Comments Add Comment

स्लोभाकियालाई ५ गोल गर्दै स्पेन समूह उपविजेता, स्वीडेन समूह विजेता

९ असार, काठमाडौं । अघिल्ला दुई खेलमा बराबरी खेलेको स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा युरोकप २०२० मा अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा स्लोभाकियामाथि फराकिलो जित हात पारेपछि स्पेन समूह उपविजेता बनेको हो । अर्को खेलमा पोल्याण्डलाई ३-२ ले पराजित गर्दै स्वीडेन समूह विजेता बन्यो ।

दुवै टोली अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो । स्वीडेनले ७ अंक जोड्दा स्पेनले ५ अंक जोड्यो ।

घरेलु मैदान सेभियामा भएको खेलमा स्पेनले स्लोभाकियालाई हराउँदै समूहमा पहिलो जित हात पार्‍यो । स्पेनको लागि एमेरिक लापोर्टे, पाब्लो साराबिया, फेरान टोरेस र एक/एक गोल गरे । स्लोभाकियाले दुई आत्मघाती गोल गरेको थियो ।

खेलको १२औं मिनेटमै अल्भारो मोराटाले पेनाल्टी गुमाउँदा स्पेनले अग्रता लिने मौका चुकाएको थियो । तर ३०औं मिनेटमा स्लोभाकियामा मार्टिन डुब्राभ्काले आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनायो । पहिलो हाफको इन्जुरी टाइममा लापोर्टेले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि स्पेनले ३ गोल गर्‍यो । ५६औं मिनेटमा साराबियाले गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए । यस्तै ६६औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका फेरान टोरेसले एक मिनेटपछि नै गोल गर्दै स्पेनको अग्रता मजबुत पारे ।

७१औं मिनेटमा जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले फराकिलो जित हात पारेको हो । स्पेनले अब अन्तिम १६ मा समूह डी को उपविजेता क्रोएसियासंग खेल्नेछ।

दोस्रो हारपछि स्लोभाकिया भने समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभिकयाले लगातार दुई खेलमा हार बेहोर्‍यो । स्लोभाकिया समूह चरणबाट बाहिरिएपछि समूह सी मा तेस्रो भएको युक्रेन उत्कृष्ट तेस्रो हुने चार टिममा पर्दै अन्तिम १६ मा पुगेको छ ।

उता अर्को खेलमा स्वीडेनले इन्जुरी समयमा गोल गर्दै पोल्याण्डलाई पराजित गरेको हो ।

समूहमा अपराजित राख्न स्वीडेनका लागि एमिल फोसवर्गले दुई तथा भिक्टोर क्लासेनले गोल गरे । यस्तै पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

सेन्ट पिटर्सवर्गमा भएको खेलमा फोसवर्गले खेलको दोस्रो र ५९औं मिनेटमा गोल गरे । पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले ६१औं ८४औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । तर क्लासेनले इन्जुरी टाइमा गोल गरेपछि स्वीडेनले जित हात पार्‍यो ।

दोस्रो हारपछि २ अंक जोडेको पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment