Comments Add Comment

युरोकपमा समूह चरणमा बेल्जियमको पनि शतप्रतिशत जित

८ असार, काठमाडौं । बेल्जियम समूहमा अपराजित रहँदै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गतत सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले शतप्रतिशत जित हात पारेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी सकिए पनि दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।

फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५औं मिनेटमा आत्मघाती गोल गरे । ८१औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासमा गोल गरे ।
त्यसअघि ६५औं मिनेटमा लुकाकुले गोल गरे पनि अफसाइड देखिएकोले मान्यता पाएन ।

जितपछि बेल्जियम ३ खेलबाट ९ अंक जोड्दै समूह बी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

यसअघि पहिलो खेलमा रुसलाई ३-० ले हराएको बेल्जियमले दोस्रो डेनमार्कलाई २-१ ले हराएको थियो ।
उता पहिलो पटक युरोकप खेलेको फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।
फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।

समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो ।

पहिलो खेलमा डेनमार्कलाई १-० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १-० ले नै पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment