित्र समस्या देखिएमा त्यसलाई समाधान गरेर काठमाडौंमा पानी झार्न थप १ महिनासम्म लाग्नसक्ने अनुमान थियो ।

तर, बाढीपछि सुरुङ खाली गर्न नै समस्या पर्ने अवस्था आएको छ । खाली भएपछि पनि सुरुङसहितको हेडवर्क्सका संरचना पनि जाँच्नुपर्ने हुन्छ । यदि बाँधमा क्षति पुगेको अवस्था भए अस्थायी बाँध बनाएर मात्रै पानी सुरुङमा हाल्न सकिन्छ।

तर, अहिलेसम्म आयोजना स्थलसम्म प्राविधिकहरु पुग्न नै नसकेकाले आयोजनाको भविष्य के हुन्छ भन्नेबारे अन्योल कायम छ ।

तालिका अनुसार सुरुङभित्र गर्न सकिने काममा पनि सुरक्षाको सवाल आउनसक्ने भएकाले यो वर्षायामभरि आयोजनाबाट काठमाडौंमा पानी ल्याउने काम सहज देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment