Comments Add Comment

सावित्राको घुँडाको उपचार कतारमा हुने

८ असार, काठमाडौं । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको उपचार कतारमा हुने भएको छ । सावित्राको उपचार कतारको एस्पटर हस्पिटलमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाका अनुसार सावित्रा उपचारका लागि यही जुन २६ अर्थात असार १२ गते कतार जानेछिन् । गत फागुनमा राष्ट्रिय महिला लिगको क्रममा नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा एफीएफकी सावित्रा घाइते भएकी थिइन् ।

त्यसपछि उनको एमआरआई गर्दा दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्टमा च्यातिएको पाइएको थियो । घुँडामा चोट लागेपछि उनले करिब एक वर्ष मैदान बाहिर बस्नुपर्ने भएको थियो ।

राष्ट्रिय लिगमा सावित्राले १० खेल खेल्दै ४३ गोल गरेकी छिन् । घाइते भएपछि एन्फाले सावित्राको उपचारमा सहयोग गर्ने जनाएको थियो । यसअघि एन्फाले विमल घर्ती मगर र विक्रम लामाको उपचार पनि कतारमै गराएको थियो ।

नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक ३८ गोल गरेकी सावित्रा पछिल्लो समय राष्ट्रिय टिमको महत्वपूर्ण खेलाडीको रुपमा छिन् । भारतमा लिग खेलिसकेकी सावित्रा युरोपमा खेल्नका लागि एजेन्टको खोजीमा समेत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment