Comments Add Comment

बालीमा विषादीको प्रयोग : उपभोक्ताले जान्नैपर्ने कुरा

शुरूआत परिभाषाबाटै गरौं । विषादी व्यवस्थापन ऐन २०७६ का अनुसार विषादी भन्नाले कुनै पनि अर्गानिक, वनस्पतिक, जैविक र रासायनिक पदार्थ, जसको प्रयोगले बोट–बिरुवा, कृषि उपज, मानिस, पशुपन्छी र समग्र वातावरणलाई शत्रुजीव जस्तैः कीरा, रोग, झार, मुसा, शंखेकीरा, परजीवी र भाइरसबाट बचाउन सकिन्छ ।

यो परिभाषा खाद्य तथा कृषि संस्थाले दिएको परिभाषासँग मिल्दोजुल्दो छ । यही परिभाषालाई नै आधार मानेर हेर्ने हो भने विषादीको प्रयोग कृषि बालीलाई शत्रुजीवबाट बचाउनको लागि गर्ने हो । शत्रुजीवहरूलाई मार्ने होइन । गल्ती यहींबाट शुरू भएको छ । कागजमा लेखिएका तथ्य र बारीमा अपनाइएका विधि बीच कुनै तालमेल नै छैन ।

बनाउनको लागि मात्र बनाइएका ऐन, नियम र कार्यविधिले विषादीको प्रयोग र यसका असरहरू घटाइरहेका छौं भनिरहेका होलान् तर वास्तविकता फरक छ । विभिन्न अध्ययन हेर्ने हो भने आधारभूत शिक्षासम्म नपाएका हाम्रा धेरैजसो किसानलाई यसले छुन मात्र पनि सकेको छैन । कार्यान्वयन त धेरै परको कुरा हो ।

राष्ट्रिय विषादी प्रयोग तथ्यांक २०१६ अनुसार नेपालमा विषादीको प्रयोग ०.३९६ ग्राम ए.आई./हेक्टर रहेको छ । नेपालमा प्रयोग हुने विभिन्न विषादीमध्ये ढुसीनाशक विषादी सबैभन्दा धेरै, ४८ प्रतिशत प्रयोग हुने गर्दछ ।

नेपालमा वर्षेनि १०–२० प्रतिशतका दरले विषादीको प्रयोग बढी रहेको छ । नेपालमा भित्रिने विषादीमध्ये ९० प्रतिशत तरकारीमा प्रयोग हुन्छ । तुलनात्मक रूपमा विश्वको औसत भन्दा नेपालको विषादी प्रयोग कम छ, तर पनि हाम्रो निर्वाहमुखी कृषि प्रणालीको लागि भने धेरै नै हो ।

अर्गानिक खेतीमा फल सानो, केही भाग कीराले खाएको, केही भागमा रोग हुन सक्छ । तर विषादी खानुभन्दा फलको छेउमा लागेको थोरै रोग फालेर खानु ठीक भन्ने उपभोक्ताले थाहा पाउनै पर्छ ।

हामी जति–जति विषादीको प्रयोग घटाउने कुरा चलाउँदै जान्छौं, प्रत्येक वर्ष उतिउति नै बढ्दै गएको तथ्यांकले देखाउँछ । अझ कृषिको कुर्सीमा बस्नेहरूले विषादीको प्रयोग घटाउँदै पूर्ण अर्गानिकतिर लम्किंदैछौं भन्नु आफूले आफैंलाई ठग्नु जस्तो मात्र हो ।

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनेर त घोषणा गरेको छ, तर पनि राजधानी वीरेन्द्रनगर र अन्य जिल्ला सदरमुकाममा भएका विषादी पसलहरूले भने कुनै पक्षबाट अर्गानिकको संकेत दिंदैनन् । केवल देख्नेका आँखामा छारो हाल्ने काम मात्र हो ।

समस्या राज्यको नीतिमा मात्रै छैन । विषादी बिक्रेताको आचरण, उपभोक्ताको माग र किसानको हेलचेक्र्याइँमा पनि समस्या छन् । विषादी बिक्रेताहरूलाई कृषि प्रसारको एउटा महत्वपूर्ण संवाहक मानिन्छ । अझ बाली संरक्षणमा त विषादी बिक्रेताहरू किसानको पहिलो गुरु नै हुन् । तर के तिनीहरूले साँच्चिकै सकारात्मक खेल खेलिरहेका छन् त ?

किसान र वातावरणप्रतिको उत्तरदायित्व हामीले भने जस्तै छ त ? विषादी बिक्री गर्नु व्यवसाय हो । व्यवसायमा नाफा हेरिन्छ । सेवा अलि परै राखेका हुन्छन् । बिक्रेताहरू लाइसेन्सप्राप्त, तालिमप्राप्त र शिक्षित त छन् तर ऐन कानूनले तोकेका, अनुसन्धानले देखाएका स्वास्थ्य मापदण्डहरू आफैंले पालना गर्दैनन् ।

एकीकृत शत्रुजीव व्यवस्थापन अन्तर्गतका कीराको पासो, आकर्षण–विकर्षण गर्ने रसायनहरू पसलमा पाइँदैनन् । एग्रोभेटहरूका धेरै पटक धेरै प्रकारका सर्वेक्षण भएका छन् । एकचोटि सर्सर्ती तिनीहरूलाई नियालेर हेरौं त– पसलमा काम गर्दा व्यक्तिगत सुरक्षाकवच लगाउनुपर्ने भनिएको छ । तर मास्कसम्म नलगाएको पाइन्छ ।

विषादीको रेकर्ड पुस्तिका बनाउनुपर्ने, बोतल वा प्याकेटमा दिइएको संकेत र निर्देशनको प्रयोग गरेपछि फल टिप्न पर्खनुपर्ने समयको बारेमा किसानलाई बुझाउनु र मिति सिद्धिएका विषादीको उचित व्यवस्थापन गर्नुपर्ने जस्ता कामहरू प्रायः विषादी बिक्रेताहरूले गरेको पाइँदैन ।

उपभोक्ताका मागहरू पनि अचम्मका हुन्छन् । फलफूल तथा तरकारी किन्दा आँखाले हेरेर मात्र किन्ने प्रवृत्तिले पनि समस्या खडा गरेको छ । सफा, चिल्लो, हेर्दा आकर्षक देखिने चाहिन्छ । हामीलाई विषादी नहालेको अर्गानिक चाहिन्छ । यी दुवै माग एकैचोटि पूरा हुन सक्दैन भन्ने थाहा छ कि छैन ?

अर्गानिक खेतीमा फल सानो हुन सक्छ । थोरै अमिलो हुन सक्छ । केही भागमा कीराले खाएको हुन सक्छ । केही भागमा रोग हुन सक्छ । विषादी खानु भन्दा फलको छेउमा लागेको थोरै रोग फालेर खानु ठीक हुन्छ भन्ने कुरा उपभोक्ताले कहिले बुझ्ने ?

समयमा काम नगर्ने उक्ति यदि कसैलाई लागू हुन्छ भने सबैभन्दा बढी हाम्रा किसानलाई हुन्छ । बारीमा बीउ फालेदेखि हात बाँधेर बस्ने अनि एक्कासी बारीमा रोग तथा कीराको प्रकोप देखिन थालेपछि र राम्रो उत्पादन नहुने जस्तो देखेपछि आत्तिंदै कृषि सेवा कार्यालय र एग्रोभेट पुग्ने हुनाले त्यसबेला विषादीको प्रयोग सुझाउनु बाहेक अरू कुनै उपाय नै बाँकी रहँदैन ।

बुझ्नैपर्ने कुरा

पहिलो कुरा, विषादीको प्रयोग विना पनि कृषि हुन्छ भन्ने बुझ्नुपर्छ । एकीकृत बाली व्यवस्थापन विधि अपनाएर कृषि गर्‍यो भने पक्कै नाफामूलक कृषि हुनेछ । बाली रोप्दादेखि भित्र्याउँदासम्म उचित रेखदेख गर्‍यो भने, पक्कै संरक्षण हुनेछ ।

कीराहरूको सम्पूर्ण नाश सम्भव छैन । विषादीको प्रयोगले केही कीराहरू मारेर बाली त बचाइरहेका हौंला, तर आफूले आफैंलाई मारिरहेको यथार्थ नकार्न भने सकिंदैन । यसको असर परागसेचन गर्ने तथा अन्य फाइदाजनक कीराहरू, पशुपन्छी, माटो, मानिस र समग्र वातावरणमा नै पर्ने गर्दछ ।

हाम्रो बालीमा लाग्ने कीरा तथा झारहरू हानिकारक मात्र होइन, केही फाइदाजनक पनि छन् । विश्वले खाने खाना उत्पादनको लागि महत्वपूर्ण परागसेचन पनि यिनै कीराहरूले गर्दछन् । माटो उर्बर बनाउने र उत्पादन वृद्धि गर्ने फाइदाजनक कीराहरू पनि हुन्छन् ।

बालीको लागि हानिकारक भनिएका कीराहरूको वातावरण र जैविक विविधतामा भने निकै नै महत्वपूर्ण भूमिका हुने गर्दछ । मानिसको विकासक्रम हेर्ने हो भने उत्पत्ति पनि यिनै भाइरस, परजीवी र कीराहरू हुँदै भएको हो । तर आजकल हामीहरू तिनै कीराहरू सकी–नसकी मार्न लागिपरेका छौं ।

तर कीराहरूको सम्पूर्ण नाश सम्भव छैन । विषादीको प्रयोगले केही कीराहरू मारेर बाली त बचाइरहेका हौंला, तर आफूले आफैंलाई मारिरहेको यथार्थ नकार्न भने सकिंदैन । यसको असर परागसेचन गर्ने तथा अन्य फाइदाजनक कीराहरू, पशुपन्छी, माटो, मानिस र समग्र वातावरणमा नै पर्ने गर्दछ ।

विषादीको अवशेष लामो समयसम्म रहिरहने र मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पर्ने गर्दछ । विषादीले रोग–कीराहरू नियन्त्रण मात्र होइन, यसको प्रकोप झन् बढाएको हामीसँग धेरै उदाहरण छन् ।

प्रतिनिधि उदाहरणको लागि धानको फड्के कीरालाई लिन सक्छौं । अहिले दक्षिण एसियामा धानको प्रमुख समस्या यो कीरा हो । पहिले यो कीराले धानमा खासै नोक्सान गर्दैनथ्यो । तर, विषादीको अनियन्त्रित प्रयोगले अहिले यो ठूलो समस्याको रूपमा खडा भएको छ ।

बढ्दो जनसंख्याका कारण सबै पेटहरू भर्न उत्पादन बढाउन त जरूरी छ । तर, यसकै कारण नजानिंदो पाराले आफूले आफैंलाई नै मार्नु कत्तिको उचित होला ? यिनीहरू पनि जीवित प्राणी हुन् र बाँच्नको लागि खानुपर्छ । अनि हाम्रो बाली नखाएर के खान्छन् त ? हाम्रो कृषि यसरी अगाडि बढाऊँ कि ‘सर्प पनि मरोस् लौरो पनि नभाचियोस् ।’ हाम्रो बाली रोग–कीराबाट पूर्ण सुरक्षित होस् र ती रोग–कीरालाई नियन्त्रणमै राखेर उचित फाइदा लिंदै मानव स्वास्थ्यमा कुनै नकारात्मक असर पर्न नदिई वातावरण बचाउन सकियोस् ।

निष्कर्ष

यदि साँच्चिकै विषादीको प्रयोग र यसबाट हुने नकारात्मक असर घटाउने हो भने सुनेकै भरमा प्राविधिक र विषादी बिक्रेताहरूले विषादी सिफारिश गर्न बन्द गर्नुपर्दछ । बाली रोप्नुपूर्व नै रोपेदेखि काट्दा वा फल टिप्दासम्म, बिरुवाको विभिन्न अवस्थामा आइपर्ने समस्याको किसानलाई जानकारी गराउनुपर्दछ ।

एकीकृत शत्रुजीव व्यवस्थापन विधिहरू जस्तैः बाली चक्र, अन्तर बाली, मल तथा सिंचाइको व्यवस्थापन, स्वस्थ बीउ, घरेलु विधिबाट बीउ उपचार, कीराको पासो र रोग–कीरा सहन सक्ने जातको छनोट गर्ने विधि अपनाई क्षति घटाउनुपर्दछ ।

विषादीको प्रयोगलाई अन्तिम उपायको रूपमा लिनुपर्दछ । प्राविधिकले बारीमा रोग–कीराको प्रकोप, अवस्था, नोक्सानी र क्षतिको राम्रोसँग निरीक्षण गरेर मात्र व्यवस्थापनको विधि सिकाउनुपर्दछ ।

सुरक्षित मानिएका जैविक र वनस्पतिक विषादीहरूका साथै झोल मलको प्रयोग गर्नुपर्दछ । हानिकारक रासायनिक विषादी प्रयोग गर्नुहुँदैन । पक्कै पनि राज्य, विषादी बिक्रेता र किसानले यति कुरा मनन गर्ने हो भने बिरुवा, पशु र मानव स्वास्थ्यमा कुनै असर पर्न नदिई खाद्य सुरक्षा र सम्प्रभुताको सुनिश्चित हुनेथियो ।

(खड्का कृषि तथा वन विज्ञान विश्वविद्यालयको कीट विज्ञान विभाग, रामपुर, चितवनमा स्नातकोत्तर अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment