Comments Add Comment

११ विधामा ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेशन शुरू

८ असार, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज (असार ८, २०७८ तदनुसार २२ जुन, २०२१) देखि शुरु भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला गरिएको छ ।

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको छ ।

गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० मा सोल्टी होटलमा विशेष कार्यक्रम मार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो ।

यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेका छन् ।

विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गरिदिन सकिनेछ ।

अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (ष्अतबधबचम।यचन) वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनुपर्नेछ ।

यस वर्ष गतवर्ष झैं विभिन्न ११ विधामा नोमिनेशन खुला गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् ।

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् ।

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । अवार्डमा गतवर्षको ह्वावे आइसिटी अवार्ड २०२० मा ४०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन १२ भन्दा बढीको जुरी समूहद्वारा ३ महिनासम्म विभिन्न चरणमा विजेताको छनौट गरिनेछ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन विधामा ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन गरिनेछ । अन्य विधाहरूमा पनि विभिन्न ४ चरणका भर्चुअल छनौट र फिल्ड भिजिट समेत सञ्चालन गरिनेछ ।

मंगलवार भर्चुअल प्रेस कन्फ्रेन्स आयोजना गर्दै आयोजकले विभिन्न ११ विधाको लागि नोमिनेशन खुल्ला गरेको हो । कन्फ्रेन्समा बोल्दै आयोजक समितिका संयोजक राजन लम्सालले हरेक वर्ष अवार्डलाई परिस्कृत गर्दै बृहत बनाउन लागि परेको बताए ।

उनले आइसिटी अवार्ड प्रविधि क्षेत्रमा सम्भावना र उत्कृष्टताको खोजी गर्ने अभियानको रुपमा अगाडी बढेको बताए । यसैगरी जुरी संयोजक शुशिल पोखरेल र प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले आइसिटी अवार्ड लाई हरेक पक्षबाट स्तरिय र विश्वसनिय बनाउन लागिपर्ने धारणा व्यक्त गरे । प्रा.डा. शुवर्ण शाक्यले नेपालमा भएका अवार्डहरुमध्ये आइसिटी अवार्ड सबैभन्दा विश्वसनिय र निष्पक्ष रहेको बताए ।

भर्चुअल कार्यक्रममा बोल्दै पुर्वमन्त्री गणेश शाहले आइसिटी क्षेत्रलाई अझ फराकिलो बनाउदै लानुपर्ने र यसको लागि अवार्डले सार्थक बनाइरहेको बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले आइसिटी अवार्डले नेपालको आइसिटी क्षेत्रलाई प्रवद्धन गरेर बताउदै उनले नीजि तथा सरकारी क्षेत्रको सहकार्यमा डिजिटल नेपालका अभियान सार्थक बनाउनुपर्ने बताए ।

कार्यक्रममा पूर्व सहसचिव विरेन्द्र मिश्र, प्रा.डा. शुवर्ण शाक्य, क्यान महासंघका प्रथम अध्यक्ष बिमल शर्मा, प्रथम पायोनियर आइसिटी अवाडए विजेता मुनी शाक्यलगायतले अवार्डको महत्वको बारेमा बिचार राखेका थिए ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment