
७ असार, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका-३ सल्लेरीका बाढी पीडितलाई हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ ।
सिमि्रक एयरमार्फत सोमबार टेन्ट, खाद्यान्नलगायतका राहत सामग्री लगिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
‘सल्लेरीका पीडितका लागि ३० थान साउदी टेन्ट, ४८ बोरा चामल -प्रतिबोरा ३० किलो), १२० केजी दाल, ६० लिटर तेल र १०० किलो नून छ,’ उनले भने, ‘हेलिकप्टरमार्फत ढुवानी गरिरहेका छौँ ।’
तौल बढी भएका कारण एकै पटक सबै सामान ढुवानी गर्न नसकिएको उनले बताए । ‘एउटै टेन्ट ६० किलो तौलको छ, हेलिकप्टरले एक पटकमा दशभन्दा बढी लान नसक्ने रहेछ, त्यसैले तीन/चार खेप गरिरहेको छ,’ उनले भने ।
उक्त टेन्ट गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको प्रजिअ पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी गोरखाशाखा र गैरसरकारी संस्था महासंघ गोरखाको समन्वयमा खाद्यान्न जुटाइएको हो ।
माउण्टेन चाइल्ड नामक संस्थाको सहयोगमा हेलिकप्टरचार्टर गरी राहत सामग्री ढुवानी गरिएको प्रजिअ पौडेलले बताए ।
अविरल वर्षका कारण पानीको बहाव बढेर यही असार २ गते सल्लेरी काचार घर बगाएको थियो भने केही घर जोखिममा परेका थिए ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार सल्लेरीका ५ घर बगाएको र २१ घर परिवार विस्थापित भएका छन् ।
विपद् व्यवस्थापन समितिबाट राहतस्वरुप उनीहरुलाई नगदसमेत वितरण गरिने प्रजिअ पौडेलले बताए । ‘घर बगाएकालाई प्रतिघरपरिवार ३० हजार र विस्थापितलाई प्रतिघरपरिवार १५ हजार नगद वितरण गर्छाैँ,’ उनले भने ।
सल्लेरीमा राहत बचत भएमा अन्यत्र वितरण गर्ने योजना रहेको उनको भनाइ छ । हेलिकप्टर चार्टरमा सहयोग गरेको माउण्टेन चाइल्ड नामक संस्थाले पीडितका लागि हाइजिन किट पनि वितरण गर्ने बताउको छ।
प्रतिक्रिया 4