Comments Add Comment

पुरस्कारवापत पाउने ५ लाखसम्म कर नलाग्ने, कस्तो आम्दानीमा कति कर ?

८ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको पुरस्कारवापत पाउने ५ लाखसम्मको रकममा कर नलाग्ने भएको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ मा भएको व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि भएका व्यवस्थाबारे सार्वजनिक गरेको विवरण अनुसार पुरस्कारवापत भुक्तानी हुने ५ लाखसम्मको रकममा कुनै पनि प्रकारको कर लाग्ने छैन ।

विभागका अनुसार साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान प्रविधि तथा सार्वजनिक प्रशासनको क्षेत्रमा योगदान पु¥याएवापत प्राप्त हुने ५ लाखसम्मको पुरस्कारका कर कट्टी गर्नुपर्ने छैन । यस वर्ष पत्रपत्रिकामा लेख रचना छापिएपछि हुने भुक्तानीमा समेत कर काट्नु नपर्ने व्यवस्था गरिएको छ । कर छूट पाएको रकम भुक्तानीमा कर कट्टी हुने छैन । सहकारी बैंक तथा सहकारी संघसंस्थाले एक आपसमा ऋण लगानीवापत तिरेको करमा समेत कर काट्न नपर्ने व्यवस्था भएको छ । तर, आकस्मिक लाभमा भने २५ प्रतिशत कर कट्टी हुनेछ ।

पारिश्रमिकमा ३६ प्रतिशतसम्म कर

रोजगारीको आय (पारिश्रमिक)मा भने साविकमा जस्तै ३६ प्रतिशतसम्मको करलाई निरन्तरता दिइएको छ । वार्षिक ४ लाखसम्मको आम्दानी (अविवाहित) हुनेले १ प्रतिशत सामाजिक सुरक्षा कर तिरे पुग्छ । दम्पत्तिको हकमा यसको सीमा ४ लाख ५० हजार छ । यहाँबाट माथि ३६ प्रतिशतसम्मको कर लाग्ने प्रावधान रहेको छ । अधिकतम आयकर लाग्ने दर भने २० लाखभन्दा माथिको पारिश्रमिक आयमा हो ।

उत्तर पुस्तीका जाँच, बैठक भत्तामा १५ प्रतिशत कर

बैठक भत्तावापत बुझ्ने रकममा एकमुष्ट १५ प्रतिशतका दरले कर कट्टी हुने भएको छ । पटेक रुपमा गरिने अध्यापनबाट प्राप्त हुने आम्दानीमा समेत एकमुष्ट १५ प्रतिशतका दरले कर कट्टी हुनेछ । प्रश्नपत्र तयार गर्ने वा उत्तर पुस्तिका जाँच गरेवापत समेत १५ प्रतिशत रकम कट्टी हुनेछ ।

नेपाल सरकारबाट भएको अवकास भुक्तानी वा स्वीकृति अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानीबाट रकम बुझ्दा ५ लाखसम्मको रकममा कर लाग्ने छैन । त्यसभन्दा माथिको रकममा भने ५ प्रतिशत कर कट्टी हुने प्रावधान राखिएको छ ।

सवारी साधन भाडामा दिएमा 

मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिले त्यस्तो भाडाबाट आउने रकमबाट १.५ प्रतिशत रकम करका रुपमा कट्टी हुनेछ । व्यवसाय गरेको व्यक्ति बाहेक आफ्नो जग्गा वा क्षेत्रमा जडान भएका उपकरणहरुको भाडा भुक्तानी गर्दा १० प्रतिशत कर कट्टी हुनेछ । उदाहरणका लागि टेलिकम कम्पनीले टावरको भुक्तानी गर्दा घरधनी वा जग्गाधनीलाई दिनुपर्ने रकमको १० प्रतिशत काटिने भएको छ ।

म्यूचअल फण्डको प्रतिफलमा ५ प्रतिशत कर

आगामी आवमा सामुहिक लगानी कोष (म्यूचअल फण्ड)बाट वितरण हुने प्रतिफलमा ५ प्रतिशत कर लाग्नेछ । ढुवानी सेवा वापतको तथा ढुवानी साधन भाडामा र्दि वापतको भुक्तानीमा भने २.५ प्रतिशत कर लाग्ने भएको छ ।

विदेशी विश्व विद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शूल्क वापतको भुक्तानीमा ५ प्रतिशत कर कट्टी हुनेछ । लाभाशं, लगानी बीमाको लाभ, स्वीकृति नलिएको अवकाश कोषबाट लाभको भुक्तानी, निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी बण्डको भुक्तानी गर्ने ब्याजमा समेत ५ प्रतिशत कर कट्टी हुने भएको हो ।

यसैगरी सेयर कारोबार गर्नेहरुको हकमा सरकारले दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विभागका अनुसार नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको कम्पनीबाट प्राप्त लाभको भुक्तानी गर्दा ३६५ दिन भन्दा बढीको स्वामित्व भएको सेयरको लाभ रकममा ५ प्रतिशत मात्र कर लाग्ने छ ।

तर, ३६५ भन्दा कम अवधिको रकममा भने ७.५ प्रतिशत बढी कर लाग्ने छ । निजी भवन वा जग्गाको किनबेचबाट प्राप्त भएको पूँजिगत लाभकर भने ५ वर्षभन्दा बढी स्वामित्व भएकोको हकमा २.५ प्रतिशत र ५ वर्षभन्दा कमको हकमा ५ प्रतिशत कर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment