Comments Add Comment

ओलम्पिकमा पदक जित्ने लक्ष्य राख्नुपर्छ : उपराष्ट्रपति पुन

९ असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ओलम्पिकमा नेपालले पदक जित्ने लक्ष्य लिनुपर्ने बताएका छन् । त्यसका लागि नेपाली खेलकुद क्षेत्रले त्यसै अनुसारको योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल ओलम्पिक कमिटीले बुधबार आयोजना गरेको ओलम्पिक डे २०२१ को कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले ओलम्पिक प्रतियोगितामा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शनको समीक्षा गर्न सुझाव दिए ।

उनले ओलम्पिक डेलाई लिएर भने, ‘विश्व खेलकुद क्षेत्रका लागि यो महान् दिन हो । ओलम्पिकको इतिहास भनेको समग्र मानव सभ्यताको उचाइ पनि हो ।’

कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको झण्डा झण्डोत्तोलन पनि गरे । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा भण्डोत्तोलन गरे । ओलम्पियन मुकुन्द श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक खेलाडीको समूहले उपराष्ट्रपतिलाई ओलम्पिक टर्च पनि हस्तान्तरण गरेका थिए ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पर्ने र यसले शान्ति, समृद्धि, सद्भावना र विकासका लागि सहयोग गर्ने बताए । ‘कोरोना महामारीको विषम परिस्थितिमा खेलकुदले दिन चाहेको नारा सबै सुरक्षित, स्वस्थ्य र सचेत रहोस् भन्ने हो,’ उनले भने ।

कार्यक्रममा उपराष्ट्रपति पुनले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका संघ तथा ओलम्पिक डे २०२१ मा उत्कृष्ट योगदान दिने संघलाई कदरपत्र पनि प्रदान गरे । काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले १३ खेलमा स्वर्ण जितेको थियो ।

यस्तै कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाली खेलकुद विकासका लागि दीर्घकालीन योजना र लगानी आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment