+
+
Shares

कलैया उपमहानगरपालिकाको बजेट : कृषकलाई अनुदान नै अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १३:१३

११ असार, वीरगञ्ज । बाराको कलैया उपनगरपालिकाले सातौं नगरसभामा १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६० करोड १३ लाख ७० हजार, राजश्व बाँडफाँडबाट १९ करोड १० लाख २१ हजार, संघीय सरकारबाट ८१ करोड ८८ लाख र प्रदेश सरकारबाट ४ करोड ८४ लाख ८८ हजार रुपैयाँ आउने अनुमान बजेटमा गरिएको छ ।

व्ययतर्फ २४ करोड ५५ लाख ८० हजार चालुतर्फ र ५८ करोड १९ लाख अनुमान गरिएको छ । पूँजीगततर्फ सवारी साधन खरिदका लागि १ करोड, मेसिनरी तथा औजार खरिद गर्न, फर्निचर तथा फिक्चर्स, सडकबत्ती, धारा जडान तथा मर्मत, नगरस्तरीय योजनाहरुमा खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा १ अर्ब २८ करोड ९ लाख १३ हजार ३ सय ३६ रुपैयाँ आम्दानी गरेको उपमहानगरपालिकाले बजेट ल्याउँदासम्म ५४ करोड, २७ लाख ४६ हजार ९ सय ३६ रुपैयाँ ६० पैसा खर्च भएको छ । उपमहानगरसँग ७३ करोड ८१ लाख ६६ हजार ७ सय रुपैयाँ मौज्दात छ ।

‘समृद्ध कलैया, सुखी कलैयाबासी’  र ‘कृषि र पूर्वाधार, समृद्ध कलैयाको आधार’ भन्ने मूल नाराका साथ समृद्ध कलैयाको अवधारणालाई साकार पार्ने लक्ष्य कलैयाले लिएको छ ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको पूर्वाधारलाई प्राथमिकता दिइएको छ । ‘तपाईंले तिरेको कर तपाईंकै नगरको विकासका लागि’ भन्ने उद्देश्य लिएर कर संकलन र करदाता वृद्धि कार्यक्रमलाई प्रभावकारी बनाउने, वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिने, नयाँ निर्माण तथा विस्तार गरिने सडकको चौडाइ कम्तीमा २० फिट कायम गर्ने नीति, उपभोक्ता समितिहरुको माध्यमबाट गरिने विकास निर्माणका कार्यमा लाभान्वित समुदायबाट ४ प्रतिशत श्रमदान सुनिश्चित हुनुपर्ने उल्लेख गरिएको छ ।

कृषि पेशाको सम्मान : अनुदान नै अनुदान

कलैया उपमहानगरले कृषि र पशुपालनमा आधारित कृषिको माध्यमबाट आय आर्जन एवं स्वरोजगार अवसर सिर्जनाका लागि विशेष प्राथमिताका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सम्भाव्यता पहिचान गरी प्रत्येक वडामा उखु, तरकारी, अर्गानिक तरकारी, बाख्रा, दूध पकेट जस्ता एक कृषि उपजको पकेट क्षेत्र अवधारणा अबलम्बन गर्ने लगायतका कार्यक्रम राखिएको छ ।

‘घरमै बसी कमाइन्छ नोट, पोखरी खनी डिलमा लगायौं केरा र मेवाको बोट’   नारालाई सार्थक बनाउन केरा र मेवा खेतीको थालनी, कम्तीमा ५ कठ्ठा जग्गामा केरा, मेवा, कागती लगाउने कृषकलाई प्रति कठ्ठा २ सय रुपैयाँका दरले र ५० वटाभन्दा बढी फलफूलका बोट लगाएका कृषकलाई प्रतिबोट ५० रुपैयाँ दरले २ वर्षसम्म नगद अनुदान दिन अनुदान कोषको व्यवस्था गरिएको छ ।

उन्नत जातको गाई भैंसी पालनमार्फत रोजगार एवं स्वरोजगार प्रवद्र्धन गर्न कम्तीमा ५ वा बढी उन्नत जातको दुहुनो गाई वा भैंसी पालक किसानलाई भकारो सुधारका लागि ५ हजार नगद प्रोत्साहन दिने, कृषकहरुको सूची अनलाइन प्रणालीमा व्यवस्थापन गरी स्मार्ट कृषक कार्ड वितरण गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?